Skip to content

कृष्ण उफान

भूतसभाको सन्त्रास

बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दाँ आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउदै यताउति हिड्छन् । दिनचरहरू रातमा हिडडुल गरेमा उनीहरूले सिकार बनाउछन् रे। त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहानछ नि । बाँचे संसारमा यी दुई टोड्.का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेको दुई कानले अनेक कुराहरू सुन्न पाइन्छ ।

नायक कि खलनायक

मलाई चलचित्र हेर्न असाध्यै मन लाग्थ्यो । चलचित्रमा अरूभन्दा पनि नायकले नायिकालाई आफूतिर आकर्षित गर्नको लागि अनेकानेक डर लाग्दा कार्यहरूलाई पनि बढो बहादुरीका साथ सम्पन्न गरेर नायिकाको मन जित्न सफल हुन्छन् र आखिरमा नायिकालाई गलाएर नै छाड्छन् । कमलो हृदय भएका नायिकाहरू नायकको क्रियाकलापप्रति लालयित भएर उनीप्रति आकर्षित हुन्छिन् । पटक पटकको खलनायकको हैरानीबाट बच्न पनि नायकलाई साथ लिन बाध्य हुन्छन् । न्यायको वकातल गर्नमा नै नायकहरू चलचित्र नसकुन्जेल लागि पर्छन् । नायकले गरेका यस्ता कार्यहरू मलाई असाध्यै मन पर्थ्यो र मरिहत्ते गरेर चलचित्र हेर्नमा म ज्यादै लोभिन्थे ।

नारी र पुरूष समानता

“जुन घरमा नारीको सम्मान हुन्छ, त्यस घरमा ईश्वरको पनि बास हुन्छ।” नारी शब्द आफैमा कति महान् छ, कति गर्व गर्न लायकको छ । “नारी र पुरूष एक रथमा दुई पाङ्ग्रा हुन्” भन्ने कुरा अवगत गराइरहन नपर्ला । नारीविनाको संसार कल्पना गर्न सकिएला त ? के पुरूष विनाको पनि संसारको कल्पना गर्नु महामूर्ख नठहरिएला त ? त्यसकारण आदिम युगदेखि नै नारी र पुरूष समान हुन् । नारी आमा हो, नारी दिदी बहिनी हुन्, यति हुँदा हुदै पनि नारीलाई यस समाजले नारी र पुरूषलाई एउटै रूपमा हेर्न सकेको पाइदैन ।

मोवाइलमा अल्झिएको प्रेम

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

भुडी परीक्षण अभियान

तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न नसके पनि आफ्नो भुडीको विषयमा त सोच्नुभएको रहेछ नि । संसारमा कति प्रकारका भुडीवाल मानवहरू देख्नुभएको छ ? कुनैका घ्याम्पे भुडी, कसैका पुटुस्स परेर बाहिर निस्किएको फर्सी आकारको भुडी, कसैका केराका दाम्चा आकारका ख्याप्से भुडी, कसैका माटाका घैटो आकारका घैटे भुडी, कसैका जतिसुकै हसुरे पनि बाहिर नदेखिने सुलुत्त परेको लाम्चे भुडी । मान्छेपिच्छेका फरक फरक भुडी आदि ।

उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

“जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका मानिस भएमा त त्यो त मानवीय गुण नै भएन नि । एउटै ड्याङको मुला जस्तो भैहाल्छ नि । अरू मानिसभन्दा तपाईमा के पृथकता छ ? साझा गुणहरू के के मिल्छन् ? कोही कसैसँग पनि नमिल्ने गुण तपाईमा के लुकेर बसेको छ ?

टुप्पी महिमा

हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए । उनको मुठ्ठे टुप्पी देखेर कुइरेलाई अचम्म लागेछ र तीनछक पर्दै सोधिहालेछ, excuse me please what is this ?

चटपटानन्द पनि के कम, वीर गोरखालीका सन्तति, दिनको सत्र घर डुलेर खीर लप्काएका धूर्त पण्डित कस्सिएर कुइरेले घाँटीमा लगाएको टाई समाउदै This what is this ? भनेर सवाल तेर्स्याएछ ।

थ्री एमको क्रेज

समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा चढेर हिड्न जानेन भने समयले साउनको भेलमा नदी किनारामा छोडेका मुढाको हविगत हुन्छ । पहिले के के न गर्छु ? कहाँ कहाँ पुग्नेछु भन्दै कोही कसैलाई पनि गणना नगरी त्यसै त्यसै फुर्किएर संसार नै जितौला झै गरी पानीको छालसँगै उफ्रिदै नाँच्दै अग्ला अग्ला पानीका छालसँगै तीव्र गतिमा प्रवाह हुने मुढाको हालत अन्त्यमा किनारामा डङ्रङ्ग पछारिएर रहेको अवस्था खेप्नु पर्ला । तर त्यसो भनेर चुप लागेर बसिरहे पनि आफ्नो उन्नति प्रगति हुने कहिले ?

चोरहरू

“जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको छ । यस्ता व्यवसायी चोरहरूलाई तँ चोर होस भनेर दोस लगाउदाँ खासै आपत्ति पर्दैन । चोरलाई चोर त भन्यो नि तर यो पंक्तिका के आरोप लगाउन चाहन्छ भने तपाईहरू सबै जना चोर हुनुहुन्छ । नाथे चोरल के फूर्ती देखाउनु के धाक लगाउनुहुन्छ र !