Skip to content

गोर्खे साइँलो

गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी

नेपालमा गजलको सुरुआत विकास र प्रवाहलाई नियाल्दा वि.सं. १९४० को दशकतिर एउटा नयाँ र अनौखा काव्य विधाकोरुपमा युवा कवि मोतीराम भट्टले नेपालमा प्रवेश गराएका गजललाई सबै नेपाली कवि एवम् साहित्यकार स्रष्टाहरूले गजल लेखन कार्यको थालनी गरेको देखिन्छ । उक्त समयमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्ग्याल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुँसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा गजलविधालाई सहजरुपमा स्वीकार गरेको पाइन्छ । त्यसैको उपज नै आज पनि नेपाली साहित्याकाशमा गजल निकै लोकपृय बनेकॊ छ भनेर भन्दा त्यति अतियुक्ति नहोला । हुन त गजलसँग सम्बन्धित कुनै पनि लेख रचनाहरूकोसुरु गर्दा यिनै शब्दहरू पटक-पटक दोहोरिने गर्दछ । तापनि विगतका गजल इतिहास सम्बन्धी लेख-रचनाहरू र वर्तमानको धरातलमा उभिएर हेर्दा युवा कवि मोतीराम भट्टले त्यतिखेर वनारसबाट नेपाल आएर धेरैथरि साहित्यिक आयामहरूको थालनी गरेको देखिन्छ । तरपनि विशेषतः रुपमा फस्टाउँदै गएका काव्यहरूमा भने कवितासँगै गजललाई नै प्रथम स्थानको शिखरमा पुर्याएको पाइन्छ । मोतीराम भट्ट र मोतीमण्डलीको समयावधि वि.सं. १९४० को दशकबाट १९९६ सम्म चलेको पाइन्छ । जुन समयलाई अग्रजहरूले कालखण्ड भन्ने गरिएकॊ पाइन्छ । यो समयको अन्तरालमा गजलका कृतिहरू प्रकाशनतर्फ नियाल्ने हो भने त्यस समयको समसामयिक र सामुहिक परिवेशमा प्रकाशित भएको एउटामात्र कृति सङ्गीत चन्द्रोदय वि.सं. १९६९ सम्मको नै प्रथम गजल सङ्कलित कृति हो ।

त्यस समयमा प्रकाशन भएको उक्त सङ्गीत चन्द्रोदय नामक कृतिमा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढङ्ग्यालसम्मका गजलहरू समावेश गरिएको पाइन्छ । त्यसपछि भने वि.सं. १९९३ मा आएर अर्थात २४ बर्ष पछि मात्र भीमनिधि तिवारीले बयासी र बीस गजल मेरी नामक गजलसङ्ग्रह प्रकाशनमा ल्याएपछि उपेन्द्रबहादुर जिगरले एक सय एक गजल नामक गजलङ्ग्रह वि.सं. १९९६ तथा नेपाली शिक्षा परिषद् काठमाण्डौँद्वारा प्रकाशनमा ल्याइएको मोतीराम भट्टका गजलहरू २०३८ पाइन्छ जुन नेपाली शिक्षा परिषद् काठमाडौँले प्रकाशनमा ल्याएको देखिन्छ । त्यस पछिका दिनमा नेपालमा विभिन्न गजलकार कविहरूले प्रसस्तै गजलसङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । आजको गजलयुगमा आईपुग्दा नेपालमा यतिधेरै गजलका पुस्तकहरू बाहिर आएकाछन् कि ति सबै गजलसङ्ग्रहका पुस्तकहरूलाई यो पङ्तिकारले लिपबिद्ध गर्न असमर्थ छ । यसरी दिनानुदिन लोकपृयता बढदै गएको गजललाई जानिफकारहरूले पत्र-पत्रिका एवम् ऐतिहासिक आलेखहरूमा उल्लेख गरे अनुसार गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ ।

मोतीको सम्झनामा

आयातीत छ फारसी र अनि त्यो उर्दू कहेको थियो
त्यस्तै शब्द मिली बनेर गजलै कोठी रङाई दियो ।
गाऊँथे सबले बजाइ मजुरा हार्मोनियम् क्यै अरु
बाजा औ तबला बजाइ महलै थर्काउँथे है बरु ॥

आजको सन्दर्भमा गजलकारहरूले गजलमा खेल्नु पर्ने भूमिका

मोतीराम भट्टले वि. सं. १९४० को दशकमा गजलजस्तो लालित्य युक्त नौलो काव्य रचनाको आयामलाई नेपाल भित्रयाएर त्यस समयको साहित्यिक परिवेशमा एउटा नौलो काव्यिक विधाको बीजारोपण गरेका थिए । त्यसपछिका दिनहरूमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्गुल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा नौलो आयाममा गजल कायम गरेको हुनाले आजको परिवेश भित्र नेपाली साहित्यमा गजल काव्य-विधा निकै लोकप्रिय बनेको छ भनेर भन्दा त्यति अत्युक्ति नहोला ।