देशको विभिन्न क्षेत्रमा पत्रकारहरूको न्यूनतम पारिश्रमिकको व्यवस्थाबारे छलफल गर्न चार टोली बन्यो । जानुपर्ने फागुनमै थियो । कहिले कसको, कहिले कसको नमिलेपछि टोली सदस्यहरू र भ्रमण तालिका पनि परिवर्तन हुँदैगयो । मध्यपश्चिमको जिम्मा मेरो भागमा पर्यो । जे होस्, जुर्यो चैत २६ गते, २०६५, बुधबारको दिन । बुधबार यसकारण पर्यो कि काठमाडौँ-सुर्खेत उडान रहेछ नेपाल एअरलाइन्सको हप्ताको एकपटक अर्थात् बुधबार । मध्यपश्चिमका नाममा जानुपर्ने सहर थिए- नेपालगञ्ज, सुर्खेत र दाङ । काठमाडौँबाट नेपालगञ्ज हवाइजहाज चढेर बाँकी सडक यात्रा पनि हुनसक्थ्यो । नेपाल एअरलाइन्सको काठमाडौँ-सुर्खेत टिकट बुक गर्नुभएछ साँघु साप्ताहिकका सम्पादक-प्रकाशक गोपाल बुढाथोकीजीले । टोलीमा थियौँ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सुरेश आचार्य सदस्यद्वय म र गोपालजी अनि शाखा अधिकृत शालिग्राम खतिवडा ।
सुरेशजीको एसएमएस आयो १० बजे फ्लाइट छ, सीधै एअरपोर्ट आइपुग्नुहोला । फेरि अर्को एसएमएस आयो फ्लाइट डिले भयो १२ बजे सूचना विभाग पुगौँ अनि सँगै विमानस्थल पुगौँला । नेपाल एअरलाइन्सको उडानले त्यति विश्वास अझै जित्न सकेको छैन । खै उड्ने हो कि नउड्ने हो भन्दै पुगियो एअरपोर्ट र उड्ने भो २ः४५ तिर । विमानस्थलमा काम थिएन, घरि चिया खायो, घरि पानी- अनि पस्यो शौचालय । त्यहाँ पुगेपछि थाहा भयो हामीले चढ्ने जहाज ट्वीनअटर रहेछ । मलाइ लाग्योे, धेरै समयपछि ट्वीनअटर चढिँदैछ ।
ट्वीनअटर विमानसँगको मेरो आफ्नै अनुभव छ । धेरै वर्षअघि दुईघण्टे काठमाडौँ-धनगढी यात्रा र काठमाडौँ-वीरगञ्ज, भरतपुर जाँदाको । अहिले विमान कम्पनीहरूले नयाँ मोडेलका साना हवाइजहाज ल्याएपछि उडान निकै सजिलो भएको छ । नत्र मेरो समस्या हुन्थ्यो कान । १५ मिनेटकै उडानमा पनि कान फुट्लाजस्तो हुने । यो कुरो साथीहरूलाई बताएपछि सुरेशजीले भने- चकलेट धेरै खानुपर्छ । सो कुरा मलाई पनि थाहा थियो । जति चकलेट खाए पनि कान फुट्लाजस्तो गरी दुख्थ्यो । जे होस्, नेपाल एअरलाइन्सको ट्वीनअटर चढ्ने भइयो । नेपाल एअरलाइन्सकै एकजना कर्मचारीलाई मैले सोधेँ कति पुरानो हो यो ट्वीनअटर ?
“पुरानो त पुरानै हो तर यसमा भर्ने उडान आफैँ अझै सुरक्षित हुन्छ । हामी नियमित जाँच गरेर मात्र उडान भर्छौं । चिन्ता नगर्नोस् ।”
तर नेपाल एअरलाइन्सका कर्मचारीको आश्वासनको के भर गर्थें र ? जे भए पनि मैले सबै किसिमको सङ्कट व्यहोर्ने मनस्थिति तयार पारेँ । सुरेशजीको सल्लाहमा पाँच/सात वटा चकलेट खल्तीमा हालेँ । हामी तीनै जना एकएक वटा सिटमा छुट्टै बस्यौँ । उड्यो ट्वीनअटर कानै खाने आवाज निकालेर र आफ्नो शरीर पूरै थर्काएर । अब तल हेर्ने काम न हो । सुरेशजीले मेरो घर देखाउनुभयो । अँ मैले पनि देखेँ । थानकोट नाघ्दै छोड्यो काठमाडौँ । यो उडानमा माथिबाट कहाँ पुगियो थाहा हुन गाह्रो भो । अन्दाज गरियो केवलपुर, गोरखा, पाल्पाको छेउछाउ अनि त थाहा हुन पनि छोड्यो ।
“कति समयको उडान हो यो ?” मैले एक अनुभवी यात्रुलाई सोधेँ ।
“चौरजहारीसम्म १ घण्टा १५ मिनेट” ।
“कहाँ चौरजहारी हामी सुर्खेत जान पो हिँडेका त ।”
“पहिले चौरजहारी रोक्छ । अनि चौरजहारीबाट सुर्खेत त्यस्तै १५ मिनेट ।”
कहाँ पर्छ चौरजहारी ?
“रुकुम”
वाह! त्यसो भए रुकुम पनि टेक्ने भइयो । वान मोर एचिभमेन्ट । ए एअरहोस्टेस बहिनी! कतिबेर रोकिन्छ चौरजहारी ?
“त्यस्तै १० मिनेट ।”
“आधा घण्टा जति रोक्नुस् न है ?”
“क्याप्टेन सरलाई भन्नुस्” ।
ड्राइभमा बसेको क्याप्टेनलाई के भन्नु, यस्तै के कुरा गरिरहेका थियौँ । ट्वीनअटरले आफ्नो गुण देखाइहाल्यो । एकैपटक दम हालेको पुतलीजस्तै हृवात्तै माथि गयो । सुरेशजी र मैले हाँसेर रमाइलो गर्यौँ । गोपालजी डरले अनुहार अमिलो पारेर बसिरहनुुभएको थियोे ।
माथि जहाजबाट हेर्दा कतै घना जङ्गल, अधिकांश पातलो जङ्गल, पहाडका थुम्का, खासै उब्जनी नहुने पाखाबारी तर मेहनतले खनजोत गरिएका । थुम्का र भीरका घरहरू । ओहो! जता हेर्यो उतै भीर ।
गोपालजी नजिक हुनुहुन्थ्यो तर कुरा गर्ने मुडमा हुनुहुन्नथ्यो । सुरेशजीलाई भनेँ- यो मुलुक बनाउने भए त सडक, सडक अनि सडकको जरुरी रहेछ । अरूभन्दा डोजर, डोजर, अनि डोजर पहिलो आवश्यकता रहेछ । एक वर्षमा अरू केही नगरिकन डोजर जोतिरहने पो हो कि केही हजार डोजर किनेर । प्राकृतिक सम्पदा छ, मानिसहरू छन् तर मात्र बाटो नभएका कारणले किन विकट बनाउने ?
काठमाडौँका जग्गा व्यापारी वा साहूहरूले काठमाडौँमा यस्ता ढिस्को देखेका भए रिसोर्ट, होटल, कलेज, अस्पताल आदिको सम्भावना देखाइदेखाइ ८ फिटे बाटो राखेर काटकुट पारेर बेचिसक्थे ।
एक घण्टा नाघिसक्यो तर जहाज रोक्न सकिनेखालको ठाउँ नै छैन । कहाँ रोक्दो हो भनेर कौतुहल भइरहेथ्यो । जहाज कहिले स्वात्तै माथि लान्छ, कहिले स्वात्तै तल । आधाभन्दा बढी मानिसको अनुहार मलिनो भइसक्यो । खतिवडाजी र गोपालजी त हेर्न लायकका भइसके । सुरेशजी र म चाहिँ कतै ठोक्किने हो कि क्या हो ? भन्दै जिस्किँदै थियौँ, जुन कुरा अन्य यात्रुहरूका लागि सहृय र पाच्य थिएनन् । गोपालजी त रिसाइसकेका थिए । हेर्दाहेर्दै एउटा खाली बारीको पाटा हो कि चउर आइपुग्यो र जहाज बिस्तारै बिस्तारै तल र्झन थाल्यो । टाढाबाट हेर्दा बारीको पाटोजस्तो लाग्यो । कसरी रोक्ने होला यो बारीको पाटामा जहाज ?
नजिक आएपछि त ठूलै चौर पो रहेछ । जहाज रोकियो चौरजहारीमा । चौरजहारी रुकुममा पर्दोरहेछ तर सँगै देखिने पहाड सल्यान रहेछ भने उता भेरीपारिको ढिस्को जाँजरकोट ।
चौरजहारी पुग्नासाथ चाँडै ओर्लेर कुदेँ म । काठमाडौँ विमानस्थलमा खाएको पानी कहिले फालौँ भइसकेको थियो । एउटा गन्हाउने चुकुल नभएको शौचालय फेला पर्यो । यसो ढप्काएर मूत्र त्यागमा लागेथेँ, सुरेशजीको आवाज आयो- “चाँडै सिध्याउँ न सर ।” मेरो चाँडै सकिने स्थिति थिएन र भनेँ- चुकुल राखेको छैन, भित्र आउनुस् सँगै फेरौँ तर उहाँ आउनुभएन र पछि मलाई गाली गर्दै पिसाब फेर्न थाल्नुभयो । त्यतिन्जेल गोपालजी लाइनमा आइपुगिसकेका थिए ।
भोक लागेको अनुभव भयो । खानेकुरा थिएन केही । पसल टाढा छ कि भन्ने लाग्यो । गएँ एअरहोस्टेस बहिनीकहाँ । एक पुरिया ग्लुकोज बिस्कुट र पानी दिइन् । त्यही बाँडेर खाँदा पनि रमाइलो भयो । १० मिनेट मात्रै रोक्ने भनेको जहाज त उडाउने सुरसारै छैन । पाइलटलाई सोध्दा सुर्खेत नेपालगञ्जमा हुरी बतास चलेको छ त्यसैले तुरुन्तै लैजान नसकिने बताए ।
प्लेन हुरीले उडाउला भनेर सुरक्षाकर्मीहरूले एउटा ढलान गरेको गोलो ढुङ्गा गुडाउँदै ल्याए र भैंसी बाँधेझैँ पखेटा बाँधे, ओत हाले ।
तत्काल नउड्ने भएपछि हामीले विमानस्थलको प्रतीक्षालय हुँदै बाहिर निस्कने प्रयत्न गर्यौँ । टावर र सामान जोख्ने मेसिन जलेको खण्डहर भइसकेको थियो । कुनै बेला माओवादीले बम पड्काएका रहेछन् । प्रतिक्षालय गाउँको चिया पसलजस्तै रहेछ ।
अलि पर विद्यार्थीहरू भलिबल खेलिरहेका थिए । त्योभन्दा पर बजार र विद्यालय देखिन्थ्यो, उत्सुक भएँ । के हो यो क्षेत्रको अर्थतन्त्र, के खाएर, के गरेर बाँच्छ रोल्पा, रुकुम, सल्यान, जाँजरकोट ?
उब्जनी छैन, मान्छेहरू छैनन् । अलि सम्पन्न मान्छेहरू सुर्खेततिर बसाइँ सर्दैछन् । युवाहरू काठमाडौँ, भारतीय सहरहरू वा तेस्रो मुलुकको वैदेशिक रोजगारमा ।
केले आकर्षण गर्छ मानिसलाई यो भेगतिर ?ू
अर्को मैले खोजेको सूचना थियो-
के विशेषता छ यो भेगको, खानामा, संस्कृतिमा उत्पादनमा । कमसेकम तत्काल यहाँको खानेकुरा के पाइन्छ लोकल चिया पसलमा । म र सुरेशजी गयौँ पसलतिर, यहाँको लोकल केही छैन । बुटवलमा बनेको बिस्कुट दुई पुरिया किन्यौँ । र्फकंदा पाइलटहरू फ्रुटी खान खोजिरहेका थिए । जसमा उत्पादक र बनाएको मिति दुवै उल्लेख थिएन । सुरेशजीले खबरदारी गरे- पाइलटहरूले खाएनन् ।
कसैले मोही र मकै ल्याए । वाह! यो पो मज्जा!
जहाज नउड्ने सम्भावना बढ्यो । यहाँ कहाँ सुत्नुहुन्छ तपाइँहरू ?
एअरहोस्टेस बहिनीले भनिन्- एअरलाइन्सले एउटा घर लिइराखेको छ ।
”हाम्रो लागि एअरलाइन्सले व्यवस्था गर्छ त ?”
“थाहा छैन ।”
मैले मनमनै जहाज नउडोस् भन्ने चाहेँ । हाम्रा लागि आज सुर्खेत पुग्नु र भोलि बिहान पुग्नुमा कुनै अन्तर थिएन । कमसेकम कतै एउटा स्कुलमा भए पनि एक रात यतै बिताउन रमाइलै हुन्थ्यो ।
आज यतै बस्ने भो जहाज- गोपालजीलाई जिस्क्याएँ ।
“अब उडुस र उपियाँसँग सुत्नुपर्ने भो ।”
“यो पनि एउटा तपाइँका लागि तौल घटाउने उपाय हो ।”
उनी डराउँदै थिए, सुत्नुपर्ला भनेर ।
करिब दुई घण्टाको विश्रामपछि खबर आयो । खुल्यो सुर्खेत विमानस्थल खुल्यो ।
जहाज उड्यो । जहाजबाट तल हेरेँ । भेरीको तीरैतीर, कतै कच्ची, कतै पिच बाटो, कतै जङ्गल, कतै स-साना मैदान, कतै सानो उपत्यका, खेती राम्रो छ ।
आहा! यो कुनै प्लानरको हातमा परे कति सुन्दर हुन्थ्यो ।
मन थाम्न नसकेर सुरेशजीलाई भनिहालेँ- काठमाडौँको चारआनासँग यहाँको ४ रोपनी साट्ने स्कीम बनाए कस्तो होला ?
उहाँ हाँस्नुभयो ।
कति सुन्दर, कति राम्रो ।
भन्दाभन्दै सुर्खेत विमानस्थल आइपुग्यो, वाह! क्या राम्रो उपत्यका, क्या राम्रो विमानस्थल । ओर्लेर एकपटक फोक्सोभरि सास फेरो, प्रदूषणरहित अक्सिजन तान्न ।
त्यहाँ स्थानीय पत्रकार हामीलाई गाडी लिएर लिन आएका रहेछन् । गाडी रहेछ, सि.डि.ओ.को । सरकारी नम्बरको मलाई असजिलो भयो तर सम्झाएँ आफैँले- हामी पनि त सरकारी काममै हो नि ।
एकैछिनमा हामी पुग्यौँ सुर्खेतबजार ।
बजार पुगेपछि भने म खुसी भइनँ । सुर्खेतले सिक्न नहुने कुरा काठमाडौँसँग सिकिसकेको रहेछ । गन्हाउने ढल, कति दिनदेखि सफा नगरिएको ढल । ढलभरि प्लास्टिकहरू छन् । अव्यवस्थित घरहरू । फोहोर बाटो, सवारीको लापरबाहीपन । ओहो! बेलैमा रोकिएन भने त यो काठमाडौँजस्तै दुर्गन्धित हुनेछ । कहिल्यै व्यवस्थित गर्न नसकिने गरी अव्यवस्थित हुनेछ । होटलहरू सबै हाउसफुल । हाम्रा लागि दुईवटा कोठा खोज्न सि.डि.ओ.को गाडी लिएर आउने पत्रकारलाई नै गाह्रो भो । सुर्खेतमा सधैँ यस्तै हो । एन.जी.ओ., आई.एन.जी.ओ., यु.एन. आदिका कार्यशाला, गोष्ठी, तालिम चलिरहन्छ । छिमेकी जिल्लाका आइरहन्छन् । होटल त जहिले पनि प्याक । जुन होटल सबभन्दा राम्रो भनियो, त्यो होटेलको अव्यवस्थित कोठा देखेर लाग्यो यहाँ होटल जस्तो सेवा दिने होटलको सख्त खाँचो छ ।
एकैछिन आराम गरेँ र सोचेँ के रुकुम, रोल्पा, जाँजरकोट, सल्यानहरू जहिले पनि विकट नै भइरहन्छन् ? के यहाँका युवाहरू बाहिरिनु नै पर्ने हुन्छ ? के यो ठाउँमा कुनै आर्थिक सम्भावना छैन ? जुन सरकार आए पनि यो ठाउँबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू प्रधानमन्त्रीलगायत उच्च पदमा पुगेपछि फर्केर हेर्नै नपर्ने ? बस्नै नपर्ने ? यसरी पनि राजनीति चल्ने नै रहेछ है! यदि यो भेगको आर्थिक रूपान्तरण गर्ने जिम्मा मैले पाए के गर्थें हुँला या काठमाडौँ भाग्थेँ हुँला । मैले मलाई नै सोधेँ । जिम्मा पाए त म साँच्चै परिवर्तन गरेर देखाइदिनेछु ।
ए भाइ सुरेश कार्की त यहीँ पो छ रे, एकपटक भेटौँ न तर उसको फोन मसँग छैन । भाइ मोहन कार्कीलाई फोन गरेर पत्ता लगाएँ । फोन गरेँ- सुरेश लिन आइहाल्यो ।
नेपाली सेनाको कर्णेल, गार्ड र गाडी लिएर आएछ । गाउँभरि सेनामा काम गर्ने भए तापनि सङ्गत बाक्लो थिएन । सुरेशले घुमायो बुलबुले ताल र चौर । त्यसपछि खाना खान लग्यो । सुरेशले उसको अफिसर्स मेसमा ।
अलि हाइटमा आठ बजेतिर झिलीमिली सुर्खेत हेर्दै खानपिन गरियो, रमाइलै भो ।
भोलिपल्ट काँक्रो बिहार घुम्ने प्रस्ताव ल्याउनु भो सुरेशजीले- मर्निङवाक् । म हिँड्न रुचाउँछु । त्यसमा पनि बिहान । मैले हतारहतार समर्थन गरेँ ।
त्यहाँको होटेलमा दुई जना सुत्ने दुइटा बेड, अट्याच बाथरुम, सिरक-डस्ना, लामखुट्टे भगाउने धुप सबै पाइने रहेछ तर पाइने रहेछ एउटा कोठामा एउटा रुमाल । अर्को एउटा रुमाल पाउँ भनियो । अर्को थप रुमाल दिन चाहिँ साह्रै गार्हो मान्ने रहेछन् । दुई जनाले एउटै रुमाल प्रयोग गरिदिएहुन्थ्यो भन्ठान्दारहेछन् । दुई वटा बेड भएको एउटा कोठाको एक रातको रु. ७०० तिरेर पाइने एउटा मात्र रुमालको चलन देख्दा अनौठो र दुःख पनि लाग्यो । यी होटेल मालिकहरूलाई एउटा रिफ्रेशमेन्ट तालिम चाहिन्छ, कुनै एनजिओको चासोको विषय बन्छ कि ? भोलिपल्ट ५ बजे नुहाइधुवाइ सकेर काँक्रो बिहार जान तयार भइसकेका थियौँ । होटलवाला मेनगेट खोल्न साँचो खोज्दै थिए । हिँडियो सुरेशजीको नेतृत्वमा काँक्रो विहार अलि अँध्यारोमै ।
