Skip to content


आधा मीटर कोरा कपडाको लगौँटी लगाएर
जीवनका आधा वसन्त बिताउने
भगलु मुसहर
जन्मदा उसको बाउ मालिकको बाँधा थियो,

यसैबीच
मुलुकमा छयालिस र बासठ्ठीका परिवर्तनहरू भए
तर उसको दिनचर्यामा कुनै परिवर्तन आएन
जमिनदारको चाम्रो छातीजस्तो
माटो उधिनिरह्यो – हरेक हिँउद
तर आफ्नो भविष्य वीजाङ्कुरण भएन
उखुम घाममा
हलो जोत्यो – जोत्न सकेन आफ्नो अभाव
दर्के झरीमा भैँसी चरायो तर हराएन आफ्नो प्यास
मालिकका छोराछोरीलाई
साबुदाना र गाजरको हलुवाले सेवा गर्यो
डम्म कनिकाको चाम्रे दिन सकेन
आधा मीटर कोरा कपडाको लगौँटी लगाएर
जीवनका आधा वसन्त बिताउने
भगलु मुसहर
उसको छोरा जन्मदा ऊ अँझै मालिकको बाँधा छ,

बाजा नबजाई राजा गए
सिन्दुर नहाली समानुपातिकमा उसका मालिक सभासद् पनि भए
देशमा यतिखेर सुटुक्क समिकरण फेरिएर
तराईकै राष्ट्रपति र उपराष्ट्रपति पनि भए
तर फेरिएनन् उसका अभावका दिनचर्याहरू
ऊ अँझै अनवरत
मालिककै खेत रोप्दै छ
मालिककै धान काट्दै छ – बताउँदै छ
अब पनि समिकरण फेरिनेछन् – भविष्यमा
सरकार गठन – पुनर्गठनमा
त्यसबेला
फुसको छानो ठड्याउने
बाँसका खाँबा गाड्ने
कर्चीको टाटी बनाउँने
र आफ्नालाई आफ्नै छानोमुनि ओताउने
उसको सपना काँचै हुनेछ,

आधा मीटर कोरा कपडाको लगौँटी लगाएर
जीवनका आधा वसन्त बिताउने
भगलु मुसहर
उसको नाति जन्मदा उसको छोरा अँझै मालिकको बाँधा हुनेछ
दुःखनी – उसकी घरवाली
मालिकनीले छाडेर गएका अर्धाना सुतीसाडी लगाउँछे
मंगलु – उसको छोरो
मालिकको चरुवा
मालिकका थोत्रा ‘एरी’ भेष्टले शरीर ढाक्छ
रतिया र सबिया
मालिककै छोरीहरूका कुर्तासलवार पाउँदा दंग छन्
यतिखेर सभासद् मुद्रामा उसका मालिक
भारतीय जिप चढेर काठमाडौँ गएका छन्
यता भगलु सपरिवार फेरि बाँधा भएका छन्,

भगलु मुसहर त
प्रतिनिधि हो – भगलुहरू जस्ताको
भगलुको देशमा भगलुहरूजस्ताको भलो कहिले हुन्छ ?
यहाँ कोही संविधानसभाको सदस्य हुनुहुन्छ भने
कृपया यति वर्षपछि योयो हुन्छ भनेर बताइदिन सक्नुहुन्छ ।

पेशल आचार्य
काठमाडौँ
२०६५–०४–१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *