Skip to content

नागढुङ्गामा उभिएर (कविता-संग्रह)

आतङ्क उपस्थिति

अनुहारै तर्सेको छ नदीको
यसअघि
नदीहरू कहिल्यै
डराएर बगेका थिएनन्
पहाडहरू टुक्रुक्क बसेर
जूवामा च्याँखे थाप्नेजस्ता देखिएछन्
यसअघि
पहाडहरू कहिल्यै
जुवाडे भएका थिएनन्

फूलको गाजल

आँसुले नपखाल्ने
संसारको कुनै दुःख छैन
मिल्नुभन्दा ठूलो हित
कसैको पनि हुँदैन
जूनको शीतलताले
आजसम्म कसैलाई पनि
पोलेको था’छैन

नारायणहिटी

मलाई तराईबाट
छक्कड काटेका पूर उमेर नभएका अधबैँसे एक हल गोरु
साथमा दरो फलामे कल्टी हलो ल्याएर
भग्नावशेष भएको त्रिभूवन सदन वरिपरि
मज्जाले लुँडी झिकीझिकी हलो जोतेर
तोरी छर्न मन लागेको छ,

भगलु मुसहर

आधा मीटर कोरा कपडाको लगौँटी लगाएर
जीवनका आधा वसन्त बिताउने
भगलु मुसहर
जन्मदा उसको बाउ मालिकको बाँधा थियो,

यसैबीच
मुलुकमा छयालिस र बासठ्ठीका परिवर्तनहरू भए
तर उसको दिनचर्यामा कुनै परिवर्तन आएन
जमिनदारको चाम्रो छातीजस्तो
माटो उधिनिरह्यो – हरेक हिँउद
तर आफ्नो भविष्य वीजाङ्कुरण भएन

मान्छेका हुलहरू हुनः मान्छेका हुलहरू होइनन्

जेब्रा क्रसिङ्का दाँयाबाँया
चौडा सडकका छातीमा उभिएका
सडक वारपार गर्न आतुर
छरपष्ट छिरलिएका छिचिमिराझैँ
ढाडमा नदेखिने भारी बोकेका
टाउकामा नदेखिने बोझ उचालेका
भयमिश्रित लेप दलेर
आतङ्क घुलित सुगन्धमा घुलेर

प्रस्ताव

अगोचर दुःख सिएर मुटुले
हामीले बाली पकायौं
अगम्य यात्रा हिँडेर मनले
तिमीले फसल उठायौ
अहर्निष परिश्रम फुलाएर
उनीहरूले विधब्ध निरङ्कुशता टुक्राटुक्रा गिँडे,
बिस्कुन भए मागहरू
तिस्कुलो भेटिएन पूर्तिको
अहम्मा टकराब छ –ओम्मा छैन