Skip to content

शिव सस्मित

ShivaSasmit

पदचिन्ता

बरु एचआइभी एड्सले छोड्ला, मान्छेलाई पदचिन्ताले कहिल्यै छाडेन । यो रोग यतिबेला झन् महामारीकै रुपमा फैलिएको छ । ‘पदचिन्ता’ का बारेमा डा.पदप्रसादको तर्क यस्तो छ, “हेर्नुस्, यो रोग लाग्यो भने मान्छेको भोक, निद सब हराम गर्छ । यो रोगले चाकरीलाई प्रश्रय दिन्छ । मान्छे कुनै पदमा पुग्यो भने मात्र यो रोग केही बिसेक हुन्छ । पूर्ण रुपमा निर्मूल पार्न यसको कुनै ओखती छैन ।”

कुरो ठिकै पनि लाग्यो मलाई । नलाग्ने पनि कुरै थिएन । किनकि पदचिन्ताले त्यत्रो ‘डाक्टरी’ पाएका महोदयले भनेका कुरा म नाथेले कसरी नपत्याउनु । एक त उनी आफै पदका भुक्तभोगी थिए । आज सबैले हाम्रा पदभोगी नेताहरूलाई मात्र पदचिन्ताले ग्रस्त ठान्छन् तर यसो आफ्नो मुटुकलेजो छाम्नुस् त महाशयहरू ! सानाठूला हरेक पदहरूमा तपाईंहरूको कति हानथाप हुन्छ । तर यसो भनेर हाम्रा पदलोलुप नेताहरू पदचिन्ताको शिखरमै पुगेका छैनन् भनेर म भन्दिन । जे होस् साना वा ठूला, दह्रा या लुला सबै ‘पादबहादुर’हरू पदचिन्ताले ग्रसित छन् ।

‘पद’ यस्तो चिज हो, जसले मान्छेलाई रावणको रवाफमा परिणत गर्दछ, ‘अखलबाङ्गे जवाफ’मा परिणत गर्छ । मान्छेले मान्छेलाई मान्छे नगन्नु यसको प्रमुख विशेषता हो । यसको अर्थ ईश्वरीय रुप धारण गरेको सम्झनु र अरुलाई भुसुनाबराबर नगन्नु हो । कुनै पनि काममा हालीमुहाली गर्न पाउनु यसको आकर्षण हो । पदभार ग्रहण गरेका व्यक्तिहरूको बुद्धि टाउकाबाट सीधै तल गुद्वार हुँदै पौतालामा गएर जमेको हुन्छ । त्यसैले त भनिएको होला, भुईंमा तिनीहरूको खुट्टै छैन ।

मै पाजी

कसैको आसनमा घुसारिएन औलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्युहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा
सामन्तीसँग जोडिएन नाता

मै पाजी

कसैको आसनमा घुसारिएन औलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्युहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा

संसारै भुल्न सकिने

संसारै भुल्न सकिने हाँसै मीठो निर्मोहीको
ज्युहजुर मिसिएको भाषै मीठो निर्मोहीको

चाहनाका नजरहरु फ्याँक्दाखेरी मेरा सामु
आफै परुँपरुँ लाग्ने पासै मीठो निर्मोहीको