Skip to content
C360_2015-01-21-08-02-06-656

तिम्रो साथ

सुक्यो डाली गुलाबको, अब कुन फूल फूलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
भन्नलाई त भन्छौ प्रिय, असल जिबनसाथि रोज्नू
दिन त ढल्यो अँधेरीमा, के अर्थ भो जून खोज्नु
दुख्दा अतित आँसुहरु, कस्को सामू खुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
कथा उस्तै ब्यथा उस्तै, अधुरो छ यात्रा पनि
सम्झनाको घाउहरु, बल्झिरहदा ताजा बनी
तिमी भित्रै कैदी यो मन, अन्तै कता डुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो साथ भूलाउने
<अनिश्चित यात्री>
प्रबासबाट

बैदेशिक रोजगारको बहानाले

बैदेशिक रोजगारको बहानाले, लुट्नु लुटायो आज
मुट्ठीभर टाउकेको हस्ताक्षरले, सुत्नु सुतायो आज

धपायो उसले षड्यन्त्रमा, युवा शक्तिलाई छानी-छानी
भ्रष्टाचारी घुस्याहा स्वदेशमा, जुट्नु जुटायो आज

नारीलाई विदेश पठाएर, प्रतिष्ठा गिरायो जनजातिको
संस्कार र मर्यादामा बाँच्नेलाई, भुट्नु भुटायो आज

ठुलो पैसाको लालचमा, खेल्यो गरिबको भावनामा
कैयौंको प्रेमी र दम्पति, छुट्नु छुटायो आज

पहुँचको अन्तर कायमराख्न, खेल्यो उसले खेल यस्तो
बर्गीय समानताको बाटाहरु, टुट्नु टुटायो आज

पाएनन बच्चाले सद्गुण, जो पाउथ्यो आमाको काखमा
लौन भाग्य र भबिष्य त, फुट्नु फुटायो आज

अनिश्चित यात्री कमल

भिर

तिम्ले चाहेको संसार त्यो, केवल माया त हैन होला
नलागे फल फुल्नुको, औचित्य पनि छैन होला

मिलन त केवल गोरेटो हो, यात्रा नै पूर्ण कहाँ हो र
प्रेम ले खुसिनै नचुमे , प्राप्तिले मात्र के भो र
साथ त आफ्नै छाया’नि, डुबेसी घाम त्यै र’दैन होला
नलागे फल फुल्नुको , औचित्य पनि छैन होला

होलान ति सपना सुन्दर ,अरुको जस्तै तिम्रो पनि
मान्छे हो अथाह चाहनामा, पौडीन्छन अनायास जो पनि
भिरमा छु प्रिय विवस म, मैदानमा टेकेझैँ हुदैन होला
नलागे फल फुल्नुको , औचित्य पनि छैन होला
तिम्ले चाहेको संसार त्यो, केवल माया त हैन होला
नलागे फल………………………………………होला|

रगतको सिन्दुर

जति-जति सम्झ्यो तिमीलाई, झनै बैराग्यले छुन्छ
नैराश्यता एक्लोपनको, जिउदै जलेसरि हुन्छ

सिउँदो तिम्रो रंगिदिदा, पराईको हातबाट
खै कसरी सहें हुँला, छुट्दा तिम्रो साथबाट
अँझै पनि तिम्रो याद, ताजा बनी किन रुन्छ
नैराश्यता एक्लोपनको, जिउदै जलेसरि हुन्छ

अलि चाडै उदाएछौ

अलि चाडै उदाएछौ, केही पर देख्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेख्दैछु म

सुर्यास्तको क्षितिज जस्तै, हामी दुईको चिनाजानी
न त दिनमै हाबी भयो, न त रातको मनोमानी
गोधुलीको सम्झना त्यो, रेखा मात्र टेक्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेखदैछु म

मन परेको मान्छेसँग, सँगै यात्रा गर्नपाए
जिन्दगीको अन्तिम घडी, तिम्रै काखमा पर्नपाए
अप्राप्य छौ तिमी साँच्चै, प्यासै-प्यासले सेक्दैछु म
तिम्लाई भेट्न नसक्नुको, न्यास्रोपना लेख्दैछु
अलि चाडै उदाएछौ, केही पर देख्दैछु म

अनिश्चित यात्री (कमल तुम्सा लिम्बु)
कुरुले-३, धनकुटा
मलेशिया

तर्किदियौ

आउन खोजेँ तिम्रो सामु, अन्जान बनी तर्किदियौ
सम्बोधन त बाँकी थियो, एक वचन मै झर्किदियौ

अन्जानबाटै शुरु हुन्छ, चोखो प्रेमको गाथा पनि
अछुतो त छैनौ था’छ, होला तिम्रै कथा पनि
अन्तै कतै अमृत पिलाइ, यता बिष छर्किदियौ
सम्बोधन त बाँकी थियो, एक वचन मै झर्किदियौ

हिजो आज म

हिजो आज म
फेसबुक अघाएर
घाँटीसम्म ढ्याउ काढ्छु
जम्मा चौबिस घण्टामा
मुस्किलले समय छुट्याएर
मात्र २/४ घण्टा थमाउछु निदलाई
दिनको सुरुवातसँगै
रक्स्याहाले भट्टी कुरेसरी
कुर्छु अनलाइन
हरेक दिनको एउटै सम्वाद
एउटै प्रसंग एउटै उत्तर

आऊ कि म तिमी सामु

टक्र्याई एउटा शब्द सस्तो, आऊ कि म तिमी सामु
कि छाँया त्यो तिम्रो प्रसंशाले, गाऊ कि म तिमी सामु

जुनकिरी चम्केझै अँधेरीमा, प्रसन्न मन झैँ जुनेलीमा
चुलबुल यौवनको मिठो प्रीति, लाऊ कि म तिमी सामु

सपना जस्तै छौ तिमी पनि, तिमी जस्तै हुदो हो सपना!
चोरेर रात तिम्रो निदरिमा, आऊ कि म तिमी सामु

नया वर्ष

गन्तीका एकाईहरू
वर्षको अन्तिम घडीलाई
एक चक्कर लगाएर
पल्टियो एउटा इतिहासको पाना,
नियमबद्द जीवनको वृत
घुम्यो फेरि अण्डाकार भएर,
मानव बिवेकसँग प्रतिष्पर्धी समय
हिड्यो निरन्तर आफनै गतिमा

AnishchitYatriKamal

मेरो साथी र कम्बोडियन फुच्ची

ड्युटी सकेर रूममा पुगेपछि हामी थ्याच्च सोफामा बस्यौं । अरु दिनभन्दा आज मेरो साथी अलि हसिलो मुद्रामा देखिन्थ्यो, केही हतारिए जस्तो उनको मुहारमा थोरै चमक थियो, ओठबाट मुस्कान फुस्कन धाराब अवस्थामा देखिन्थ्यो ।

“आज त अचम्मै भा’छ सोल्टी ” -मेरो साथीको भनाइ ।

म आफू पूर्वको अनि मेरो साथी पश्चिम भनौ मेरो घर धनकुटा जिल्ला अनि वहाको सूर्खेत, तैपनि हामीमा केही भिन्नता थिएन । हामी दुवैमा बैचारिक अनि भावनात्मक कुराहरू मिल्दोजुल्दो थियो ।

तिमी र म

प्रातकालको पुष्प लतिका बनेर,
म एक आकाश शित पिउँछु र
चाँदी टल्किन्छु,
यो हिमाल बिहीन देशमा
एक झोंका बयली बतास
मलाई स्पर्श गर्दै
तिम्रो आभास दिएर जान्छन् !

यसरी कसरी पलाउछ आशा

यसरी कसरी पलाउछ आशा, सपना सबै मरेपछि
सुन्दर फूल फुलाउछु भन्दा, डाली नै सुकेर झरेपछि

बाटोको काँडा पन्छाउदै जाँदा, बिचैमा पहिरो खसिदिदा
नयनमा आँशु पग्लेर झर्छ, सपनामा बादल बसिदिदा
चाहना त सबै बिलाउदै जान्छ, चोटैचोट जीवनमा परेपछि
यसरी कसरी पलाउछ आशा, सपना सबै मरेपछि

मेरो बानी

प्रकृतिले रुप फेर्दा, डाहा गर्ने बानी मेरो
शरदमा सयपत्रीको,चाहा गर्ने बानी मेरो

शिशिरमा उजाडिंदा, डाली मैले देख्दिन’रे
वसन्तको पालुवामा, हा!हा! गर्ने बानी मेरो

भिरालोमा बग्दा नदी, पाइला टेक्न डर लाग्छ
मैदानमा पुगेपछि, गाहा भर्ने बानी मेरो

एक्कईसौं शताब्दीको मान्छे ऊ

शताब्दीको बहाना पारेर ऊ
बिर्सदैछ सृष्टिलाई,
लत्याएर नियमहरू
कलियुगमा जन्मिएको
बिलाशिन्तको पछि-पछि
मुट्ठीभर धनाट्यको मंचभित्र
नृत्यांगना बनेर छमछम,