Skip to content

आज सिठ्ठी बजेन

  • by


चुपचाप रमिते मेरो नियति हो
मेरै कलुषमा मेरै कटाक्ष
त्यसैले त ममा खोई —त्यो मान्छे भेट्दिन ।
यो दूनको अस्तुमा ठोकिएर
म मान्छे मरेको निर्जीव मुढो छु ।
कुमारी प्रकृति,
हाम्रो कर्कस टोकोसोले
बलाद् क्षत–विक्षत भएकी छिन्
हामी हाम्रो लगनमा गर्वित छौँ
र त हामी हाम्रो कर्ममा
कृतदासहरू सहज जन्माउन सक्छौँ
र हामी जुम्ली उद्रामा मानव खेती गर्न सक्छौँ
मूक संवेदनालाई बुलन्द पार्न सक्छौँ ।
स्फटिक मानिसको कुकृत्यको
जलसँगको आलिङ्गनले
कुरुप बनेका बाक्ला नदीहरू
हिंड्नै नसकेर असक्त हुँदा
यहाँको अब्बल सभ्यताको तुजुक
यहाँका तन्नेरी झैँ नाङ्गिदै छ ।
धुल मसीको अमूर्त विशालु छाना मुनि
उमेर पुगेका गोलभेंडा झैँ
एक अर्काका बैरी बनेर
पुरै टोकरीमाथि जाइलाग्नु
मानवमनका क्षितिजिय कुइनेटोको
कालो बादलको काँठ धमिल्याउनु हो ।

जीवन प्यासको रङ्गिन सपनामा
पहाड—तराईका दुर्गन्ध बोकेर
गहिरो खोँचको गन्तव्यमा
जम्मा भएको आहालको आहत भन्दा
यो बाग्मती सभ्यतामा हुर्केका
दुर्गुण किटाणूहरू — त्यस अहालको पोषणले मात्तिएर
यो देशको पुरै शरीरमा घाउ खटिरा उमारेका छन् ।
जो आफूलाई उन्नत सम्झन्छन
ती विषालु किटाणुहरू,
पहाड—तराईका अब्बल भूमिपूत्र माथि
आफ्नो सर्वाङ्ग लाज ढाक्न
केत्तुकी काँडा बनेर घोच्छन् ।
विवसताले वीर बनेका लौह मानव
यस दुर्गन्धनगरीको सम्पूर्ण फोहरमा
आफ्ना सन्तान र भविष्यको अमृतरस देख्ने
शहर सर्वाङ्ग भोग विलासमा उन्मत्त हुँदा
चिसो प्रहरसँगै निर्मम ज्यानको भारी बोकेर
निर्जन शहरमा एकलकाटेँ सिठ्ठी फुक्दै
यी विलासी सत्ताका असाधारण धोबीहरू
यो सुँगुरको खोरमा भकारो पखालिरहेछन्
लाग्छ यी यहाँका औषधिहरू हुन
जसको अनुपस्थितिमा यहाँको सुँगुरहरू,
सबै महामारीले ऐठ्ठन हुन्छन् ।
कायर परिस्थितिको निर्बल गुलामीहरू
दौलतजडित निर्जीव हृदयसँग
छिः छिः र दुर्दुरको निस्सा खोज्दै
अमानवको मानववेतर प्रतिमा देख्दै
मानवको एकमात्र अधिपसँग
अनुपादेयको रुढ चरित्रको ठम्याईमा
सम्भ्रान्त औ मानव मात्रको दर्पभित्र
मानव बन्ने लालसा बोक्नु
एक निमेषका स्वर्णिम कल्पवृक्षको आलिङ्गन
सिसा झैँ टुक्रा—टुक्रा बन्नेछ ।

मिर्मिरेको कुकुर भजनसँग नब्युँझेर
आज मेरो स्वप्न पुरै हेर्न पाउँदा
स्मृतिमा नाचिरहेको अवशेषसँग झुम्दै गर्दा
एउटा बर्बर विहानीको स्वागत
जो आज त्यो तूष्णीकको सिठ्ठीसँग
झन्झनाएर मेरो निचताको मञ्चनबाट
अतृप्त निरस नाट््यशालामा
त्यो विकट पात्रको अनुपस्थिति
एउटा सबक चखाउने खेल बन्यो ।
हाम्रा पराक्रमका जोसिलो अर्तनादहरू
उसको मृत्युमा शोकधुन जस्तै
महामारीको आतङ्कको दुन्दुभिभित्र
शिलालेखोटको उत्खनन्को
घनिघसाइको गोलचक्करमा
दुर्गन्धित नाङ्गो हातको हस्तछाप
उसका नाङ्गो श्वासप्रश्वासमा
नचुकचुकाएका हाम्रा हृदयका कोषिकाहरू
उसको कुकुर मृत्युमा उदासिन
राज्यनामको लुट सिमाङ्कनमा
यस सहरी सभ्यताको मेल खानु
कुनै गम्भिर त्रुटी हुदै होइन ।
बाग्मती सभ्यताको गुह्यचटकहरूमा
एक जोसिलो वीर सिपाईको मृत्यु
बेमतलबी, मोफती र सुन्य बन्नु
झाँगिदो मानव मरुभूमीको एक सूचक
मेरो भाडेकोठरीका आत्माहरू
अपलक मूक सालिक झैं
उसको सिठ्ठिसँग चलमलाउने
दीर्घरोगको बैद्यखानामा खोज्दै
शोकमा तिल्मिलाउने छ ।
आज सिठ्ठी नबज्नुसँग यसको ठूलो गुनासो छ
आज ऊ फोहर गाडावालको अनुपस्थितिमा
नियास्रो हरहरमा व्याकुल बन्ने नै छ ।

आर पी श्रमिक
जिलिङ्ग–९, नलगाउँ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *