लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ
अलिखित रुपमा मान्छेका गलागलामा रहेको साधारणभन्दा भिन्न, केही बठ्याँइँले भरिएको, अलिकति कलात्मकतायुक्त कथन नै लोकसाहित्य हो र यो नै आधुनिक साहित्यको पुर्खा हो । आधुनिक साहित्यको जन्म यसैबाट भएको छ । यसैलाई विद्वानहरूले आधुनिक साहित्यको जन्मथलो मानेका छन् । लोकजीवनमा समाजभित्र गरिने मनोरञ्जन, उत्सव, चाडपर्व, मेलापात, जन्ममरण आदि अवस्थामा तत्तत्त् विषयलाई सुहाउँदा कुराहरू कथेर रचिने परम्परा आज पनि समाजमा रहेकै छ । यही पुरानो परम्पराबाट लोक साहित्यको सिर्जना भएको हो । यसैले यसलाई लोकजीवनको दर्पणका रुपमा लिइन्छ । यसले लोकजीवनको इतिहास, कला, धर्म, संस्कार, संस्कृति आदिको इतिहास बोकेको हुन्छ । नेपाली लोकसाहित्यको पनि यही विशेषता रहेको छ ।
