सुके सारा मूल, धारा, खडेरीमा देश रोयो
निभे आशाका दियाला, कटेरीमा देश रोयो
कहाँ पोख्ने पीर मन्को, कहाँ खोज्ने शान्ति भन्द्यौ
ह-यो कस्ले भाइचारा, पँधेरीमा देश रोयो
जहर घोल्यो आज कस्ले बताऊ यो माटोभित्र
जल्यो छाती छट्पटाउँदै, मझेरीमा देश रोयो
पछ्यौरीले आँसु पुछ्दै रुँदै बस्छिन् बृद्ध आमा
उनीसङ्गै खेतबारी, पखेरीमा देश रोयो
अँध्यारोले भीर पाखा र मैदानी फाँट ढाक्दा
हराएको मार्ग खोज्दै अँधेरीमा देश रोयो
