पर्खाइ छ आँखाभरि रुवाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि
धेरैपल्ट झस्काई हिँडे बाटो हिँड्ने बटुवाहरू
कैयौंपल्ट झुक्याई हिँडे उस्तै लाग्ने मुहारहरू
रित्तै हिँडे आँखा मेरा बिझाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि
हाँस्नुपर्छ भन्छन् सबै हाँस्ने ओठ मसँग छैन
सबैकुरा सहन सक्ने बरू किन पत्थर भइनँ
लाग्छ मुटु छँदै छैन दुखाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो, थकाइ छ आँखाभरि ।
२०५०/४/९
चावहिल, काठमाडौं ।
