परदेश
शीर माथि राखी दिने हात हुँदैन परदेशमा
चौतारीमा बसी मिठो बात हुँदैन परदेशमा |
कामै काममा उस्तै लाग्छन बित्ने चारै प्रहर
बुझ्न सकिन आफैले मेरो बाध्यता कि रहर ||
सिरेटोले सुसेलिने प्रभात हुँदैन परदेशमा
झ्याउंकिरिको किर्कीट साथको साँझ हुदैन परदेशमा |
असारमा हिलो छ्याप्दा बैँश झन् मातिन्थ्यो
धानको बाला झुले संगै माया गासिन्थियो ||
ति दिनका झल्को दिने मात हुँदैन परदेशमा
दुख सुख बुझिदिने साथ् हुदैन परदेशमा |
कठोर श्रम भए पुग्छ मुल्य पा’को चुकाउन
मन दुखे पनि हस्नै पर्छ दुख लुकाउन ||
मन राख्ने सान्तवनाका खात हुँदैन परदेशमा
मानवता देखाउने दयालु जात हुँदैन परदेशमा |
