Skip to content

आफ्नै डायरी

बैदेशिक रोजगारको बहानाले

बैदेशिक रोजगारको बहानाले, लुट्नु लुटायो आज
मुट्ठीभर टाउकेको हस्ताक्षरले, सुत्नु सुतायो आज

धपायो उसले षड्यन्त्रमा, युवा शक्तिलाई छानी-छानी
भ्रष्टाचारी घुस्याहा स्वदेशमा, जुट्नु जुटायो आज

नारीलाई विदेश पठाएर, प्रतिष्ठा गिरायो जनजातिको
संस्कार र मर्यादामा बाँच्नेलाई, भुट्नु भुटायो आज

ठुलो पैसाको लालचमा, खेल्यो गरिबको भावनामा
कैयौंको प्रेमी र दम्पति, छुट्नु छुटायो आज

पहुँचको अन्तर कायमराख्न, खेल्यो उसले खेल यस्तो
बर्गीय समानताको बाटाहरु, टुट्नु टुटायो आज

पाएनन बच्चाले सद्गुण, जो पाउथ्यो आमाको काखमा
लौन भाग्य र भबिष्य त, फुट्नु फुटायो आज

अनिश्चित यात्री कमल

भिर

तिम्ले चाहेको संसार त्यो, केवल माया त हैन होला
नलागे फल फुल्नुको, औचित्य पनि छैन होला

मिलन त केवल गोरेटो हो, यात्रा नै पूर्ण कहाँ हो र
प्रेम ले खुसिनै नचुमे , प्राप्तिले मात्र के भो र
साथ त आफ्नै छाया’नि, डुबेसी घाम त्यै र’दैन होला
नलागे फल फुल्नुको , औचित्य पनि छैन होला

होलान ति सपना सुन्दर ,अरुको जस्तै तिम्रो पनि
मान्छे हो अथाह चाहनामा, पौडीन्छन अनायास जो पनि
भिरमा छु प्रिय विवस म, मैदानमा टेकेझैँ हुदैन होला
नलागे फल फुल्नुको , औचित्य पनि छैन होला
तिम्ले चाहेको संसार त्यो, केवल माया त हैन होला
नलागे फल………………………………………होला|

अलि चाडै उदाएछौ

अलि चाडै उदाएछौ, केही पर देख्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेख्दैछु म

सुर्यास्तको क्षितिज जस्तै, हामी दुईको चिनाजानी
न त दिनमै हाबी भयो, न त रातको मनोमानी
गोधुलीको सम्झना त्यो, रेखा मात्र टेक्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेखदैछु म

मन परेको मान्छेसँग, सँगै यात्रा गर्नपाए
जिन्दगीको अन्तिम घडी, तिम्रै काखमा पर्नपाए
अप्राप्य छौ तिमी साँच्चै, प्यासै-प्यासले सेक्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेख्दैछु
अलि चाडै उदाएछौ, केही पर देख्दैछु म

अनिश्चित यात्री (कमल तुम्सा लिम्बु)
कुरुले-३, धनकुटा
मलेशिया