गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव -२


ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खे साइँलो राखेको हुनु सम्भव छ ।

वि.सं. २००९ भाद्र १० गते सोमबार ऋषिपञ्चमीको दिन दिनको २ः३० बजे पिता बोधनाथ लामिछाने माता हिमकुमारी लामिछानेको कोखमा पश्चिम १ नं. नुवाकोट चतुराले गा.वि.स.-४ थर्पुगाउँमा उनको जन्म भएको हो । हाल उनको बसोबास चितवनको भ.न.पा.-४, विशालमार्ग, नारायणगढमा पर्दछ । यतिबेला उनी घरको धुरीमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को बोर्ड टाँगेर तीनपुस्ते बृहद् परिवारका बीच गेट नजिकै शेरजत्रो कुकुर बाँधेर मूलद्वार नेरैको एक कक्ष नेपाली भाषासाहित्यका पुस्तकहरूले भरिभराउ गर्राई तथा भित्ताहरू सहिद र स्रष्टाहरूका तस्वीर एवम् आफ्ना पदक, सम्मान र पुरस्कारले सजाएर अतिथि कक्ष एवम् कम्प्युटर कक्ष समेत त्यसैलाई मानी इमेल-इन्टरनेटसमेत जडान गरेर साहित्य-साधनामा रमाइरहेका छन् । साहित्यको सर्न्दर्भ र प्रसङ्ग लिएर जो कोही उनीसँग भलाकुसारी गर्न सक्ने अचेल उनको घर नै एक साहित्यिक चौतारी भएको छ । पूर्व आसाम दार्जीलिङदेखि पश्चिम महाकालीसम्मका नेपाली भाषासाहित्यका अनुरागीहरू उनको घर साहित्यिक मन्दिर सम्झी प्रवेश गरे आफू पुजारीझैँ बनी प्रसाद खुवाउनमा धन्य हुने उनको परिवारसमेत उनको इच्छा, आकाङ्क्षा र योजनामा रमाइरहेको देख्न सकिन्छ । साहित्यप्रति यति ठूलो सद्भाव र उदारता कुन व्यापारीका घर-आँगनमा देख्न पाइन्छ ।

२०२२ सालमा शान्ति शिक्षा मन्दिर, साउनेपाटी, काठमाडौंमा ‘विद्यार्थीको दुःख ’भन्ने कवितामा प्रथम पुरस्कारबाट पुरस्कृत भएर साहित्यिक लेखनमा प्रवेश गरेका उनी कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षाजस्ता विविध विधामा कलम चलाइरहे पनि विशेषतः गजल लेखन र गजलको सैद्धान्तिक शोधखोजमै बढी चर्चित हुन पुगेका छन् । अहिलेसम्म उनका प्रकाशित कृतिहरूको क्रम यसप्रकार छः

(१)गजलपथका यात्रीहरू (गजलसङ्ग्रह) संयुक्त लेखन, २०६१
(२)गजलबिम्ब (गजलसङ्ग्रह) संयुक्त लेखन, २०६२
(३)सम्मोहन (गजलसङ्ग्रह) २०६२
(४)मुस्कान (सूत्रसहितको बहरमा आधारित गजलसङ्ग्रह) २०६२
(५)सूत्रमाला (सूत्रसहित बहरकै गजलसङ्ग्रह) २०६३
(६)कादम्बरी (सूत्रसहित शास्त्रीय छन्दका कवितासङ्ग्रह) २०६३

ठट्यौलो पारा, खुलस्त चाला, केही हडबड, केही रङ्गीन मिजासका गोर्खे इष्टमित्र, साथीभाइ भनेपछि हुरुक्क हुने गर्छन्, तर कहीँ कसैसँग लोलोपोतो राख्दैनन् । सुखदुःखका सहभागी, अत्यन्त हितैषी र त्यत्तिकै उदार स्वभावका देखिन्छन् । वयस्क उमेरमा पनि बैँसालु तान भर्न सिपालु, आफ्नै हिम्मत र जोशको पाइन देखाउन खप्पिस, गोरो वर्ण चञ्चले नयन, मायालुहरूको सम्झनामा सुसेली हालेझैं झिल्के अनुहार, खुलेको दिधार, जुल्फीले सजिएको निधार, अपरिचितहरूका निम्ति पनि परिचित हुने उत्सुकता जगाउँछन् । उनको त्यो चुम्बकीय व्यक्तित्वले हरकसैलाई छिटो आकषिर्त गर्छ । सानैदेखि साहित्यिक अभिरुचि भए पनि व्यावसायिक व्यस्तता एवम् अनेक झैँ-झमेलाले गर्दा खुलेर लाग्न नपाएको धोको अहिले पूरा गर्न थालेका छन् । उनले विगतमा निकै दुखजिलो गर्नुपरेको थियो, काम र दाम सिलोझैँ खोज्नुपरेको थियो । यो कुरा उनी भावुक भएर बताउँछन् । हातमुख जोर्न कठिनतम सङ्र्घर्ष गर्नुपर्दा वसन्तले पचासौँ पटक पालुवा फेरिसकेको पनि उनलाई पत्तै भएन । मनका भावना मनैमा रहे अहिले भने भावनाका मुना, पालुवा झोलामा बोकेर हिँड्न पाउँदा औधि सन्तुष्ट देखिन्छन् । कहिले कताको गोष्ठी, कहिले केकेको विमोचन, कहिले कसको सम्मान, कहिले कसको आयोजनामा साहित्यिक वनभोजजस्ता कार्यक्रमहरूमा उनलाई जानआउनकै हतारो तथा नियत समयमा आफ्नैकृति र पत्रिका प्रकाशनको चटारो देखिन्छ । यसरी उनको दिनचर्या नै साहित्यमय भएर बितेको पाइन्छ ।

कतै कुनै संस्थाको सदस्य, कतै आजीवन सदस्य, कतै कुनै संस्थाको सक्रिय सदस्य र कतै संस्थापक सदस्य भएर उनले कैयौँ संस्थासँग आफूलाई संलग्न राखेका छन् । उनी आफैंले उल्लेख गरेका साहित्यिक संस्थाको विवरणक्रम यसप्रकार छः

संस्थापक अध्यक्ष– पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितवन
अध्यक्ष– गजल मञ्च – चितवन, भरतपुर, चितवन
आजीवन सदस्य– वाणी प्रकाशन सहकारी संस्था लि., विराटनगर
आजीवन सदस्य– चितवन साहित्य परिषद्, नारायणगढ, चितवन
आजीवन सदस्य– रामेश्वर पुस्तकालय तथा वाचनालय, क्षेत्रपुर, चितवन
आजीवन सदस्य– पर्वत साहित्य सङ्गम, कुस्मा, पर्वत
आजीवन सदस्य– जनमत साहित्यिक मासिक, बनेपा-७, काभ्रे
सदस्य– अभिव्यञ्जना साहित्य प्रतिष्ठान, कविडाँडा, चितवन

साहित्यका साथै अन्य कैयौँ सामाजिक संस्थासँग पनि उनको सम्बद्धता छ । सामाजिक संस्थामा पनि उनी साहित्यिक प्रतिनिधिको हैसियतले सक्रिय भइरहेका देखिन्छन् ।
साहित्यिक गतिविधिलाई तीव्र तुल्याएर साहित्यिक उन्नयनमा समर्पित व्यक्ति भएका कारण उनी केही साहित्यिक संस्थाबाट सम्मानित समेत भइसकेका छन् । यसै क्रममा मितज्यू साहित्य प्रतिष्ठानबाट स्रष्टा सम्मान (२०६३), पिठौली कावासोती नवलपरासीबाट धरा साहित्यिक सम्मान (२०६४), मध्यक्षितिज वाङ्मय प्रतिष्ठान, चितवनबाट मध्यक्षितिज साहित्य सम्मान (२०६३), हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनबाट हाम्रो मझेरी साहित्य सम्मान (२०६५), नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोटबाट महामण्डल साहित्य सम्मान (२०६६) विशेष उल्लेखनीयछन् ।

उनी ‘पल्लव साहित्यिक पत्रिका’का प्रधान सम्पादक एवम् व्यवस्थापक पनि हुन् । आफ्नै अर्धाङ्गिनी मीनमाया लामिछाने एवम् पुत्ररत्न भरतप्रसाद लामिछाने आदिको पारिवारिक सहयोग एवम् अतिथि सम्पादक सीताराम कोइराला प्रभृतिको सहयोग लिएर पल्लव प्रकाशनको सम्पूर्ण व्ययभार आफैँले वहन गरी पल्लव २ अङ्क देखि १५ औँ अङ्कसम्म प्रकाशन गरिसकेका छन् । ओझेलमा परेर रहेका साहित्यकारहरूका सुन्दर रचना एवम् नवउत्साही युवायुवतीका मुना र पालुवाजस्ता कोमल रचना पल्लव पत्रिकामा प्रकाशन गरेर पत्रिकाको पल्लव नामलाई र्सार्थक तुल्याएका छन् ।

पल्लवको प्रथम अङ्क (२०५२) कथाअङ्कको रूपमा प्रकाशित भएको थियो । चौथो अङ्क पल्लव प्रकाशनबाट प्रकाशित हुन थालेपछि यसले साहित्यिक निरन्तरता प्राप्त गर्नुका साथै आकारप्रकारगत स्वरूपमा सौर्न्दर्य, सिर्जनात्मक गुणात्मकतामा विस्तार तथा विषयगत विविधता प्राप्त गर्न थाल्यो । सामयिक अङ्कबाहेक पल्लवको चौथो अङ्क (२०६०) पत्रसाहित्य विशेषाङ्क, छैटौँ अङ्क (२०६०) कथा विशेषाङ्क, आठौँ अङ्क (२०६१) पत्रसाहित्य एवम् प्रतिक्रिया अङ्क, दसौँ अङ्क (२०६२) छन्दोबद्ध कविता विशेषाङ्क, बाह्रौँ अङ्क (२०६३) यौन विशेषाङ्क, तेह्रौँ अङ्क (२०६४) गजल विशेषाङ्क, चौधौँ अङ्क (२०६६) आलोचना विशेषाङ्क, १५ औँ अङ्क (२०६६) नारी विशेषाङ्क विशेषाङ्कका रूपमा प्रकाशित भई पल्लवले आफ्नो गुणगरिमाको प्रभाव फैलाउन थाल्यो । अहिले प्रवासमा समेत पुगेर आफ्नो प्रभाव र पहिचानको प्रतिक्रियासमेत पत्राचारमार्फ् समेट्न थालेको छ । अहिले ँपल्लव साहित्य प्रतिष्ठान’ को मुखपत्र बनेर साहित्यिक गतिविधिको समेत सूचना प्रवाह गरिरहेको देखिन्छ ।

उनले साहित्यिक पत्राचारलाई पनि बढाएका छन् । नव-सिकारुदेखि स्थापितसम्मका पत्रहरू पनि उनका पत्रिकामा प्रकाशित हुने गरेका छन् । मनमा साहित्यिक भावना भएका तर कुनै साहित्यिक विधा पक्री नसकेका अनुभूतिशील भावकका भावनात्मक पत्रहरूलाई पनि उनले आफ्ना पत्रिकामा स्थान दिने गरेका छन् । उनको मूल उद्देश्य नै समाजमा साहित्यिक गतिविधि बढाएर साहित्यकारहरूको मनोबल उच्च राख्नु हो र सुसंस्कृत जीवनशैलीको अनुसरण गर्नु हो । भौतिक ऐस-आराम र विलासिताका वस्तुहरूमा खर्च गर्नुभन्दा सरल र सामान्य रहनसहनमा रही सत्य, शिव र सौर्न्दर्यको मार्ग अवलम्बन गरी साहित्य देवीको पूजा-आराधना गर्नु नै चारधाम गयाकाँशी हो र यही नै जीवनको र्सार्थकता हो । यही सम्झेर उनले कुनै धर्मनिष्ठ व्यक्तिले सप्ताह-पुराण लगाउने लक्षबत्ती बाल्नेजस्तो कार्य उनी साहित्यनिष्ठ भएर पल्लवको वाषिर्की धूमधामसँग मनाउने गरेका छन् । नलाग्नु लागेपछि मरिमेटेर लाग्नु, शीघ्रातिशीघ्र आफ्नो पहिचान बनाउनुजस्ता उनका निजी इच्छा-आकाङ्क्षाले पनि साहित्यका बृहद् कार्यक्रमहरू गर्न अभिप्रेरित गरिरहेका होलान्, तर विवेकशील व्यक्तिका नजरमा उनका ती सत्कार्य नै हुन् भनी सुहृद्जनहरूले त्यस्ता सत्कार्यको अवश्य पनि मनैमन सराहना गरिरहेका छन् ।

हरेकका आ-आफ्ना विशेषता र प्रभावले आ-आफ्नो पहिचान बनाएका हुन्छन् । गोर्खेको पनि आफ्नै एक पन छ, पौरख छ, आफ्नै मेलोमेसो र प्रवृत्ति छ । आफ्नै योजना र सत्कार्यका निम्ति आफ्नै मौलिक उदारता छ । तिनै आफ्ना गुणलाई अघि सारेर उनले आफ्नो पहिचान बनाएका छन् । प्रसिद्ध गजलकार बूँद रानाले उनको यही मूलभूत स्वभावलाई मन छुने गरी गजलमा यसरी उतारेका छन् ः

हृदयको सुन्ने कुरा सुने साइँलोले
बहुमूल्य सूत्रमाला उने साइँलोले ।

आफ्नै ताल आफ्नै पारा आफ्नै मेलोमेसो
सिर्जनाको गोर्खेतान बुने साइँलोले ।

यति अग्लो धूरी चढ्न भ्याए कति बेला
हर घडी आतुरीमा हुने साइँलोले ।

यता छुन्छ उता छुन्छ कुरा बुझे हुन्छ
नजानिँदो गरी दिल छुने साइँलोले ।

गजलमा रुघाखोकी अब लाग्दैन कि
धूलोमूलो छिर्ने दूलो थुने साइँलोले ।

गोरेटोमा लतारिने पाइलाका निम्ति
मूलबाटो फराकिलो चुने साइँलोले ।

करोडौँमा खेल्न अब कुनै बेर छैन
लाखलाई लाखले नै गुने साइँलोले।(बूँद राना)

गोर्खे बाहिर खस्रो व्यवहार देखिए पनि भित्र कोमलताले भरिपूर्ण छन् । साहित्यप्रतिको विशेष लगाव र उदारताबाट प्रभावित भई उनैको स्वभावलाई लक्षित गरी पङ्क्तिकारले पनि उनकै नाममा गजल बुनी अर्पित गरेको छ, जस्तैः

कुवेरतुल्य बनी दान गर्छन् दाइ
साहित्यकै ठूलो सम्मान गर्छन् दाइ

वर्षौपिच्छे पल्लव कुम्भ मेला रची
सत्य शिव सौर्न्दर्यकै गान गर्छन् दाइ

मौकामा नै हीरा फोरी कार्य गर्छन्
जहिले पनि यस्तै धूमधाम गर्छन् दाइ

आफ्नै मौलिक क्षमताको पहिचान राख्न
सकेसम्म योजना महान् गर्छन् दाइ
(पल्लव कार्यक्रम २०६६ असोज २४ को सर्न्दर्भमा)

गोर्खेको पल्लव पत्रिकाबाहेक आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उनले उच्च साहित्यिक मूल्य राख्ने, तर प्रकाशनको स्रोत जुटाउन अर्समर्थहरूका कृति पनि मोतीराम भट्टझैँ बनी आफ्नै खर्चमा प्रकाशन गरेका छन् । यो उनको साहित्यप्रतिको सच्चा सद्भाव हो । उनको संयुक्त कृतिबाहेक पहिलो एकल कृति सम्मोहन (२०६२) गजलसङ्ग्रह हो । मोहित पार्ने वा लठ्याउने अर्थमा सम्मोहनको अर्थ निहित छ । कामदेवका पाँच वाणमध्ये एकलाई पनि सम्मोहन भनिन्छ । सुन्दरीका दुई नजरको आवरणचित्र रहेकाले सङ्ग्रहभित्र शृङ्गारिक भावनाका गजल छन् भन्ने झलक मिल्दछ । हुन पनि गजलभित्र प्रेमप्रणय वा अनुरागका गजलहरूको सरल र सहज गुनगुन छ । विषय वैविध्य र मानवीय संवेदनाले आप्लावित छ । विषय प्रस्तुतिका आधारमा गजलको शिर्षक चयन र्सार्थक छ ।

मुस्कान (२०६२) बहरबद्ध शास्त्रीय सूत्रसहितको गजलसङ्ग्रहको रूपमा दोस्रो कृति हो । यसले पाठकवृन्दबाट अपेक्षा गरेभन्दा बढी माया र स्नेह पाएको तथ्य गजलकार गोर्खे साइँलो स्वयम्ले आत्मकथ्यमा व्यक्त गरेका छन् । गजलकृतिका निम्ति शृङ्गारिकताको झलक दिने ‘मुस्कान’ शिर्षकको प्रयोग र्सार्थक देखापर्छ । सम्मोहनको भगिनीको रूपमा यस कृतिलाई लिनुपर्ने धारणा डा. घनश्याम न्यौपानेले यसै कृतिको भूमिकामा राखेका छन् । यसमा केही गजल प्रणय रागेतर भए पनि अधिकांश गजलहरू प्रणयपरक छन् बहरबद्धतामा आधारित गेयता नै यसको विशेषता हो ।

कवि गोविन्दराज विनोदीका दृष्टिमा ‘गोर्खे साइँलोको मुस्कान गजल वा दीवानमा लयको निकै राम्रो संयोजन पाइन्छ । संस्कृत काव्यशास्त्रका पिङ्गल छन्द र गजलमा प्रयुक्त हुने ‘बहर’ हरूका माध्यमबाट यिनले आफ्ना मनका रसिला-कसिला चाह र आहहरूलाई रमाइलो र मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । यिनको गजलसङ्ग्रह मुस्कान सम्भवतः सूत्रसहित शास्त्रीय छन्दका लयलाई पूर्णतः परिपालन गरिएको नेपाली गजलसाहित्यको प्रथम कृति हो ।’

गोर्खेको तेस्रो कृति कादम्बरी (२०६३) हो । यसमा कवि गोर्खेका विविध छन्दमा रचिएका रचनाहरू सङ्गृहीत छन् । यो उनको छन्दअभ्यासको आरम्भ हो र नवर्सजकहरूलाई छन्दमा अभ्यास गर्न प्रेरणा मिलोस् भन्ने हेतुले प्रत्येक रचनाको अन्तमा सम्बन्धित रचनाको गणसहित छन्दसूत्र पनि प्रस्तुत गरिएको छ । ‘कादम्बरी’ का विभिन्न अर्थ छन् । वाणी, सरस्वती, कोइली, मैना, मदिरा आदि । बहु अर्थ लाग्ने कादम्बरी शब्दको प्रयोग कवितासङ्ग्रहको शीर्षकको निम्ति चयन गरिनु र्सार्थक देखिन्छ । शीर्षकीय वस्तुको बोध आवरणपृष्ठले पनि झल्काएको छ । यसमा गोर्खेले विविध छन्दको प्रयोग गरेर शास्त्रीय छन्दज्ञानको सीमा विस्तार गरेका छन् ।

“मैले बहर (छन्द) मा गजल वा कविताहरू लेख्न कोशिस गर्दा निकै कठिनाइ महसुस गरें । त्यो कठिनाइ म पछिका अनुज भाइबहिनीहरूले भोग्न नपरोस् भन्ने ध्येयले मैले गजल वा कविताहरू लेख्नलाई आवश्यक पर्ने बहर (छन्द) सूत्रहरू विभिन्न पुस्तक-पत्रिकाहरूको अध्ययन गरी आफ्ना सङ्ग्रहहरूमा सकेसम्म समेट्ने कोसिस गरेको छु । मैले आफू गजलकार वा कवि हुनुभन्दा पनि छन्दमा लेख्न खोज्ने नवर्सजक कवि अथवा गजलप्रेमी -बहर वा छन्दमा गजल वा कविता लेख्न रहर हुँदाहुँदै पनि सूत्रज्ञानको कमीले कलम रोकी बसेका) अनुज भाइबहिनीहरूलाई कलम चलाउन सजिलो होस् भन्ने ठानेर तेस्रो कृतिको रूपमा शास्त्रीय छन्दमा आधारित सूत्रसहितको कादम्बरी छन्दात्मक कवितासङ्ग्रह र चौथो पुष्पहार सूत्रमाला गजलसङ्ग्रह एकैसाथ पेस गरेको छु । आशा छ यहाँहरूले यी दुई सङ्ग्रहहरूलाई सहर्षस्वीकार गर्नु हुनेछ ।”

कविको उक्त कथनले विविध छन्द प्रयोगको ध्येयलाई स्पष्टसँग खुलस्त्याएको छ । वरिष्ठ समालोचक प्रा.डा. नारायणप्रसाद खनालका दृष्टिमा “प्रस्तुत कादम्बरी कवितासङ्ग्रहले दिने विविध विषय, विविध अभिव्यक्ति सौर्न्दर्य र विविध बिम्ब, प्रतीक तथा दार्शनिक, राजनीतिक र प्राकृतिक र कल्पनाका परिदृश्यहरूमार्फ् कविताको उच्चतालाई आँक्ने प्रयत्न गरेको पाइन्छ ।”

गोर्खेको ‘सूत्रमाला’ (२०६३) चौथो कृति हो । यसमा प्रत्येक गजलको अन्तमा गणसहितको बहर सूत्र र त्यससँग मिल्ने पिङ्गल छन्दको नाम र अक्षरसङ्ख्याको उल्लेख गरिएको छ । यो नवर्सजकहरूलाई अत्यन्त प्रेरणादायी स्रोत हो । गजल अनुरागीहरूले यसलाई पढेर र यसको प्रयोगलाई बुझेर स्वयम् पनि गजलको अभ्यास गर्न सक्छन् । गजल प्रशिक्षणको यो राम्रो दस्तावेज हो ।

गजल लेखनका मुख्य दुई आधार छन्ः (१) लोकलय वा स्वनिर्मित लय र (२) शास्त्रीय बहर । यसमा पिङ्गल छन्दसँग मिल्ने विविध शास्त्रीय बहरहरूमा रचिएका गजलहरूको सङ्ग्रह प्रस्तुत गरेर बहरको सीमाविस्तार गर्नुका साथै गजललाई शैल्पिक उच्चतातर्फजोड दिन खोजेको बुझिन्छ । गजल लयात्मक विधा भएकाले त्यसलाई बहरमय तुल्याउन सके गजलको गरिमा अभिवृद्धि हुनसक्ने सम्भावनातर्फसङ्केत गरिएको छ । बहरका सूत्रहरूको माला भन्ने अर्थमा रहेको सूत्रमालामा शृङ्गारिक भावनाका साथै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रतिका मायालु भावहरू अभिव्यक्त छन् ।

उपसंहारः
पल्लव साहित्यिक पत्रिकाका प्रधान सम्पादक एवम् प्रबन्ध व्यवस्थापक गोर्खे व्यावसायिक क्षेत्रबाट सामाजिक क्षेत्र हुँदै साहित्यिक क्षेत्रतर्फबढी क्रियाशील हँुदै गएका छन् । पचासौँ वसन्तमा सुख-दुःख बेहोरिसकेपछि बढी अनुभूतिशील हुँदै साहित्यिक रसमा बढी निमग्न हुन थालेका छन् । साहित्यिक विधामध्ये गजलतर्फबढी डुबुल्की मारेका छन् । सुरुसुरुमा स्वतन्त्र लयमा गजलतर्फलहसिएका गोर्खे पछिपछि शास्त्रीय बहरमा फड्का मारी कवितामा शास्त्रीय पिङ्गल छन्दको समेत विशेष अभ्यास गरिसकेका छन् । गजल र छन्दका कविता गरी आधा दर्जन कृतिका धनी गोर्खे साहित्यको मर्म र धर्म बुझदै साहित्यिक क्षेत्रमा बढी चर्चित हुन पुगेका छन् । उनको साहित्यिक पत्रकारिताले नवउत्साही युवाहरूमा साहित्यिक जागरण आउन थालेको पाइन्छ । साहित्यको प्रारम्भिक अभ्यास गर्नेहरूका निम्ति उनी गोर्खे गुरुका रूपमा समेत परिचित हुन पुगेका छन् । आफ्नै साहित्यिक सेवा र धर्मका निम्ति गोर्खेको आफ्नै पहिचान छ । साहित्यप्रतिको निष्ठा र उदारता एवम् कार्यसम्पादनका दृष्टिले उनी धन्य छन्

स्रष्टाबिम्बः व्यक्तित्व आरेख, भाग– १, २०६७ बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *