मेरो आफ्नै समयको देहवसान

कहिलेकाँहि यस्तो पनि आँउछ समय
नदेखिने दृश्यहरु अचानक
आँखाका डील-डीलसम्म
चलायमान-छिर्दै निस्कदै गर्छन्
अनि फेरि कहिलेकाँहि
नसुनेका ध्वनीहरु अचानक
थर्किएर बज्रन्छन् मन्दिरका घण्टहरु झैं
बिचरा!मेरा आँखाहरु!
बादलका बाक्ला कुहिराहरुले घेरिन्छन्
अनि अचानक समय पोखिन्छ छल्किएर
म भित्रका ध्वनीहरु जुर्मुराउँछन्,चलमलाउँछन् बारम्बार
तर म निष्प्राण झैं उभिएर
हेरिरहन्छु त्यो समय जो छताछुल्ल पोखिएको छ
फेरि कहिलेकाँहि
यस्तो भईदिन्छ
समय जो आँफै संघिन बनेर
मृत्युसँग जुद्दाजुद्दै
अशक्त र कमजोर भएको बिरामी झैं
लमतन्न परिदिन्छ
म निर्लज्ज उभिएर
हेरिरहन्छु त्यो समय जो अशक्त छ
जसका हातगोडाहरु काँपिरहेकाछन्
अनि निष्प्राण झैँ शरीर हुत्तिन्छ बेगले
र बज्रीएर ढल्छ भूईँमा
तर यन्त्रवत एक रमिते म,
बिचरा समय!
कुनै बेलाको मेरो आरोह-अबरोहको सहयात्री
मेरो जीबन्त कथाको सहपाठी
आज आँफै यात्राबिहिन भई,प्राणबिहिन भई
अचेत लडेको छ
निष्प्राण मेरा अघि
तर म अझै हेरिरहेछु निर्लज्ज
मेरो आफ्नै समयको देहवसान।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *