Skip to content

भूतसभाको सन्त्रास


बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दाँ आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउदै यताउति हिड्छन् । दिनचरहरू रातमा हिडडुल गरेमा उनीहरूले सिकार बनाउछन् रे। त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहानछ नि । बाँचे संसारमा यी दुई टोड्.का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेको दुई कानले अनेक कुराहरू सुन्न पाइन्छ ।

एउटा भूत गाउँमा छिर्यो भने सारा गाउँलेलाई पिरेर हैरान पार्दछ । रातदिन धामी झाँक्री खोज्दा र लगाउँदा लगाउँदा हैरान बनाउँदछ । वैज्ञानिक युग हो धामी झाँक्री नलगाउ भने पनि कहिले कलिला लालावालालाई सताउछन् । कहिले ठूलालाई मरणासन्न हुने गरी पिर्छन् । कहिले पशु चौपायालााई थलाको थला मै लम्पसार पारिदिन्छन् । अस्पतालको औधषी त जति सेवन गरेपनि वीसको उन्नाइस हुदैन । बरु प्रतिक्षा गर्दा गर्दा आशाको डोरी चुडिसक्छ तर रोग विसेक हुने कुनै छेकछन्द आउदैन ।अनि विवश भएर धामीको शरणमा पुग्नु पर्दछ । ढीलो चाडो रोग निदानको लागि पहल गरिन्छ । केही राहत पनि मिल्दछ ।

यी घरगाउँमा आउने भूतभन्दा पनि वीसौं गुणा भएङ्कर अर्को भूतसभाको पो डर लागिरहेछ । संविधान बनाउनका लागि भनेर दुई वर्षको अवधि दिएर सभाषद्हरूलाई निर्वाचित गरेर नेपाली जनताहरूले पठाएका थिए । आफ्नो आयुको वास्ता नै नगरिकन संविधान बनाउनुभन्दा पनि खाली सत्ता लोलुपतामा लागिरहे । “जसको निम्ति गोठ बनायो उसको पुच्छर बाहिर “भने झै संविधान बनाउनुको सट्टा आफ्नो शक्तिको प्रदर्शनमन व्यस्त रहे । “जब पर्यो राती कानी बूढी ताती “भने झै संविधानसभाको म्याद सकिने दिनको पनि अन्तिम घडीमा आएर भ्याइ नभ्याइकन रातविरात संविधान बनाउन दत्तचित्त लगाएर नेपाली जनताका आँखामा छारो हाल्ने दुस्साहस गर्थे । दुई वर्षको आयु सकिएर पनि अर्को दुई वर्ष भूत भएर नेपाली जनता देश समयलाई तर्साइरह्यो। सम्मानित सर्वोच्च अदालतले मरेर पनि भूत भएर पनि पुःन मरिसक्यो भनेर घोषणा गरिसक्यो । आफ्नो आयु भरी त जगजगी गरेर नेपाल जस्तो पूण्य भूमिलाई अधोगति तर्फ धकेल्न निकै ठूलो भूमिका निर्वाह गरे । अब त मुलुकले मुत्तिको बाटो अवलम्बन गर्लान् भनेको त पुःन ६०१ भूतहरू हामीहरू बीच फेरि व्यूझिनु पर्छ भन्दै सरसल्लाह पो गर्न थालेकाछन् ।यस्ता कुरा सुन्दा आम नेपाली जनताका मनमा कस्तो भावनाहरू उब्जिएलान् । लाजसरम पचेका भूतहरू फेरि पनि जागाजोति भएर नेपालमा मोजमस्ती गर्न लालयित छन्, खबरदार यस्ता कुचेष्टा गरेमा नेपाली जनताले कदापि क्षमा दिने छैनन् । किनकि आयु सकिएको वायुले जे पनि गर्न सक्दछन् । प्यारो देश र नेपाली जनताको पीर चिन्ता भएको भए आफैले मागेको समय सीमा भित्र संविधान बनाएर नेपाली जनताका हात हातमा नयाँ संविधान पुर्याइसक्थे तर खै  माछा माछा भ्यागुतो ”भने झै भयो । संविधान आँउछ आँउछभन्दा भन्दै आखिरमा हात लाग्यो शून्य भयो ।

भूतसभा पुनः व्यूँतिए भने यिनीहरूले जे गर्न पनि पछिपर्ने छैनन् । देशकै अस्तित्व खतरामा पर्न लागेको अवस्थामा पनि सत्तामा जाने र झण्डावाल पजेरोमा चढेर रवाफ र शानका साथ हिड्न पल्केकाहरू सधैं त्यसैको लोभमा जे जस्तो वाचा कसम पनि चुकाउन पनि पछि पर्दैनन् । भूतहरूलाई के को लाज के को सरम ? एकैछिनमा काटाकाट गरुला झै गरेर वाक युद्घमा उत्रन्छन् । फेरि घाँटी जोडेर एउटै कार्यक्रममा उद्घाटन गर्न पुग्छन् । हुनसम्मको नाटक देखाउछन् । सत्ताको भागबण्डा नमिलेमा घुक्र्याउछन्, दंग्याउछन् । आखिरमा मिलेर सहकार्य पनि गर्नपछि पर्दैनन् । पार्टी फुटाएर रुखमा ऐँजेरु पलाए झै पलाउन पनि पछि पर्दैनन्.। यिनीहरू माथि कुनै पनि कुरामा विश्वास गरिहान्नु हुदैन । धोका माथि धोका दिन सक्छन् । त्यसैले समयमा नै सचेत भएर रहनु आवश्यक छ । कुनै पनि हालतमा भूतसभा बनाउन दिनु हुदैन ।

पूर्वको भूत, पश्चिमको भूत, उत्तरको भूत दक्षिणको भूत चारै दिशाको भूत भेला भएपछि त के चाहियो र कोभन्दा को कम र? पूर्वेलीहरू भन्छन् अरुण पूर्वका भागको छट्टै राज्य हामीलाई चाहिन्छ । हामीहरूले ल्याएका प्रस्तावहरू सही छन् । समय सान्दर्भिक छन् भन्दै अडानमा बस्ने गर्छन् । पश्चिमेलीहरू पनि हामीले नेपाली जनताका सही मागलाई ल्याएका छौ त्यसैले हाम्रो प्रस्तावलाई पारित गरिनु पर्दछ भन्दै अडानमा बस्छन् । समयले मागेको नेपाली जनताका सही सम्बोधन गरिएको आगामी दश वर्षमा नेपाललाई समुन्नत विकास गरी विश्वका अति विकसित मुलुकको दाँजोमा अग्रपंक्तिमा ल्याउने किसिमको छ त्यसैले हाम्रो मागलाई अक्षरश पास गरिनु पर्छ भन्दै मोर्चावन्दी बन्दछन् दक्षिणका भूतहरू । नत्र त सदनबाट सडकमा,जनता माझ गएर सदन अवरुद्घ गर्न पनि पछि पर्ने छैनन् । उत्तरी दिशाका भूतहरू झन् के कम र । हामी त हिमालको चिसो हावा खाएर, हजारौं हजार किसिमका जडिबुटीका वासनादार हावापानीमा हुर्किएको मानिस हौँ । स्वच्छ वातावरणमा हुर्किएकाको मन पनि एकदम कञ्चन छ कुनै छलकपट छैन । त्यसैले हाम्रो प्रस्तावलाई केही पनि थपघट नगरिकन समेटिनु पर्दछ । हामीहरूलाई हिमाली राज्य छुट्टै चाहिन्छ । भनेर एक आपसमा बाझाबाझ गर्न पनि पछिपर्ने छैनन् ।त्यति मात्र हो र थुम्की नै पिच्छेका भूत छन् । जातै पिच्छेका भूत छन् । भाषैपिच्छेका भूत छन् । पार्टी भित्र पनि फरक फरक विचार बोक्ने भूतहरू छन् । हरेक भूतका आ–आफ्नै मागहरू छन् ।

नेपाललाई ससाना राज्यहरूमा टुक्रा टुक्रा पारेर सत्यानास पार्न बेर लगाउँदैनन् । यी लाजसरम पचाएका भूतहरूले । त्यसैले कुनै पनि हालतमा भूतहरूलाई चलखेल गर्ने अवसर प्रदान गर्नु हुदैन । राष्ट्र, राष्ट्रियता र नेपाली जनताका लागि जस्तै मूल्य चकाउनु परेपनि, ज्यानकै बाजी लगाउनु परेपनि पछि पर्नु हुदैन । नेपाली जनताका अगाडि अब परीक्षणको घडी आएको छ । होस पुर्याएर काम गर्नु पर्नेछ । कुनैपनि हालतमा भूतसभा व्यूतीन दिनुहुदैन ।

।।समाप्त।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *