Skip to content

अच्युतरमण अधिकारी

खडे सांसद

  • by

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । त्यसकारण ऊ जनप्रिय छैन तर पनि पहिल्यैदेखि त्यो त्यता, उता र उताबाट धेरैको सेवा गर्दै आएको मानिस हुँदा यसपटकको सुरिलो संसदमा त्यो पनि मनोनित भएथ्यो क्या ! धेरै हत्ते गरेर, साह्रै अत्तो थापेर काले शाहका कलवारहरूलाई खुशी पारी-पारी खाएकै थियो । अहिले मूर्च्छा पारिएको संसद फेरि बौरिएपछि त खडे संसदको दिन पो भएछ गाँठे ! अब त खडे पनि तगडे नै भयो नि होइन र !

देवत्व

  • by

हाँसेको प्रकृतिमा देवत्व हुन्छ । सुन्दर प्रकृति, सुकोमल हृदय मानवीय चेत प्रष्ट पारेर देखाउने देवत्वका प्रमाण हुन् । देवत्व मुस्कुराउँछ विशेष गरी बाल मुस्कानबाट । बाल मुस्कानमा सहज, सहृदयी भाव हुन्छ किनकि ऊ मुस्कानमा मात्र हुन्छ । कपट हुँदैन, उसले झापट पनि दिँदैन । कपट बोकेको कालो अनुहार भित्र राक्षस हुन्छ । राक्षसी प्रकृतिको राजकाजले देवत्व मुस्कान दिन सक्ला तर त्यसभित्र देवत्व हुँदै हुँदैन । हुने, छुने सहज प्रकृतिमा हुन्छन् ।