Skip to content

टंक प्रसाद घिमिरे

रक्सीको मात,गजल अनि प्रेयसी

रक्सीको मात,गजल अनि प्रेयसी ।
मधहोशी रात गजल अनि प्रेयसी ।।

चढ्दो नशा यो मेरा यी अङ्ग अङ्ग ।
नशालु साथ,गजल अनि प्रेयसी ।।

झुम्म झुम्म नशामा यौबन बोल्दछ ।
त्यो मीठो बात,गजल अनि प्रेयसी ।।

गुलाफ झैं फक्रिएकी मस्त बैंशले ।
निस्ठुरी हात,गजल अनि प्रेयसी ।।

खाओ नेता हो,खाओ पालैपालो खाओ

खाओ नेता हो,खाओ
पालैपालो खाओ
लुछाचुँडी गर्दै खाओ
कहिले लडेर खाओ
कहिले बढेर खाओ
कहिले चढेर खाओ
कहिले सडेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

मेची खाओ,कोशी खाओ
सेती,काली,राप्ति खाओ
गण्डकी झन सिंगै खाओ
छानी छानी,एक एक गर्दै
पालैपालो जम्मै खाओ
कहिले सुतेर खाओ
कहिले उठेर खाओ
कहिले बसेर खाओ
कहिले नाचेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

तराई खाओ,मधेश खाओ
हिमाल अनि पहाड खाओ
सक्छौ भने सगरमाथा
शिरै देखिसबै खाओ
नराख है केहि पनि
कोचीकोची सबै खाओ
कहिले उडेर खाओ
कहिले गुडेर खाओ
कहिले चुँडेर खाओ
कहिले खुँडेर खाओ
खाओ नेता हो,खाओ
पालैपालो खाओ ।

निर्दयी तिमी

कहिले वारी मनभित्र कहिले पारी मनभित्र
पालैगरि वारिपारी दुबै मनभित्र बसी
मीठा सपना बुन्दा बुन्दै
च्वास्स घोच्यौ मुटु माझ
अनि सोध्यौ निर्दयी भई–दुख्न न त दुखेन नी!
मुस्कुराउदै मैले भनें–अहँ छैन कत्ति पनि!

फूललाई हेरे डाह गर्थ्यौ,कर्के आँखा लगाई हेर्थ्यौ
मेरो मोह फूलतिर सर्ला कि झैं भन्ने गर्थ्यौ
भन्दा भन्दै नजिक गई फक्रिएको फूल चूँड्यौ
अनि सोध्यौ निर्दयी भई–ओईलिएर मर्दैन नी!
मुस्कुराउँदै मैले भनें–अहँ मर्दैन यो कहिल्यै पनि!

इन्द्रेणीका सातै रंग चोरी ल्याइदेउ भन्यौ तिम्ले
ल्याइदिएँ जसैगरी
संगीतका सातै सुर पनि ल्याइदेउ भन्यौ तिम्ले
ल्याइदिएँ उसैगरी

प्रीय,केही त बोलन

प्रीय,
केही त बोलन
मनका कुरा केही त खोलन
चकमन्न अँधेरी झैं,चुपचाप उदासी झैं
तेस्सै तिमी नबस न
प्रीय,केही त बोलन
मनका कुरा केही त खोलन

आउन मेरो छेउमा बस
सपनाका कुरा गर
अनि मीठा मीठा ती उमंगका कुरा गर
सुनसान मझेरी झैं,चुपचाप बेहोशी झैं
तेस्सै तिमी नबसन
प्रीय,केही त बोलन
मनका कुर केही त खोलन

बिराएको भए मैले नानाभाँती गाली गर
अझै केही नपुगेमा मनका कुण्ठा खाली गर
तर बिन्ति प्रीय
मुहार त्यो रिस्साए झैं
अझै तिमी नबस न

प्रीय,केही त बोलन
मनका कुरा केही त खोलन ।।

मेरो आफ्नै समयको देहवसान

कहिलेकाँहि यस्तो पनि आँउछ समय
नदेखिने दृश्यहरु अचानक
आँखाका डील-डीलसम्म
चलायमान-छिर्दै निस्कदै गर्छन्
अनि फेरि कहिलेकाँहि
नसुनेका ध्वनीहरु अचानक
थर्किएर बज्रन्छन् मन्दिरका घण्टहरु झैं
बिचरा!मेरा आँखाहरु!
बादलका बाक्ला कुहिराहरुले घेरिन्छन्
अनि अचानक समय पोखिन्छ छल्किएर
म भित्रका ध्वनीहरु जुर्मुराउँछन्,चलमलाउँछन् बारम्बार
तर म निष्प्राण झैं उभिएर
हेरिरहन्छु त्यो समय जो छताछुल्ल पोखिएको छ
फेरि कहिलेकाँहि
यस्तो भईदिन्छ
समय जो आँफै संघिन बनेर
मृत्युसँग जुद्दाजुद्दै
अशक्त र कमजोर भएको बिरामी झैं
लमतन्न परिदिन्छ
म निर्लज्ज उभिएर
हेरिरहन्छु त्यो समय जो अशक्त छ

जब तिमी आकाश बन्यौ

जब,
तिमी आकाश बन्यौ
म पहाड बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
तिमी फैलियौ बिशाल त्यो शुन्यतामा
म बादल बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
सुगन्ध बनेर फैलियौ जब तिमी त्यो बागमा
म फुल बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें

तिमी बदलिने र फैलिने
अनि म
तिमीलाई छुने मीठो यस्तो लुकामारीको खेल चल्दाचल्दै
उत्तिखेरै सपना बनेर फैलियौ तिमी
मेरो कल्पनामा
म आँखा बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें

जब तिमी आकाश बन्यौ
म पहाड बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें।।

एक हुल मेरा सपनाहरु

एक हुल मेरा सपनाहरु फर्किए
आँखाका डील मुन्तिर आई
थकानका सुस्केराहरु हाल्दै
मनका सिरानीमा सुस्ताए
मैले नजिक गएर तिनका गोडाहरु सुम्सुम्याएँ
र देखेँ-यात्राका बर्गेल्ति चिन्हहरु टाँस्सिरहेका
थकानका पदछापहरु चलमलाइरहेका
मैले सम्झिएँ-केहि समय अघि मात्र
तिनै एक हुल सपनाहरु मनको आकाशमा उडाएको
अनि ति सपनाहरु अनगिन्ति मेरा आशाहरु बोकेर
पंख फिंजाई एकसाथ उडेथे
मैले उत्सब मनाएथें
अब ति अँध्यारा बाटाहरु उज्याला देखिनेछन् भनेर
तेस्सै तेस्सै मन फुरुङ भए झैं
नाँचु-नाँचु झैं,गाऊँ-गाऊँ झैं
पलपलमा प्रफुल्लित हुनथालेकोथें म
किन पो नहुनु
मेरा एक हुल सपनाहरु उड्दै थिए
माथि माथि धेरै माथि

साँझ बत्ती बलेको घर

पारी डाँडा साँझ बत्ती बलेको घर मेरो हो
छानाभरि दु:खहरू फलेको घर मेरो हो

टालिएको छानो अनि टालिएकै भित्ताहरू
हिँउद् बर्षा पानीहुरी छलेको घर मेरो हो