Skip to content
ShivaSasmit


बरु एचआइभी एड्सले छोड्ला, मान्छेलाई पदचिन्ताले कहिल्यै छाडेन । यो रोग यतिबेला झन् महामारीकै रुपमा फैलिएको छ । ‘पदचिन्ता’ का बारेमा डा.पदप्रसादको तर्क यस्तो छ, “हेर्नुस्, यो रोग लाग्यो भने मान्छेको भोक, निद सब हराम गर्छ । यो रोगले चाकरीलाई प्रश्रय दिन्छ । मान्छे कुनै पदमा पुग्यो भने मात्र यो रोग केही बिसेक हुन्छ । पूर्ण रुपमा निर्मूल पार्न यसको कुनै ओखती छैन ।”

कुरो ठिकै पनि लाग्यो मलाई । नलाग्ने पनि कुरै थिएन । किनकि पदचिन्ताले त्यत्रो ‘डाक्टरी’ पाएका महोदयले भनेका कुरा म नाथेले कसरी नपत्याउनु । एक त उनी आफै पदका भुक्तभोगी थिए । आज सबैले हाम्रा पदभोगी नेताहरूलाई मात्र पदचिन्ताले ग्रस्त ठान्छन् तर यसो आफ्नो मुटुकलेजो छाम्नुस् त महाशयहरू ! सानाठूला हरेक पदहरूमा तपाईंहरूको कति हानथाप हुन्छ । तर यसो भनेर हाम्रा पदलोलुप नेताहरू पदचिन्ताको शिखरमै पुगेका छैनन् भनेर म भन्दिन । जे होस् साना वा ठूला, दह्रा या लुला सबै ‘पादबहादुर’हरू पदचिन्ताले ग्रसित छन् ।

‘पद’ यस्तो चिज हो, जसले मान्छेलाई रावणको रवाफमा परिणत गर्दछ, ‘अखलबाङ्गे जवाफ’मा परिणत गर्छ । मान्छेले मान्छेलाई मान्छे नगन्नु यसको प्रमुख विशेषता हो । यसको अर्थ ईश्वरीय रुप धारण गरेको सम्झनु र अरुलाई भुसुनाबराबर नगन्नु हो । कुनै पनि काममा हालीमुहाली गर्न पाउनु यसको आकर्षण हो । पदभार ग्रहण गरेका व्यक्तिहरूको बुद्धि टाउकाबाट सीधै तल गुद्वार हुँदै पौतालामा गएर जमेको हुन्छ । त्यसैले त भनिएको होला, भुईंमा तिनीहरूको खुट्टै छैन ।

पदमा पुग्दा कामको कुनै सिन्को नभाँच्ने एकजना पदभोगीको कथन झन् रोचक र घोचक पनि छ । च्याप्प म च्याखुराको पाखुरामा समातेर कुनातिर तान्दै उनले कुरा निचोर्न थाले, “हेर्नुस्, पद नपाए त कामै गर्न गाह्रो हुन्छ । त्यो काम मैले मात्र गर्न सक्थें तर के गर्नु नेतृत्व अर्कैले लियो । अब त्यसलाई पो सजिलो गरी काम गर्न म कहाँ दिन्छु र ?” सोचें उनलाई पनि पदचिन्ताले निकै गलाएछ । हुन त उनको पदचिन्ताले काममा मात्र विश्वास गर्ने म नाथेलाई के पो नाप्न सक्थ्यो र ?

अहिले पदको खेती निकै फस्टाएको छ । यसले अफिम र गाँजाखेतीको रुप धारण गरेको छ । पदचिन्ता यसैको उदाहरण हो । काम केही गर्नुपरेन, टाउकाभरि पदका पोकाहरू झुण्ड्यायो हिँड्यो । अर्काले ठिक्क पारिदिएको कागजको निश्चित घेरामा हस्ताक्षर केर्यो वस् । अनि बाहिर आएर यो काम त मैले गरिदिएको पो हो भनेर डङ्का पिट्दै हिँड्यो । उल्टा दिमाग भएका मान्छेहरूको जमातले उसकै कुरामा सही थाप्दाजस्तो आनन्द उसलाई कहिल्यै आउँदैन । त्यसो त पाएको पद गुमाउनु भनेको प्राण खुस्किनु सरह हो, लगाएको लगौटी फुस्किनुसरह हो । महलबाट झिँगटीमा खस्नुजस्तै हो, नरकजीवनमा फस्नुजस्तै हो उनीहरूलाई । त्यसैले त स्वास्नीपतिको पदझैं जिन्दगीभर टाँसिरहन खोज्छन् उनीहरू ।

पदचिन्ताले सताएका मान्छेहरूका सबभन्दा ठूला शत्रु भनका क्षमतावान् र योग्य व्यक्तिहरू नै हुन् । मानौं ती उनीहरूका लागि भूतहरू नै हुन् । योग्यहरूले खाइआएको पदलाई विस्थापन गरिदिन सक्ने भएकाले ती भूतहरूलाई आफ्नो बाटाबाट च्युत गर्न उनीहरू अनेक तिगडमहरू रचिरहेका हुन्छन् । ती भूतहरू उनीहरूका जीवनका काँडाहरू हुन्, क्वाप्प खान पाइने समतल मैदानका डाँडाहरू हुन् । त्यसैले त उनीहरू धाकधम्कीको धामीझाँक्री लगाएर भए पनि ती भूत भनाउँदाहरूलाई धूपधजाले मन्साउँछन् । सकेसम्म त प्रयोगका भाँडा बनाउन चाहन्छन् नसके तिनलाई कामै नलाग्ने ठाँडा सम्झिएर पन्छाउँछन् ।

लम्बोधर पदचिन्ताको रोगी हो । ऊ निकै चल्तापूर्जा मान्छे, बेढङ्गको । हर्ताकर्ता मान्छे, रुप न रङ्गको । उसलाई जुनसुकै क्षेत्रमा पनि पद चाहिन्छ । दिए भित्र भाँडमैलो मच्चाउँछ, नदिए बाहिर रडाको चर्काउँछ । भित्र पसेपछि, गुलियो पदमा बसेपछि हस्ताक्षरको केन्द्रमा ग्रहहरूले सूर्यलाई परिक्रमा गरेजस्तै घुमिरहन्छ । बरु भैंसीमा लागेको किर्नाले थात छोड्ला, अहँ ऊ रुखमा लिसो टाँसिएझैं टाँसिन्छ । अरुलाई कज्याउँछ, भुँडी आफ्नै बजाउँछ । क्या गजब छ । औंला ठड्याउनेहरूलाई ‘मह काढ्नेले हात चाट्छ’ भन्दै आफ्नै महल ठड्याइदिन्छ । त्यतिमात्रै कहाँ हो र ? ‘हाइटहुइट’ उसको तन्त्रमन्त्र हो । यसैले दुनियाँलाई चाटुकारले जस्तै नचाउँछ । मुटुमा कमानी नभएकाहरू नाच्न थाल्छन्, उसकै शैलीमा । बाँच्न थाल्छन् उसकै थैलीमा । हरे, कस्तो जमाना आयो । कामभन्दा धेरै कुरा, मुखमा रामराम, बगलीमा छुरा ।

चाहे मन्त्रीको होस्, चाहे सभासद्को । सभापतिको होस् कि स्वास्नीपतिको । अध्यक्षको होस् या अदक्षको, हाकीमको होस् या कर्मचारीको पद हात पार्न मान्छेहरू तँछाडमछाड गरिरहेका छन् । रुपैयाँ उफार्ने खेल खेलिरहेजस्तो । महिला अधिकारकर्मीकी अध्यक्ष पद सह्मालेकी अर्धाङ्गिनीले अचेल घरको काम चट्टै छाडेकी छे । उसको पाउमा दाम राखेर श्रीमान्ले ढोग गर्नुपर्ने भएको छ । महिलाअधिकार संरक्षण मन्चको सचिव पद सह्मालेको बाउ जुँगामा ताउ लगाउँदै महिलाहरूमाथि शोषण गरिरहेको छ । मानवअधिकार संस्थाको कोषाध्यक्ष मानवअधिकारका लागि भन्दै जबरजस्ती चन्दा असुल्दै हिँडिरहेछ । कोषाध्यक्षजस्तो रसिलो पदका लागि कैयौंसँग लडेर आएको हो ऊ, किन छोड्थ्यो ? रेडक्रसको सभापति पदमा ठूलै राजनीति घुस्छ रगत दान अरुलाई माग्छ, अलिकति आफैले चुस्छ । शान्तिसमाजभित्रको अशान्ति देख्दा ठूलै क्रान्तिको आवश्यकता महसुस गर्नुपर्ने हुन्छ । यी त केही दृष्टान्त मात्र हुन् ।

जब मानिसमा पदचिन्ताले आक्रमण गर्छ, ऊ एक ठाउँमा बस्दैन । कहाँ कुन पद खाली छ, पदपूर्ति समितिको खोजीमा रातदिन लागिरहन्छ । कसको कोठी चाहार्नुपर्ने हो चाहार्छ । कसको भजन गाउनुपर्ने हो गाउँछ । कसलाई चिल्लो घस्नुपर्ने हो घस्छ । उसमा भएको खुबी नै त्यही भएपछि अरु के गर्न सक्थ्यो र बिचराले ? चाहेको पद हत्याउन उसले सबकुरा लत्याउन सक्छ । सत्यलाई झुट बनाएर भट्याउन सक्छ । यसरी पद पाएपछि उसको रवाफ यमराजको भन्दा बढ्ता हुन्छ । पदीय जिम्मेवारी के हो चटक्कै बिर्सन्छ । पदको रसमा चुर्लुम्मै डुब्छ । यस्ता मान्छेहरू नेपाली समाजका विभिन्न पद र ओहोदामा रहेकाले नै नेपाल भन्ने देशको हालत लथालिङ्ग भइसकेको डा. पदप्रसादको कथन छ ।

यहाँ एउटा अनौठो खाले पद पनि रहेको छ । हुन त सामान्य लाग्ला तर पनि खोज्दा नपाइने, पाइएमा खोज्न मन नलाग्ने त्यो पदलाई अनौठोकै मान्नुपर्छ । कहिल्यै छोड्नु पनि नपर्ने कसैलाई हात जोड्नु पनि नपर्ने त्यो सभापतिको पदभन्दा पनि गजबको पद स्वास्नीपतिको पद हो । अपवाद नभए जिन्दगीभरिलाई राजिनाम गरी ल्याएको । यो पद धारण गरेपछि थर्काउन पनि पाइने, घुर्क्याउन पनि पाइने । कहिलेकाहिँ डाडुपन्युको स्वाद पनि चाख्न पाइने । बेलुकीपख भट्टीभित्रबाट तोर्पिएर नानाभाती कुरा राख्न पनि पाइने । अरु पदमा बसेकाहरूले आफू रहेको संस्थाको सिरिखुरीमाथि आँखा लगाउलान् । राजनीतिक पद धारण गरेकाले आफ्नो पाटीलाई पाटीमा पुर्याउलान्, सामाजिक पद ओगटेकाले समाजलाई लथालिङ्ग पार्लान्, साँस्कृतिक पद ओगटेकाले संस्कृतिमाथि गिद्देदृष्टि लगाउलान्, यसैगरी सार्वजनिक पद धारण गरेका ती नाथेहरूले राष्ट्रलाई अधोगतितिर लालान् तर के भो ? स्वास्नीपतिपद धारण गरेपछि उसको जिन्दगीलाई नै लथालिङ्ग पार्न पाइन्छ । हुन त सकेको उसले पनि गर्ली तर जसको शक्ति उसैको भक्ति । आज सबका सब शक्तिकै खेल त भइरहेको छ नि । शक्ति पुगेन भने त्यो पद कतिखेर खुस्किन्छ पत्तो हुँदैन । शक्ति सधैंभरि आफ्नै पाखुरामा जमेर बस्छ भन्ने पनि केही छैन । पहिले पद हत्याउनको लागि भोकनिद सब खत्तम । कदम्कदाचित् पद हात परिहाल्यो भने कहिले खुस्किने हो, भोकनिद सब हराम । पदका लागि लडेर, पदकै लागि पदमा बसेर नखानु र नसुत्नुभन्दा त स्वास्नीपतिको पद धारण गर्नु नै जाति । हुन त स्वास्नीका नानाभातिका ‘डिमाण्ड’ पूरा गर्न सकिएन भने त्यसको पनि भर त हुँदैन तर पनि अरु पदभन्दा यो पद बलियो र सुरक्षित भने हुन्छ । त्यसैले स्वास्नीपतिको पदधारणमै चित्त बुझाउँदा राम्रो हुने डा. पदप्रसादको तर्क रहेको छ।

तपाईहामीलाई पनि लाग्दो हो, पदवालाहरूले गरिखाएको देख्दा कमानी जाग्दो हो, कुनै पदको आसन समाउन पाए हुन्थ्यो, निमुखाहरूमाथि शासन जमाउन पाए हुन्थ्यो । बैठकमा भाषण ठोक्न पनि पाइने, अलिअलि रासन बोक्न पनि पाइने । तल्ला तहका कर्मचारीहरूको पसिना चुस्न पनि पाइने । अझै माथिल्लो पदमा घुस्न पनि पाइने । क्या गजब छ, पदबिनाको जिन्दगी पनि के जिन्दगी । त्यसैले पदचिन्ताले ग्रस्त महाशयहरू ! आजैदेखि कुनै रसिलो पद समाइहालौं । कहिल्यै फुत्कनु नपर्ने कसिलो पद समाइहालौं । सजिलैगरी पाइन्छ भने कसैका खुट्टा मिच्नुपरे मिचौं, पाइँदैन भने कसैका टाउका थिच्नुपरे थिचौं । जमाना नै यस्तै छ । मागे पाइएन भने खोस्न जान्नुपर्ने, तालुखुइले टाउकामा आगो झोस्न जान्नुपर्ने । ओठे भक्तिले काम गरेन भने अगुल्टो ठोस्न जान्नुपर्ने । यी माथिका उपायहरू अवलम्बन गरी सार्वजनिक पद हात पार्ने कसरत गरौं । यदि ती पदहरू फेला पर्न सकेनन् भने स्वास्नीपतिको पद छँदैछ क्यारे । त्यसमै चित्त बुझाउनुपर्ला कि ? कस्तो लाग्यो मेरो कुरो कुन्नि ?

म्याग्दी, २०६७

1 thought on “पदचिन्ता”

  1. एकदम समयसापेक्ष तथा यथार्थी
    एकदम समयसापेक्ष तथा यथार्थी व्यंग्य लेख्नुभयो। यो चिन्ता जबसम्म हामीले मनैदेखि हटाउन सक्तैनौं, तबसम्म हाम्रो समाज यस्तै लठाभद्र हुन्छ।

    लेखनशैली चाहिं मेरो मनपर्ने लेखक भैरव अर्यालको झल्को देखाउने खालको रहेछ। भैरव अर्यालदेखि प्रभावित नहुने को पो छ र? हैन? लेख्तै जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *