Skip to content

प्रमोद ढुंगाना

याद ताजा भो

सुकेका फूल किताबका पत्रमा देखेर याद ताजा भो
समयले कुल्चिएर थोत्रिएका पाना देखेर याद ताजा भो

आधा उघारिएको त्यो झ्यालमा आँखा टाँस्नु
एकझल्को पाउन उनको बाटोको पर्खालमा बस्नु
उनी हिँड्ने बाटोमा ओहरदोहर गर्ने त्यो बेफुर्सदिलो पल
जीवनको यात्रामा कतै छुटेको त्यो अमूल्य पल
धमिलो धुलिएको तस्विर पुरानो देखेर याद ताजा भो
समयले कुल्चिएर थोत्रिएका पाना देखेर याद ताजा भो

आँखाभरि

पर्खाइ छ आँखाभरि रुवाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि

धेरैपल्ट झस्काई हिँडे बाटो हिँड्ने बटुवाहरू
कैयौंपल्ट झुक्याई हिँडे उस्तै लाग्ने मुहारहरू
रित्तै हिँडे आँखा मेरा बिझाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि

आज मन उडेर भाग्छ

आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ
उनकै नजिक जाऊँ
उनीसँगै माया लाऊँ

यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पंक्षीभन्दा चञ्चल छे
स्वर्गकी परीलाई चुलबुले मोरीलाई
अङ्गालोमा बेरिरहुँ एकनाश हेरिरहुँ

PramodDhungana

झुटो बोल्न सक्दिन

तिम्रै मात्र सपना देखेको होइन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

कुनै रात तिमी जून बनेर आएझैँ लाग्छ
मलाई छोएझैँ लाग्छ, मसँगै निदाएझैँ लाग्छ
मैले कहिल्यै बिटुलो सोचिन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

फूलको रङ्गमा

फूलको रङ्गमा जीवनको रङ्ग खोज्छु
मुस्कानको रहस्य म त फूलैसँग सोध्छु
भन्छु सधैँ सिकाइदेउन मुस्कुराउन
जीवनमा पनि यस्तै रङ्ग ल्याउन

किन लाग्छ माया

यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो
न त चोट हुन्थ्यो न त हुन्थ्यो माया
यति मुटु दुख्दा पनि किन लाग्छ माया

खुसीहरू तर्की हिँडे जिन्दगी नै भो अँध्यारो
टुटिसकेको सपना पनि लागिरहन्छ प्यारो
छलुँ भन्छु छलिँदैन पछि लाग्छ छाँया
यति मुटु दुख्दा पनि किन लाग्छ माया

सावधान

जस्तो छ यहाँ त्यस्तै नै चल्छ
यस्तै छ यहाँ यस्तै नै चल्छ
चले पनि चल्छ यहाँ नचले’नी चल्छ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !

जिन्दगी जस्तै हुन्थ्यो

तिमीसँग हिँड्दा यस्तो लाग्छ
पुग्नुपर्ने ठाउँ नआए हुन्थ्यो
यो यात्रा यस्तै चलिरहे सधैँ
जिन्दगी, जिन्दगी जस्तै हुन्थ्यो

भीडका नबुझिने हल्लाभन्दा टाढा
आवाजै आवाजको शून्यताभन्दा टाढा
आफ्नै पाइलाका आवाजहरू सुन्दै
आफ्नै ढुकढुकीका आवाजहरू सुन्दै
हिँडिरहन पाए कस्तो हुन्थ्यो
जिन्दगी, जिन्दगी जस्तै हुन्थ्यो

मान्छेलाई प्रणाम

गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन
कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन
निदाउनेलाई उठ भन्छु, फुट्नेलाई जुट भन्छु
कालो बादल हटाएर आँगनीमा ल्याउन घाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम