आमाको चुल्ठो
यदाकदा मेरा अफन्तहरू भन्ने गर्छन्, मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अँझै थप्छन् आमाका अनुहारका छोरा र बाउका अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्विरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । अफन्तहरूका कुरमा केही सत्यता भएको आभास हुन्छ ।
