Skip to content

http://www.suman24.blogspot.com/

यात्रा

यात्राको संघर्ष
मेरो अर्ध जीवन बाटै शुरू भयो
जब म धकेलिएं सम्पूर्णताको होडमा
करोडौंको भीड थियो तर एक्लो थिएं म
गन्तव्य थाहा थिएन रनभुल्ल थिएं म
कसैले मलाई बिस्तारै थपथपायो मुग्ध भएं म
न्यानो अंगालोमा बेर्यो र सम्पूर्णताको सास फेर्यो
करीब नौ महीने यात्राको सहयात्री बनायो
पृथ्वी भन्ने पहिलो बिसौनी आयो
कैयौं यात्रु ओर्ले कैयौं यात्रु उक्ले
यात्रा निरन्तर चलिरह्यो

धुमिल चेतना साकार हुंदै गयो
मलाई संघर्षमा प्रेरित गर्ने बुवा थिए
पूर्णता दिने ममतामयी आमाले बताइन्
म आमा बुवाको सहयात्री बनें
दोश्रो बिसौनी आउनु पूर्व
दाजुभाई, दिदीबहिनी र ईष्टमित्र पनि देखें

अन्याय

भक्कानियो मुटु मेरो रक्ताँसु पिउनु पर्ने
चिरिएको कलेजोलाई लुकि लुकि सिउनु पर्ने

पूर्वकै हो दोष यो कि यो जन्म त याद छैन
आफ्नै मुटु तड्पिएको लुकाई पीडा जिउनु पर्ने

अन्जानमै गल्ती भए जस्तो सुकै सजाय पाउँ
आफ्नै मुटु टुक्र्याएको हेरी ओठ सिउनु पर्ने

तड्पिएको थाहा छैन टुक्रिएको थाहा छैन
निर्दोष मुटु खुशी हुँदा जलाई आत्मा रिउनु(रुनु) पर्ने

चाह भए तेरो मनमा न्याय भए तेरो घरमा
टुक्रिएको मेरो मुटु लगाई नौनी लिउनु पर्ने

बात लागेन

तिम्रै नजरको तीरले म मरें तिमिलाई कुनै बात लागेन
वैंशालु नशा भरपूर थियो तिमिलाई कुनै मात लागेन

तिम्रा खुशी खरीद गर्न सबै रहरहरु धितो राखें
चढाएं आफ्नै वली तिमिलाई कुनै सौगात लागेन

ज्वालामुखी विस्फोट भयो तहस नहस भयो ज़िन्दगी
चर्क्यो मेरै बिचरो मुटु तिमिलाई कुनै औकात लागेन

आंसुहरुको बाढी आयो प्यास बुझोस भनी मरुभूमिको
तड्पे कल्पे बरबाद भएं तिमिलाई फिका बरसात लागेन

आउने जाने सबले सोधे के भयो तिमिलाई “सुमन”
तिम्रै प्यारमा पागल भएं तिमिलाई सानो मुलाकात लागेन

जरूरी छैन

हामी मिले उनी खुशी होलान जरूरी छैन
तिम्रो मेरो चिना पनि मिल्नु जरूरी छैन

भुवा सरी कपास झैं मन उडे भयो
दुई चार बोतल ढल्नु जरूरी छैन

जीवन ज्यूनुको अर्थ भेटे भयो
ज्यू हजुरको पाउ मल्नु जरूरी छैन

एकआपसमा हाम्रो मन बुझे भयो
हाउभाउ र चालढाल बदल्नु जरूरी छैन

गर्विलो विजयी मुस्कान छर्न सके भयो
शत्रु महानको सेना गल्नु जरूरी छैन

डर

थिचिएर निस्सासिएको भासु भीरको ढुंगो म
कर्मी हाथहरुले भेटे देउता बनाइने डर छ

भेलले पछारिएको काली बगरको ढुंगो म
माझी दाइले पक्रे देउता बनाइने डर छ

ठक्करले लछारिएको छतरी चौराहको ढुंगो म
स्वामी बाबाले टेके देउता बनाइने डर छ

पींधमा घुसारिएको पंच देवलको ढुंगो म
बाल बुद्धले देखे देउता बनाइने डर छ

झ्याउ फिजारिएको धुराको अलपत्र देउता म
तीर्थालु भक्तले जपे फेरी देउता बनाइने डर छ

मन लाग्छ

विरक्तिएँ भने दुनिया छोड़ी जाँउ जाँउ मन लाग्छ
फुरूंगिएँ भने तोते बोली कराउं कराउं मन लाग्छ

एक एक गरी सबैले छाडी गई सके पछि
निर्दयी काल देखी डराउं डराउं मन लाग्छ

जाल झेल कपट र षड्यंत्र देखे पछि
मन वस्तीको घरबार पनि सराउं सराउं मन लाग्छ

प्रेयसीको नजर अर्कै तर्फ सोझिए पछि
छेकि सकेको लगन पनि टराउं टराउं मन लाग्छ

नपिएको विषको असर देख्दा ए “सुमन”
त्यही विषको व्यापार गराउं गराउं मन लाग्छ

मर्ने तयारी

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं

विष मनको वमन गरौं, माया प्रेमका कुरा गरौं
खाऔं अमृतको जाम पृय, तयारी मर्ने गरौं

आत्मा आफ्नो साछी राखी, परमात्माका कुरा गरौं
जाऔं यस्तो धाम पृय, तयारी मर्ने गरौं

अन्तरमनको पुकार सुनौं, ढुक ढुकीका कुरा गरौं
छरौं यस्तो ग्यान पृय, तयारी मर्ने गरौं

नाता गोता छर छिमेकमा, सुख दुःखका कुरा गरौं
छाडौं यस्तो पैगाम पृय, तयारी मर्ने गरौं

रीस राग अहंकारका, महल गाल्ने कुरा गरौं
छरौं यस्तो मुस्कान पृय, तयारी मर्ने गरौं

स्वाभिमानको तरवारले, शत्रु ढाल्ने कुरा गरौं
बाचौं यस्तो शान पृय, तयारी मर्ने गरौं

मनका लेखहरू

कसैलाई नभन्दिनु मेरा मनका भेदहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू

आजभोलि चारैतिर हाम्रै कुरा चल्छ क्यारे
सुनेको छु तिम्रो मनमा मेरै कुरो खेल्छ क्यारे
कति राम्रो हुन्थ्यो होला तिम्रो साथ पाएपछि
कति असल हुन्थ्यो होला तिम्रो माया पाएपछि

मायाको सुवास

नीलो नीलो आकाश छ
नौलो नौलो आभास छ

तिमी तर्कि हिडे पनि
तिमी फर्की गए पनि
रंगी-चंगी संसार यो
सागर झैँ विशाल यो
तिमीमा मायाको सुवास छ
नीलो नीलो आकाश छ

चलेका चल्यै छन

  • by

आँधी हुरी उर्ल्या छैन युद्ध पनि चर्क्या छैन
सागरमा ज्वारभाटा चलेका चल्यै छन ।

डम्फु आफ्नो सबले ठोके मेरै डम्फु राम्रो
असन्तोषको आगो सधैं बालेका बाल्यै छन ।

जोरी खोज्ने अरु कोही बाँउठिने अर्कै छ
अभागी निर्दोष जनता ढलेका ढल्यै छन ।

सोधे जति सबले भने चल्या छैन हावा सुको
पातहरु सबै थर्थर हल्लेका हल्ल्यै छन ।

शान्तिखोज्न सोझा जनता उर्लेका उर्ल्यै छन
बुझिसक्नु छैन शहर जलेका जल्यै छन ।

घाम झुल्क्यो सधैं पूर्व सुस्ताउन पश्चिम
हावाहरु पश्चिमेली चलेका चल्यै छन ।

किन झर्छन तारा ?

  • by

चकमन्न रात हरुमा चम्केका छन तारा
कतिका ती आशा होलान कतिका सहारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

युगौँ युग लाग्न सक्छ बन्न लाई एक तारा
पहाड नै फोर्नु पर्छ खोज्न लाई एक तारा
दिनै रात खट्नु पर्छ टल्काउन एक तारा
एक छिन मै झरिसक्छ चम्किलो त्यै तारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

अनन्त आकाशमा छन एक्ला एक्लै तारा
कतिका ती बिम्ब होलान कतिका पुकारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?