तस्बीर
मलाई सबभन्दा ‘मै’ मन पर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ । यसैले मलाई खूब प्यारो लाग्ने र सुन्दर देखिने ‘म’ यथार्थ मेरो आफ्नो मुख र रूप खूब हेरिरहेर धेरै काल बाँचिरहने इच्छा छ । धेरै जना साथीहरूले मसित धेरैचोटि सोधिसकेका छन्- ‘तिमीलाई सबभन्दा मन पर्ने के हो ? मैले सधैँ सबैलाई खालि यही जवाफ दिने गरिरहेको छु- ‘मलाई सबभन्दा ‘मै’ मनपर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ ‘ मलाई भारी गजब लाग्छ, मेरा यी जवाफ सुनेर धेरै जसो मानिस मलाई स्वार्थी र मुर्ख भन्दछन् । जल्ले जे भनू्न् मलाई के पर्वाह छ ? खाँचो छ र आफ्नो रुचिलाई बेचेर, दबाएर दुनियाँको खुशका निम्ति मरिरहूँ ?
