Skip to content

निर्मल निराश

सुके सारा मूल, धारा, खडेरीमा देश रोयो

सुके सारा मूल, धारा, खडेरीमा देश रोयो
निभे आशाका दियाला, कटेरीमा देश रोयो

जहर घोल्यो आज कस्ले बताऊ यो माटोभित्र
जल्यो छाती छट्पटाउँदै, मझेरीमा देश रोयो

नेपाल मेरो उठोस्

मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस्
होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस्
ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस्
मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् ।

को हुन् यिनी

शय्या लाई अवनि-बिचमा, शैल लाई सिरानी
सप्ना नाना मनभरि बुनी पर्खिएकी बिहानी
पू्र्नेको दीप्ति छ बदनमा, उर्लिएको जवानी
को होलिन् यी कुन जगतकी यत्तिकी रुपवानी !

चार हाइकु

खोजीरहेछु
हराएको सपना
मरूभूमीमा ।

कोरीरहेछु
अरबी बालुवामा
नेपाली नक्सा ।

पग्लिरहेछ
तातो मरूभूमीमा
सगरमाथा ।

हेरीरहेछु
मेरो बुढो घण्टाघर्
पातालबाट ।

पर्खेर बसे है

नरोई बसे हे मेरी प्रिये म फर्की आउँला
दु:खको भारी सीमानापारि म छाडी आउँला

यी लाला बाला कलिला मुना छाडेर जाँदैछु
तस्विर तिम्रो यो छातीभरि साँचेर लाँदैछु
डाँडाकी जून यी बुढी आमा सुसारी राखे है
अप्ठेरो परे दु:खले घेरे नआत्ती बसे है ।

न रोक्न सकियो जीवन-यात्रा

न रोक्न सकियो जीवन-यात्रा, न फोड्न सकियो पहरा
न फुल्न सकियो काॅडाबीच, न छोड्न सकियो लहरा

पुरा नहुॅदै यात्रा, भव-सागरमा डुङ्गा अल्झिएपछि
न डुब्न सकियो सागरबीच, न भेट्न सकियो किनारा

नेता

औंला जोडी मुसुमुसु गरी हेर नेता उदायो
आमा बाबा सकल जनमा नाम नाता जुरायो
बत्ती बाल्यो तिमिर मनमा थोर आशा जगायो
मुर्दा खोजी सब जगतका फेरि ज्यूँदा बनायो ॥

भाग्यले बाटो मोडेर गयो

भाग्यले बाटो मोडेर गयो एकलै पारेर
सौभाग्य-सुख खोसेर लग्यो निर्दयी बनेर

टुटेर झर्‍यो शिरको तारा आँशुको सागरमा
अछुतो भयो सिंदुर अब यो पापी संसारमा

बिराना भए चुरा र पोते यी गला हातमा
सिसाझैं भाग्य फुटेर बिझ्यो मुटुको माझमा

बिसाउँ कहाँ जीवन-भारी सहारा को देला ?
दैवले पनि नसुने पछि अरुले के सुन्ला ?

आँसुको मेरो यो दु:ख धारा कहिले सुक्दछ ?
हे दैव तिम्रो घरको दैलो कहिले खुल्दछ ?