Skip to content

विश्वेश्वरप्रसाद कोइराला

शत्रु

‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दुख परेको बखतमा ‘राजद्वारे श्माशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।

फेरि एकपल्ट

विगतको जिन्दगीको सम्झना हो- वर्तमान।

वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान।

श्वेतभैरवी

  • by

धेरै दिन पहिलेको कुरा हो, प्राय: पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो ।

Read More »श्वेतभैरवी

दोषी चश्मा

केशवराजको चस्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चस्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चस्मा लिनें विचारमा थिए, तर अँझै अनुकूल परेको थिएन ।

बिहा

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

पवित्रा

  • by

तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् – उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

BPKoirala

पुस्तक

  • by

कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पगें । साथमा कुइनेन, क्लोरोडाइन, पोटाश पर्मेगनेट इत्यादि औषधि थिए ।

बनारसबाट हिंड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौं । एउटा इलाकामा पुगेर त्यहाँका गाउँ-गाउँमा गई औषधि बाँड्ने प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिंड्नुपर्थ्यो । मैले औषधि त लिएँ लिएँ झूल पनि बोकें, तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।

इलाकाको इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू साना-साना कीराले आश्रय लिएका थिए । एक‍-दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बालकबालिकाहरू कमिलैसरह स्याउँस्याउँती थिए ।

नजिक टाढा

  • by

पानीले निथुक्क भिजेपछि
धरती त्यसै त्यसै चलमलाउन थाल्छ
मुहारमा निन्यारोपन लिएर पनि
इन्द्रेणी मुस्कुराइरहेको हुन्छ
पानीको थोपा बक्षस्थलमा खस्दा
धरती त्यसै त्यसै मोहित हुन्छ
धरती त्यसै प्रफुलित हुन्छ

कथा

  • by

एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिंदैन। आमा-बाबुको स्नेहको बन्धन र प्रियाको प्रेमबन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे।