गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव -२
ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खे साइँलो राखेको हुनु सम्भव छ ।
वि.सं. २००९ भाद्र १० गते सोमबार ऋषिपञ्चमीको दिन दिनको २ः३० बजे पिता बोधनाथ लामिछाने माता हिमकुमारी लामिछानेको कोखमा पश्चिम १ नं. नुवाकोट चतुराले गा.वि.स.-४ थर्पुगाउँमा उनको जन्म भएको हो । हाल उनको बसोबास चितवनको भ.न.पा.-४, विशालमार्ग, नारायणगढमा पर्दछ । यतिबेला उनी घरको धुरीमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को बोर्ड टाँगेर तीनपुस्ते बृहद् परिवारका बीच गेट नजिकै शेरजत्रो कुकुर बाँधेर मूलद्वार नेरैको एक कक्ष नेपाली भाषासाहित्यका पुस्तकहरूले भरिभराउ गर्राई तथा भित्ताहरू सहिद र स्रष्टाहरूका तस्वीर एवम् आफ्ना पदक, सम्मान र पुरस्कारले सजाएर अतिथि कक्ष एवम् कम्प्युटर कक्ष समेत त्यसैलाई मानी इमेल-इन्टरनेटसमेत जडान गरेर साहित्य-साधनामा रमाइरहेका छन् ।
