Skip to content

संग्राम किरात

दुखे पनि

दुखे पनि नदुखे झैँ, गर्नु पर्या छ,
ओइलिएर फूल झैँ, झर्नु पर्या छ ।
खडेरीमा सुकिराछ, सुस्क जिन्दगी,
डढेलोमा जलिकन, मर्नु पर्या छ ।

साथ माग्न हात दिएँ, फालिदिएछौ,
निर्मल देख्थेँ म तर, जाली थिएछौ,
छोडिदियौ साथ नै, तिमी टाढा जाऊ,
नकोट्याऊ घरी घरी, मुटु पोल्ने घाऊ,
जीवनदेखि बसाइँ सर्नु पर्या छ ।

दुःख सुख मिलाएर, एकै भाग खाएकै हो

दुःख सुख मिलाएर, एकै भाग खाएकै हो,
कस्ले सक्छ हैन भन्न, चोखो प्रीति लाएकै हो ।

पूर्णिमाको जुन सरी, शितल ती छहारीमा,
हर पल हर क्षण, हृदयमा छाएकै हो ।

कष्टमा पिल्छिएका ती

कष्टमा पिल्छिएका ती, कहरमा जिएर त हेर,
बयान गर्यौ दुःखका धेरै, आँशु पिएर त हेर ।

उर्लन्छ खहरे मात्तिएर, बिचरा ढुङ्गाको पीडा,
एकपल्ट तिमी पनि, ऊसँगै खिएर त हेर ।