Skip to content


भैगो, भएन भने भएन ! आजै किन चित्त दुःखाउने ! यस्तो बेलामा हुँदैन त हुँदैन । नभएर के भो त ! आजको समय नै यस्तो छ, आजको भान्छे नै यस्तै छ । अलिकता केही पर्‍यो उल्टोपाल्टो गर्छ । उल्टोपल्टो, गहिरो खाल्टो आजको विशेषता हो । त्यत्रो काम गरिरहेको मानिस कामको सन्दर्भ, कामकै सिलसिलामा केही फरक पर्‍यो, केही पछि पर्‍यो । आउन ढिला भयो भन्ने निहुँ खोजेर हाजिरै हुन नदिने ! यस्तो पनि न्याय हुन्छ त ! तिमी अस्ति तिम्रा मान्छेलाई मार्गदर्शन गर्न जान सकेनौँ, हाकिमले अनुमति दिएन । ठीक छ जागिर खाने मानिस कसैका हैकम र दबाबमा पर्नैपर्‍यो, पर्‍यौँ । आज त खास गल्ती तिम्रो थिएन नि!

आफ्नै काका मर्‍यो, बिहानको रातिदेखि मलामी गएका मानिस त्यो काम सकेर त आउनै ढिला भयो नि ! तैपनि खासै किरिया बस्नुपर्ने भएकाले तिमी आयौ, कामका लागि तयार पनि भयौ तर त्यो भानुलाई कुनै वास्तै नगरी गयल गर्छ भने त्यो हाकिम पनि हाकिम हो त ! भैगो यसको अविवेकलाई ख्याल गरेर काम गर । हाजिर भएन, आज भएन तर भोलिदेखि त भइहाल्छ नि ! यो हाजिर नभएर के भो त आˆनो काम यथावत् छँदैछ । आज निहुँ खोज्यो खोजोस्, हाजिर नभए पनि नहोस् । यस्तो टर्रोखर्रो मिजास, कसैले दिएको नियुक्ति खसोखास ! यस्ता नियुक्तिवालाले काममा त पेल्छन् तर पछि आफैँलाई ठेल्छन् । यिनको अन्याय विद्रोहमा गयो भने यस्तालाई त उल्टाउँछ ।

यस्तै कुरा गर्दै हरिविनोद र चन्द्रेश्वर कार्यालयमा कार्यरत रहे । त्यसैबेला कार्यालयप्रमुख आयो र केही कुरा सुन्यो पनि । उसलाई जङ्गी चल्यो र निकै जङ्गयिो पनि । भनेका बेला हुकुमको हाँगो बढाउन नपाए रकमीको राँको सल्काएर पनि कारबाही गराउने दाउमा ऊ लाग्यो । त्यस दिन एनकेन मिलायो अनि काम चलायो । अर्का दिनको त परिस्थितिलाई नै जलायो उसले । त्यहाँबाट हाकिमका नाताले जे-जस्तो कुरा उठाई सिफारिस गरी पठायो, त्यसले नवीन आतङ्क सिर्जना भयो । अर्को दिन कर्मचारी उठे, विद्रोह चल्यो आखिरमा त्यो उसले चढ्ने गाडी पनि त्यसै जल्यो । सबै भन्थे हाजिर भएन, अहिले त अफिसको केही पनि रहेन । आजदेखि उसले त्यहाँ आउने ठाउँ नै रहेन ।

मधुपर्क पुष, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *