पसिनाको रङ
श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।