खुसीका विम्वहरू

  • by


म घरको कौसीमा उभिएको छु र, आँखा आकासमा टाँगिदिएको छु । आकास प्रायः निलो छ कतै कतै टाटाटुटी बादल मैले जे कल्पना गर्यो त्यही आकार भएर आकासै आकास दौडन्छ । सुन्दर फूलहरूको वगैँचा, सेतो हिउँको पहाड, खेतका कान्ला, पाखो बारी, साहुको अनुहार, बादलले आकासको पिठ्युमा बोकेर दौडिरहेको छ । रमाउन किन धेरै बाहाना चाहियो र ? म यिनै बादलका हजार अनुहारमा हराई रहेको छु । आज औधी रमाईलो लागेको छ । यसपाला पनि नबिराई ऋतुमा वसन्त आईपुग्यो, रुखका आँगामा पालुवा पलायो । आरुका बोटहरू उन्माद बैँसमा फुले । पोहोर पनि फुलेका थिए । हुन त यी बोटहरू मैले थाहा पाउँदादेखि नै फुलिरहेका छन् । यी रुखहरू हतपत बुढा हुँदैनन् वा बुढा भएर पनि फुलिरहनु यिनीहरूको भाग्य हो । बिहान हरिलाल ठाकुरको सैलुङमा, सेताम्मे कपालमा, कालो पोलिस लगाईरहेको, त्यो छिमेकी सरकारी हाकिम यी आरुको बोटका बैँससँग कति ईर्ष्या गर्दो हो म मनमनै कल्पना गर्न सक्छु ।

बतासले एउटा मिठो वास्ना मेरो नाकैसम्म ल्याएर हुल्यो । मेरो ध्यान बादलबाट वास्ना तिर सर्यो । मेरो आनन्दमा एक ईन्च पनि कमि भएको छैन । आरुका फूलहरू वतासले भूँईतिर खसाल्यो, अलि पर पर उडायो, कुनै कुनै फूल मेरै टाउकोसम्म आएर अडियो ।

ठिक यो बेला, म नेपाल घुम्न आएको ईटालियन पर्यटक लुकालाई सम्झन्छु । उसले सबैभन्दा धेरै हाँस्न जानेको हुनु पर्छ, हरेक बहानामा रमाउन जानेको हुनुपर्छ, दोलखाको जिरी हुँदै लुक्ला तिर दौडिरहेको त्यो २१ वर्षे ठिटो, हेर्दा लाग्छ, यो मान्छे हाँसेरै जिन्दगी बिताई दिन्छ । आरुका फूल, गुराँसका बोट, पाखो बारी, सल्लाका वन, डोको, ढाकर, भरिया, उकालो ओरालो जे देखे पनि बेस्मारी रमाएर हाँस्छ । चरिकोटमा सस्तो होटल खोज्दै आई पुगेको ऊ, म बसेकै होटलमा आई पुगेछ । त्यसपछि केही घण्टा लुकासँग गफिएको छु । बिहानै मलाई उठाएर बजारभन्दा अलि परको पाखो बारीमा लिएर गयो । आरुका फूलहरू देखायो र बेस्मारी हाँस्यो, म आरुका फूलहरू देखेर त हाँसिन तर उसको हाँसोमा थोरै लय मिलाउन हाँसें । केही बेरपछि फर्कंदा उसले भन्यो “तँ हाँस्न त राम्ररी जान्दैनस् जिन्दगीमा कहाँ नेर भेटाउँछस् रमाईलो एक पाईला समय ।”

ऊ फेरि सिङ्गो पहाड उठेर उहीसँग दौडिहाल्ला झैँ गरी बेस्मारी हाँस्यो ।

खुसीका विम्वहरू अनेक हुन्छन्, लुकासँगै अर्को एक खुसीको पात्र सम्झन्छु काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीको किनारा, उमेरमा पैंतीस कटेको हुनुपर्छ, नाम बिर्सें अहिले, तर अनुहारको स्ट्रक्चर आँखाको भित्तामा जीवित छ । पाखो बारीले उनको परिवारको पेट आधा वर्ष पनि जिम्मा लिन सक्दैन, लोग्ने अपाङ्ग छ । दुई ओटी छोरीले मनखुसी विहे गरे । अझै तीन ओटी छन् जसलाई समयले वैँससम्म धकेलेको छैन नत्र उनीहरू पनि अगुवा दिदीहरूले जस्तै दौडिसक्थे होलान् । तर पनि उनी खुसीको एक प्रतिनिधि पात्र हुन् । पिठ्यूँमा साहूको ठुलो भारी छ, निदारमा पसिना, पैतलामा थकानको गति तर ओठमा ठुलो हाँसो, अनुहारमा कतै देखिदैन दुःखको मसिनो धक्रोसम्म । कुनै गुनासो छैन जिन्दगीसँग । कतै छैन दुःखको भर्याङ । लाग्छ यो इन्द्रवती पारिको क्षितिजभन्दा माथि उनको कतै सपना छैन । पाँच ओटी छोरी जन्माउदा, कुनै दिन लोग्नेले पकाएर खान दिन सकेन । दुबै हात नचल्ने लोग्ने छ । उनी भन्छिन “सुत्केरी हुँदा आफैले उठेर ढिडो मस्काएर खाँए । अहिले लोग्नेको भत्ता आउँछ । अरुका लोग्नेले स्वस्नी कुटेको देखेको छु तर मेरो लोग्ने त ठुलो वचनले पनि बोल्दैन, मया गर्छ, बनि बुतोले लोग्ने र छोरा छोरी पालेको छु अरुका लोग्ने कमाउन निस्कनछन् । म आफै कमाउन निस्कन्छु । अरुले स्वस्नी पाल्छन म लोग्ने पाल्छु । अरु केही नपाए पनि मैले माय गर्ने लोग्ने पाएको छु । मलाई दुःख कहिल्यै लाग्दैन ।”

उनी फेरि बेस्मारी हाँसेर उकालो लागिन ।

म यो कौसीबाट यी दुई पात्रलाई लागातार सम्झिरहेको छु ।

फरक भूगोल, फरक संस्कारका, यी दुई पात्र खुसीका प्रतिनिधि हुन । लाग्छ वुद्धले यी दुई पात्र उनकै पालामा भेटेका भए, “मान्छे किन दुखि हुन्छ ?” भनेर कारण खोज्ने थिएनन् होला ।

कहिले काहीँ शहरभन्दा बाहिर दौडदा, खुसीमात्रै बाँच्ने पात्र भेटिन्छन् । उनीहरूको दुःख भुङ्ग्रो मै लुग्छ र जिन्दगी सेकाउने राप मात्र बाहिर निस्कन्छ । सहरमा चाहि जिन्दगी सेकाउने राप भित्र र चिसो खरानी बाहिर ।

सम्झन्छु सहर भनेको सपनै सपनाको आकास हो । खाली खुट्टा हिड्दा हिड्दै, सपिङमहलमा सोकेस भित्र सझाईएको जुत्ताको कल्पना हो । यहाँ खुसीको विम्व भेटिन्न, रहरको भूगोल हुन्न । यहाँ आफ्नो बाटो हुन्न, जस्तो बाटो छ उस्तो आफु हुनुपर्छ ।

मैले पछिलो पल्ट केही नयाँ सहरिया साथीहरूको सँगत गर्न पाएको छु । कोही यतै हुर्केका हुन् । कोही हुर्के र यता आएका हुन् जसलाई यो सहरले निरास बनाएको छ र जिन्दगी सामान्य बाँचेर मात्र सक्नतिर लागेकाछन् । प्रायः बेरोजगार छन् । समय कसरी विताउने भन्ने कुरामा मात्र चिन्ता गरि रहेकाछन् । ती साथीहरू चोकमा अबेरसम्म बसेर आफुले सकेको सैलीमा गफ गर्छन् । जागिर खोज्दा खोज्दै थाकेका अनुहारमा थेतरो पना मात्र छ । कोही त लागु औषद्यको प्रयोगमा मज्जैले फसेकाछन् । सबै पढेलेखेकाहुन । उनीहरूको सपनाको सिमाना छैन । एक बिसाल आकास नापी हिड्ने चराहरू जस्तै आफुले सकेको भूगोल नापि हिड्ने पैतला मात्र छ उनीहरूसँग । रहरको अदिम ज्वाला छ । मैदान जस्तै फाटिलो जोस छ, जाँगर छ, तर पनि निरास छन्, हतास छन् । ऐना अगाडि उभिन्छन् र आफ्नो उमेरको हिसाब गर्छन सकिन अव केही वर्ष मात्र बाँकी छ ।

म कौसीमै छु । एक जोडी चराहरू मेरो टाउको माथिबाट आँखाले देखुन झेलसम्म उडिरहे । लाग्छ यी चराहरू मान्छेलाई प्रेम सिकाउन उडिरहेकाछन् । घाम रातो रगंमा बदलिन खोज्दै छ । चिसो त्यति छैन । यो वसन्तको घाम मेरो जिउ छामेर ओरोलो खस्ने अन्तिम तयारीमा छ ।

म कौसीबाट ओर्लन्छु र फेरि लुकालाई सम्झन्छु । केही दिन अगाडीदेखि लुकासँग अनलाईनमा खुसीका कुरा र रमाउने अनेक तरिकाको विषयमा गफ भैरहेको छ । आज पनि अफलाईन मेसेजमा लुकाले लेखेको रहेछ । “भ्रम पनि मिठो हुन्छ, एउटा सुन्दर कल्पना जस्तो, देख्दा देख्दैको सपना जस्तो । रमाउने तरिका फरक हुन्छ, खुसीहुने बाहाना अनेक हुन्छन् । रमाउन जान्नु पर्ला, हेरि रहे बादलमा पनि आफ्नो अनुहार भेटिएला, दोडदा दौडदैको मोटरको धुवा, घर छेउको पिपलको रुख, हरियो चौर, आफनै घरको धुरी वा गरि गरि आफ्नै देसको नक्सा आदी आदी बादलमै पनि भेटिएला । यो बादलसँगको भ्रममा पनि आन्नद छ । सुदुर जीवनको कल्पना, लोभ लाग्दा सपनामा पनि सोन्दर्यता छ । सायन तेरो देसमा रमाउने हजार बाहानाछन् रमाएर हेर ।”

अघि म कौसीमा बादलसँग त्यतै हराई रहेको थिए । अहिले ठ्यक्कै लुकाले त्यहि भावको मेसेज पठाएछ । मैले लुकाबाट हिजो अस्ति नै यो कुरा सिकेको हुँ या मैले आफैले जानेको हुँ ? जे होस रिप्लाईमा लेख्छु “लुका तँ मेरो देसको सोन्दर्य देखेर सम्झि सम्झि हाँस, म तलाई सम्झेर, हा……. हा……..।”

रमेश सायन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *