जब,
तिमी आकाश बन्यौ
म पहाड बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
तिमी फैलियौ बिशाल त्यो शुन्यतामा
म बादल बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
सुगन्ध बनेर फैलियौ जब तिमी त्यो बागमा
म फुल बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
तिमी बदलिने र फैलिने
अनि म
तिमीलाई छुने मीठो यस्तो लुकामारीको खेल चल्दाचल्दै
उत्तिखेरै सपना बनेर फैलियौ तिमी
मेरो कल्पनामा
म आँखा बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें
जब तिमी आकाश बन्यौ
म पहाड बनिहेरें
तिमीलाई छुने निरर्थक प्रयास गरिहेरें।।