कुलचन्द्र वाग्ले
विद्वेषविरुद्ध साहित्य
नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग कुमजोरी खेल्न सक्ने भएको मानिन्छ हाम्रो नेपाली साहित्य । गरिवका विषयमा लेखेको छ, अमिर र फकिरहरू पनि यो साहित्यमा भेटिन्छन् ।
साहित्यमा श्रम विषय
साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ ।
साहित्य र राजनीति
नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।
