
भोकले बिझाएको शिथिल हाड-छाला
विपूल बोझले लड्खडाएर
एक आपसमा स्वतन्त्र बन्ने प्रयासमा
परितप्त रक्त-पसिनाले गिल्गिलिएको छ ।
वर्षाते जलधारामा नाँचेको
पहाडी टुप्पाका देहाती झुप्राहरू,
शोषण र चुसाइले चाउरिएर नाङ्गिएका
आफ्नै स्वामित्वमा नभएका मधेसी तृणकुटीहरू
यी भन्दा पनि जीर्ण भग्नावशेष
तण्डुल र चुनाको किम्मती गासलाई
पुरै दिनको बेचबिखनको मुल्यले
एक नशालु प्यालाको रगिंन दुनियाँले मेटेको छ ।
जिन्दगीका कयैन् आशा र सपनाहरूको रफ्तारमा
उही रगिंन संसारको गर्तमा
उसले आफ्नो बालबनिताको प्यास विलाएको छ ।
सीमाहिन आश्रयले मृतप्रायः उपत्यका
विकट महामारी नबनेसम्म
ऊ आफ्नो असली चेहरा देख्न सक्दैन ।
यही चपरीमा टेकेर
निर्जन सहरसँगको सौदाबाजीमा
नोकरशाहको अफवाह र ठूआमा
आफ्नै स्वार्थले चिमोटिएर
कसैको जोलियाको जरह
आफ्नै जिजीविषामा दुखाउनु मात्र हो ।
रौद्र तन्देहमा,
पर्खौली विरासतको असीमित गुन
मानवशुलभताको बज्रपातले पिल्सिएर
उसले उमारेको कोमल मृत्युको अहिस
होहल्ला र अनियन्त्रित रङ्गमञ्चमा
चनकमन्द पात्रको विश्रामबारी
र उसका अजेय, अभिरु भावभङ्गीको
नाटकीय उत्कट विजिगीषा
सांसारिक ललहरीले विप्रलब्ध छ ।
ऊ आफ्नै कारणले खाली छ
ऊ सायद प्रारब्धले नै रित्तो छ
उन्नत मानव बस्तीमा, मानवीय हाँचले पनि
उसले खुकुलो श्वास नभेट्नु
र यो घिऊ नलाग्ने हुज्जतीमा
मेरो खल्वाटको क्षेत्रफल बढाउनुमा
म मान्छे माथि क्रोध छ ।
उसका चिरसञ्चित जोसहरू
कुनै समयको गम्भीर मूल्यको सामर्थ्यमा छ,
उसका खिइएका हाडछालामा
मानव अवमूल्यनले विद्युतीकरण गर्दैछ ।
तर आज,
श्रमशक्ति मुल्यहीन बनेको छ
मानव हृदयमा काँडा उम्रेका छन्
कठोर दुर्दम श्रम नियति बनेको छ
आज केही बाध्यता छैन,
कोही भोकले मर्नु -उसको मौलिकता हो
कोही नबाँची मर्नु -उसको आफ्नै महत्वकांक्षा हो ।
उफ ! लाग्छ मान्छे पैसा बनेको छ
पैसै-पैसाको दूनमा ऊ निर्धनताले मूक छ
पैसाको थैलीमा ऊ पैसा खोजिरहेछ
हाय ! त्यो मृत दूनको एक अजिब भरिया ।।।
आर पी श्रमिक
जिलिङ्ग—९, नलगाउँ, शुक्रटोल
नुवाकोट ।
