Skip to content

आर पी श्रमिक

मृत दूनको एक भरिया

  • by

भोकले बिझाएको शिथिल हाड-छाला
विपूल बोझले लड्खडाएर
एक आपसमा स्वतन्त्र बन्ने प्रयासमा
परितप्त रक्त-पसिनाले गिल्गिलिएको छ ।

वर्षाते जलधारामा नाँचेको
पहाडी टुप्पाका देहाती झुप्राहरू,
शोषण र चुसाइले चाउरिएर नाङ्गिएका
आफ्नै स्वामित्वमा नभएका मधेसी तृणकुटीहरू
यी भन्दा पनि जीर्ण भग्नावशेष
तण्डुल र चुनाको किम्मती गासलाई
पुरै दिनको बेचबिखनको मुल्यले
एक नशालु प्यालाको रगिंन दुनियाँले मेटेको छ ।

रत्नपार्कको खुट्टाविहिन माग्ने

  • by

लाखौं मान्छेका चालहरू
मुहार र उसका भावहरू
सायद पढ्नैका लागि बनेको जीवन
रत्नपार्क नजिकैको एक जीर्ण पुस्तकालय ।

अनुभवहरूको खडेरीमा
निष्प्राण बनेका नवजीवहरूको
आँखा र हृदय पढ्दै र भोग्दै
उ अनुभवहरूको मृतसागरमा
डुब्नै लागेको डुङ्गाको नाविक झैं
तैरने घनिघसाइमा ओझेल पर्दैछ ।

सीमाको लखनलाल

  • by

मध्ये पहाडको निशब्द चुहेको जरुवा
यो राज्यको सीमाको आँतको हरहरलाई मेट्न
भीमकाय पहाडहरूको नागबेली तरङ्गमा
केबल आवेशको झन्कार मात्र बन्न सक्ला,
तुच्छ भोगाईहरूको सरुवा रोगहरूमा
अझ चर्को संक्रमणको अभिनय गर्न सक्ला
किनकि ऊ समथर सीमामा आगो लगाई
उकालो उच्च पहाडको दरबारमा
अमृतरसको अचमानीले सुरक्षित देख्ला
तर मृत्युवरणको दोस्रो प्रतिद्वन्दी
पहिलोको मृत्युको उल्लासमा
उन्मत्त विलासी कोपभाजनले
आफ्नो छातीमा पोतिएको छपान मेट्न सक्दैन ।

आज सिठ्ठी बजेन

  • by

चुपचाप रमिते मेरो नियति हो
मेरै कलुषमा मेरै कटाक्ष
त्यसैले त ममा खोई —त्यो मान्छे भेट्दिन ।
यो दूनको अस्तुमा ठोकिएर
म मान्छे मरेको निर्जीव मुढो छु ।
कुमारी प्रकृति,
हाम्रो कर्कस टोकोसोले
बलाद् क्षत–विक्षत भएकी छिन्
हामी हाम्रो लगनमा गर्वित छौँ
र त हामी हाम्रो कर्ममा
कृतदासहरू सहज जन्माउन सक्छौँ
र हामी जुम्ली उद्रामा मानव खेती गर्न सक्छौँ
मूक संवेदनालाई बुलन्द पार्न सक्छौँ ।

भोको विहारी

  • by

हुन त म,
राष्ट्र सिमाङ्कनको संगिन धर्कोले
बाँधिएको अवला मनुवा हुँ ।
न मलाई नेपाल भन्ने सिमाङ्कनले
उन्मुक्त विलय गराएको छ,
न मेरो अन्तर्आत्मामा अंकुरित
मानव बिजलाई निमोठेको छ ।
त्यसैले त हिन्दुस्तानका चालिस करोड
मेरो हृदयको चित्रालयमा — एक/एक उपस्थित छ,
जो म होइन,
तर पनि हिन्दुस्तानीका कोरा कागजमा
अक्षर बनेर लगातार गंगा झैँ बाक्लिँदैछ ।

एउटा मृत्यु

  • by

मान्छे मान्छे नै हो
मान्छे मान्छे बेचेर मान्छे कमाउँदैन
उसले देख्न सक्छ ।

भैँसीले आफ्नै सन्तान कुल्चन्छ
ढाडेले आफ्नै बच्चाहरु खान्छ
बोकोले आफ्नै आमाको सतित्व लुट्छ
किनकि ती अन्धा छन् ।

तर मान्छे ज्योतिमय छ
सारा धर्तीको अन्धकार चिर्न सक्छ
उसलाई आफू भरिएर सन्तुष्ट छैन
किनकि उसलाई सोमालिया, सुडान, इथियोपिया दुख्छ

क्रान्तिवीर

  • by

निष्कण्टक मलय पवित पुष्प वृक्ष
निकम्मा निशाभर धराको नूतन निशाकर
नग्न गाथाको एक विप्लवी मानव
शैल झैँ अटल यो दृढ प्रतिज्ञ्य
यो क्रान्तिवीरको वीरावरण ।

माटोको घेरा जोड्ने
अन्धभोकमा चिढिएको
माटोको स्तनमर्दनको भारा जोड्न
मान्छेहरूकै मान्छे टोक्ने
कुत्सित पाशविकताले च्यातेको मानव
यो क्रान्तिवीरको वीर हुनै सक्दैन ।

नवमानव

  • by

मुलाहिजाका दुई/चार ध्येय
अदाच्छे भण्डारणको एकै स्वार्थ
संवेदनहिन मेसिन झैँ
खिया लागेका पाटपुर्जाकै रुपमा
आज मान्छे विकसित र उन्नत
श्रेष्ठताको अनुपम बसाइ
खुल्ला चोकको गगांलाल श्रेष्ठ ।
अजब छ यो मानव
तिर्खा छ तृष्णा छ
एकलब्य छ भगीरथ छ
उही आफ्नै धुनमा
उही दुर्गम अभिलाषाको जिजीविषामा

RPShramik

कवि, कविता र माइली सर्किनी

म प्रकृतिको विलासितालाई कोरेर
मान्छेले भिराएको नारकीयतालाई छोप्न सक्दिन
किनकि म अनियन्त्रित र असक्षम कवि हुँ
र अनियन्त्रित र असक्षम कवि
प्रकृतिको मनोरमता र शुन्दरतामा
अझै नानाभाँती रंग पोतेर
कल्पनाको शुन्य दलदलमा भासिन सक्दिन
फिक्का लाग्छ त्यो – कवि र रविको तुलना ॥

जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि ।

  • by

बादलभित्र लुक्छ घाम उजेली त्यो दिनमा पनि
जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि ।

बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न खोज्छु
छाँया पनि नभेटिने औंसीको त्यो रातमा पनि ।

दलमाया र उनको बबुरो

त्रिशुलीको प्रेममय चाप्लुपताले कुत्कुतिएर
डाँडाकाँडाहरू उच्छृङ्खलताले लहलह झाँगिएको छ
एकैनासको सुस्त रन्कोले,
सागरमा पुगेर विश्राम लिने धुनमा
बाँझो वा उर्वरताको विरासत छोडी
आफ्नै आङ्गमा एउटा जगत बोकी
अविराम यात्रा गरिरेछ, त्रिशुली !

म र बोरा

  • by

शरदका ती लामा रातहरू
चिसो सिरेठो र शीतको स्पर्श
अनुभूति र अनुभवहरूको बेहोसीपन
फगत बाध्यता र निरन्तरता
केबल एक जिउँदो मृत्युको
प्रकृतिको धारिलो चुलेसीबाट ।

मेरो मित्र रानमरतन मधेसे

  • by

ऊ सीमाङ्कन खोज्ने घनचक्करमा कहिल्यै भौंतारिएन
न त आफ्नो पहिचान खोज्ने अगम्यतामा नै
उसले देश पढेन मैले जस्तै
र देशपुत्रको अहम्ताको घण्टा कहिल्यै बजाएन,
त्यो बढी खरानी घस्ने नयाँ नेताले झैं ।
मैले देश सोधेँको थिएँ
उसले कुन्नी धराबासी भन्दै थियो ।