शत्रु
‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दुख परेको बखतमा ‘राजद्वारे श्माशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।
