Skip to content

मेघराज 'कुमार' दाहाल

आधुनिक जमानामा चल्न पर्ने भयो

आधुनिक जमानामा चल्न पर्ने भयो ।
बेमतलबी पारामा ढल्न पर्ने भयो ।

सोझो रुख नै काटिन्छन् सबै भन्दा पहिले
जिन्दगीमा बाँच्नलाई छल्न पर्ने भयो ।

गजल

प्रेमालापमा डुबुल्कीको रहर जाग्यो आज ।
कल्पनाको अंकमालमै प्रहर भाग्यो आज ।

आँचल खोली मुहारको दर्शन गर्ने मन
तारिफका पूल नबाँध्दै कहर दाग्यो आज ।

झिसमिसे अंधेरीमा गाँउ डुल्ने धोको
झिलिमिली रुमलाईमा शहर माग्यो आज ।

सपनीको तिर्सनालाई बिपनीमा पिउन
प्यासी उही ‘कुमार’लाई जहर लाग्यो आज ।

गजल

रहस्यको आँखीझ्याल नखुलेको धेरै भयो ।
जोडी परेवा निस्फिक्री नडुलेको धेरै भयो ।

अनायासै गोरेटोमा मात दिने धेरै भए ।
मदिराको साहारामा नझुलेको धेरै भयो ।

सदा उजाड मरुभुमी सिंन्चित हुनु कहाँ ?
सुनाखरी पारिजात नफुलेको धेरै भयो ।

ठन्डियाम र एक्लोपनमा दुरी झनै बढी ।
स्वर्गीय न्यानो अंगालो नभुलेको धेरै भयो ।

लुकिछिपी निष्ठूरीलाई हेरिन्न है अब

लुकिछिपी निष्ठूरीलाई हेरिन्न है अब
सदाचारका नियमहरू टेरिन्न है अब ।

क्षणिक नजर एकै सही कोण मिलाई ठाउँमा
दोबाटा र चौबाटाहरू फेरिन्न है अब ।