कष्टमा पिल्छिएका ती, कहरमा जिएर त हेर,
बयान गर्यौ दुःखका धेरै, आँशु पिएर त हेर ।
उर्लन्छ खहरे मात्तिएर, बिचरा ढुङ्गाको पीडा,
एकपल्ट तिमी पनि, ऊसँगै खिएर त हेर ।
चुल्हो बलेका छैनन्, कत्ति भोका र नाङ्गा शरिर,
उनीहरूको खाली पेट, भरी दिएर त हेर ।
थकित काँध अनि नाङ्गा खुट्टा, खकानको बेदना,
कति बन्छौ उदार, ती नाम्ला लिएर त हेर ।
टुहुरो छ बालक, उजाड सिउँदो चेलीहरूका,
फाटेका मन ति आमाका, आफैँ सिएर त हेर ।
धेरै गर्यौ बयान दुःख, पीडा र जीवन दर्शनका,
तर बुझछौ अर्थ जीवनको, त्यो दुःखमा अल्झिएर त हेर ।
