स्नेह साय्मि
रुपान्तरण
सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाईं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।” जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर मुस्कानसहित प्रस्ताव राख्नुभयो। जीवन सर कुनैबेला हाम्रा राजनीतिक नेता पनि हुनुहुन्थ्यो। जीवन सर हामीमध्ये कतिका स्कुलका गुरु पनि हुनुहुन्थ्यो। उहाँको प्रभावकारी प्रवचनलाई नकार्न र तर्क गर्ने हामीसँग हिम्मत र खुबी दुवै थिएन, हामीले जीवन सरको प्रस्ताव पारित गर्यौँ।
गन्तव्य
देशको विभिन्न क्षेत्रमा पत्रकारहरूको न्यूनतम पारिश्रमिकको व्यवस्थाबारे छलफल गर्न चार टोली बन्यो । जानुपर्ने फागुनमै थियो । कहिले कसको, कहिले कसको नमिलेपछि टोली सदस्यहरू र भ्रमण तालिका पनि परिवर्तन हुँदैगयो । मध्यपश्चिमको जिम्मा मेरो भागमा पर्यो । जे होस्, जुर्यो चैत २६ गते, २०६५, बुधबारको दिन । बुधबार यसकारण पर्यो कि काठमाडौँ-सुर्खेत उडान रहेछ नेपाल एअरलाइन्सको हप्ताको एकपटक अर्थात् बुधबार ।
