Skip to content

मुन पौडेल

सुखी जीवनका उपाय

  • by

महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन ।

मेरी लुखुरी

  • by

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् ।

हजूरबाउको भूत

  • by

उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैन्थ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ ।

पुलिस महात्म्य

  • by

म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दा लेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो त्यसको भने कुनै ठेगान छैन भन्ने कुराको पनि हेक्का न राखेको होइन मैले । तर के गर्नु, पुलिसको बारेमा लेख्नुको मजै अर्को छ । साँच्चै भन्ने हो भने हाम्रा साहित्यकार मित्रहरूलाई महाकाव्य लेख्नु परोस्, काव्य लेख्नु परोस्, नियात्रा लेख्नु परोस्, जात्रा लेख्नु परोस्, निबन्ध वा प्रवन्ध मिलाउनु परोस्, गद्य कवितामा बग्नु परोस् वा छन्दमा बन्द हुनु परोस्, गजल गाउनु परोस् वा पजलमा बहुलाउनु परोस्, व्यंग्यलाई बटार्नु वा हास्यमा पात्तिनु परोस्, त्यसको लागि एउटा सुन्दर, प्रभावशाली, प्रभावकारी, युगयुगान्तकारी विषय पुलिस बाहेक अरु केही हुन सक्दैन ।

रामप्रसादको तीर्थ जात्रा

  • by

रामप्रसादलाई काठमाण्डूको कुवाको भ्यागुतो भने कुनै अतिशयोक्ति नहोला । बीस वर्षे जागिरमा ऊ कहिल्यै काठमान्डू बाहिर गएको छैन । मन्त्रालयका उसका साथीहरूले सरकारी काज खाएर छयहत्तरी नै जिल्ला घुमिसकेका होलान्, उ भने गुच्चा टोल र सिंहदरवार बाहेक कतै गएको छैन । साथीहरू कत्ति कर गर्छन्, तर ऊ भने टसमस हुँदैन । कतै नगएको हुनाले अब त झन् बुढ्यौलीमा ठ्याम्मै आँट पुग्दैन । बाहिर जाने जस्तोसुकै मौका आए पनि कागलाई बेल पाकेर हर्ष न विस्मात् भने झैं रामप्रसाद अविचलित रहन्छ ।