एक हुल मेरा सपनाहरु फर्किए
आँखाका डील मुन्तिर आई
थकानका सुस्केराहरु हाल्दै
मनका सिरानीमा सुस्ताए
मैले नजिक गएर तिनका गोडाहरु सुम्सुम्याएँ
र देखेँ-यात्राका बर्गेल्ति चिन्हहरु टाँस्सिरहेका
थकानका पदछापहरु चलमलाइरहेका
मैले सम्झिएँ-केहि समय अघि मात्र
तिनै एक हुल सपनाहरु मनको आकाशमा उडाएको
अनि ति सपनाहरु अनगिन्ति मेरा आशाहरु बोकेर
पंख फिंजाई एकसाथ उडेथे
मैले उत्सब मनाएथें
अब ति अँध्यारा बाटाहरु उज्याला देखिनेछन् भनेर
तेस्सै तेस्सै मन फुरुङ भए झैं
नाँचु-नाँचु झैं,गाऊँ-गाऊँ झैं
पलपलमा प्रफुल्लित हुनथालेकोथें म
किन पो नहुनु
मेरा एक हुल सपनाहरु उड्दै थिए
माथि माथि धेरै माथि
बर्गेल्ति मेरा आशाहरु बोकेर
एक लक्ष्य भेट्न,एक आकांक्षा चुम्न
म रम्दै थिएँ,म झुम्दै थिएँ
मेरा ति लक्ष्य र आकांक्षाहरु पाउने आशमा
तर
एकाएक,हेर्दाहेर्दै
ति एक हुल मेरा सपनाहरु फर्किए
आधा आकाश पनि नछिचोली ति फर्किए
एक पछि अर्को,अर्को पछि अर्को
लामबद्द भई ति फर्किए
हेर्दाहेर्दै मेरा उत्सवहरु सकिए
नाच्दै गरेका मेरा गोडाहरु रोकिए
गाउदै गरेका कण्ठहरु थरथराए
ढुङ्गा झैं गह्रुङ्गो भो मन
आशाहरु सकिए,लक्ष्यहरु बिलाए
अकस्मात म झस्किएँ र हेरेँ
नजिकै सुस्ताएका मेरा एक हुल सपनाहरु
जसका पंखहरु चोटिल थिए ।।
