Skip to content

रमेश सायन

RajanShayan

नारायणी जीवनको गतिमा बग्छ

  • by

नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको छ । वारीपारि डुंगा तैरिहेका छन् । माछा मार्ने केही ठिटौलेहरू स्कुल पोसाकमै अइपुगेका छन् । केही थारु सुन्दरीहरू नदी किनारमा तैरिहेका छन् । पानीमा पौडिरहेको घाम कुनै शब्दसँग नसमेटिनेगरि कामुक उत्तेजनामा छ । सिंगो नारायणी रातो रगंमा पोतिएको छ । केही पानी हाँस र बकुल्लाहरू घामको रंग चोर्न आइपुगेका छन् । पारी चितवनको जंगलमा चराहरूले लुकाइरहेको एउटा कुमारी संगीत नारायणीमा पौडिदैछ । म डुंगामा उभिएर कविहरू सम्झिरहेको छु ।

खुसीका विम्वहरू

  • by

म घरको कौसीमा उभिएको छु र, आँखा आकासमा टाँगिदिएको छु । आकास प्रायः निलो छ कतै कतै टाटाटुटी बादल मैले जे कल्पना गर्यो त्यही आकार भएर आकासै आकास दौडन्छ । सुन्दर फूलहरूको वगैँचा, सेतो हिउँको पहाड, खेतका कान्ला, पाखो बारी, साहुको अनुहार, बादलले आकासको पिठ्युमा बोकेर दौडिरहेको छ । रमाउन किन धेरै बाहाना चाहियो र ? म यिनै बादलका हजार अनुहारमा हराई रहेको छु । आज औधी रमाईलो लागेको छ । यसपाला पनि नबिराई ऋतुमा वसन्त आईपुग्यो, रुखका आँगामा पालुवा पलायो । आरुका बोटहरू उन्माद बैँसमा फुले । पोहोर पनि फुलेका थिए । हुन त यी बोटहरू मैले थाहा पाउँदादेखि नै फुलिरहेका छन् । यी रुखहरू हतपत बुढा हुँदैनन् वा बुढा भएर पनि फुलिरहनु यिनीहरूको भाग्य हो । बिहान हरिलाल ठाकुरको सैलुङमा, सेताम्मे कपालमा, कालो पोलिस लगाईरहेको, त्यो छिमेकी सरकारी हाकिम यी आरुको बोटका बैँससँग कति ईर्ष्या गर्दो हो म मनमनै कल्पना गर्न सक्छु ।