खम्बुवान्को लोककथाः रिथु चरा
नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।
