सुवास खनाल
म रोबर्ट
मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।
