तृष्णा राज्यश्री कुँवर
बन्धक
एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल गरेस्, विदेशमा एउटा सानो कागज छुट्यो भने पनि खुब दुःख पाइन्छ” म छोट्वालाई बारम्बार एउटै कुरा सम्झाइरहन्छु । “दलालीले धोखा नदिए हुन्थ्यो । कागजपत्र सबै उसैको जिम्मा लगाइयो, अब के हुने हो ? उता गएर पनि भने जस्तो हुने हो कि नाइँ ।” विमानस्थल नजिकै पुगेपछि छोट्वा झन्झन् आत्तिदैछ ।
