नेपाली आख्यान क्षेत्रका मूर्धन्य व्यक्तित्व रमेश विकल स्थानीय जमिन्दार वर्गको सम्पन्न ब्राहृमण परिवारमा जन्मेर, हुर्केर पनि अग्रगामी चेतना बोकेका अग्रणी प्रगतिशील साहित्यकार हुन् । २००६ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गरेका विकलले छ दशक लामो साहित्यिक यात्राका क्रममा कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, बालसाहित्य र संस्मरणहरू लेखेर सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । कहिलेकाहीँ कविता लेखे पनि विकलको साधनाको मूल विधा गद्य र त्यसमा पनि आख्यान नै हो । उनका कथासङ्ग्रह-७, उपन्यास-४, नाटक-एकाङ्की-५, यात्रासाहित्य-२, आत्मसंस्मरण-२, व्यङ्ग्य निबन्धसङ्ग्रह-१, बालसाहित्य सङ्ग्रह २३ र अनूदित-७, गरी जम्मा ५१ भन्दा बढी कृतिहरू रहेका छन् । उपर्युक्त कृतिबाहेक सङ्कलित हुन बाँकी उनका थुप्रै फुटकर रचनाहरू पत्रपत्रिकामा प्रकाशित छन् ।