Skip to content

आजको सन्दर्भमा गजलकारहरूले गजलमा खेल्नु पर्ने भूमिका


मोतीराम भट्टले वि. सं. १९४० को दशकमा गजलजस्तो लालित्य युक्त नौलो काव्य रचनाको आयामलाई नेपाल भित्रयाएर त्यस समयको साहित्यिक परिवेशमा एउटा नौलो काव्यिक विधाको बीजारोपण गरेका थिए । त्यसपछिका दिनहरूमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्गुल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा नौलो आयाममा गजल कायम गरेको हुनाले आजको परिवेश भित्र नेपाली साहित्यमा गजल काव्य-विधा निकै लोकप्रिय बनेको छ भनेर भन्दा त्यति अत्युक्ति नहोला ।

उन्नाइसौँ सताब्दीमा नेपाली माटोमा बिजारोपण हुने अवसर पाएको नेपाली गजलको जन्म-जीवनी र त्यस्को नालीबेली केलाएर खोज्ने हो भने एघारौँ शताब्दी देखी नै यत्रतत्र छिटपुटरुपमा सुरु भएको गजल परम्परालाई इरान टर्की र इराकका केही भू-भागसमेत रहेको पर्सियाको सानो अंश मध्येको कोनियाँ भन्ने स्थानमा ई. सं. १२७३ मा तात्कालीन गजलकार जलाल अलदिनरुमिलले अध्यवधी र कृति प्रकाशन तथा प्रचारप्रसारमा योगदान पुर् याए पछि अन्य विभिन्न भागमा छरिएको कुरा गजलात्मक लेख इतिहासहरूमा उल्लेख गरेको पाइन्छ । यसरी नेपालमा प्रवेश पाएको गजल विधाले आजको युगमा आइपुग्दा नेपालीमाटोमा सििाचत भएर प्रत्येक नेपाली मानवको जनजिव्रोमा तथा कलम र कापीमा गजलमय परिवेशको रङ्गले रङ्गिन सफल भएको छ । गजलको जन्म पर्सियाको कोनियामा जुनसुकै बखतमा भएको भए तापनि नेपाली माटोमा माध्यमिक कालका मोतीराम भट्टले आफ्नो छोटो जीवन यात्रामा विभिन्न किसिमका समाज सुधार देवभक्ति र देशभक्तिका साथै प्रेमालाप शृङ्गारिक रसका गद्य र पद्य कवितासँगै १२ औँ शताब्दीको सेरोफेरो भित्र फस्टाउने मौका पाएको गजलले उर्दू र फारसी भाषामा स्थायीत्व प्राप्त गरे पश्चात भारतका विभिन्न भागमा हिन्दीमा बिस्तार हुँदै नेपालमा सफलीभूत भएको हो ।

नेपालमा उन्नाइसौँ सताब्दी देखी नै प्रवेश पाएको भएपनि गजलसङ्ग्रहहरूको प्रकाशित स्थितिलाई मुल्याङ्कन गर्ने हो भने अति नै न्युन देखिनु पनि स्वभाविकै हो । समग्रमा भन्नुपर्दा २०५२ को अन्तिमतिर चितवनबाट धर्म प्रधान अकिाचनको “मृगमरीचिका” (२०५२) गजलसङ्ग्रहसम्मका प्रकाशनलाई गणना गर्दा जम्मा जम्मी १९ वटामात्र कतिहरू प्रकाशन भएर गजल अनुरागीहरूको अगाडि आएको देखिन्छ । तर २०५२ साल पछि भने नेपालमा गजल लेखन वाचन प्रकाशन र गायनको होडवाजी नै चलेको अनुभव हुन्छ । अर्थात २०६६ सम्म १४ वर्षमा प्रकाशित गजलसङ्ग्रहहरू तुलना र गणना गरेर हेर्ने हो भने त्रिभुवन युनिभर्सिटी केन्द्रीय लायबेरीबाट आइ. एस. बि. एन. नं लिएरमात्र प्रकाशन भएका गजलसङ्ग्रहहरू नै १५५० भन्दा बढी प्रकाशनमा आइसकेकाछन् भने यसरी आइ. एस. बि. एन. नं नै नलिकन सिधै प्रकाशन गर्नेहरूको पङ्ति पनि सानो छैन । जुन हिसावले नेपाली गजल दिनानुदिन अग्रपङ्ति र अग्रगतिमा दौड्दै गरेको देखिन्छ यस हिसावले हेर्दा गजललाई अवका दिनमा हामी गजल प्रेमी गजल अनुरागी र गजलका बिद्यार्थीहरूसबैले गजल लेखन र गजल शिक्षामा मल जल गर्न अझै बढी आवश्यक देखिन्छ ।

गजल गायन गरिने विधा भएको हुनाले सैद्धान्तिक गजल लेखनका लागि अति आवश्यकीय संरचना पक्ष जसलाई उर्दूमा भन्दा बहर र नेपालीमा भन्दा लय वा छन्द भनेर भनिन्छ को अति नै महत्व हुन्छ । बहरका सूत्रमा लेखिएका गजलहरू गायन गर्न लयबद्ध तरिकाले संगीत भर्न सजिलो हुन्छ । यसपक्षलाई अध्ययन गर्दा आजको गजलमय परिवेशमा थुप्रै गजलका कृतिहरू बहरमा नै प्रकाशन भइसकेका छन् । मोतीराम भट्ट र मोती मण्डली भन्दा पछाडीको बहरमय गजल सन्सारमा उभिएर हेर्दा हिजोका दिनमा पनि भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर आदिले सामूहिक रुपमा र एकल कृतिहरू शास्त्रीय बहरबद्ध गजलसङ्ग्रहहरू नै प्रकाशन गरेको देखिन्छ । तर पछिल्लो पिँढीमा बहरबद्ध गजलको विकासको क्रममा भने धेरै अन्तरालपछिमात्र पहिलो सूत्रसहितको शास्त्रीय बहरबद्ध “मुस्कान” नामक गजलसङ्ग्रह – २०६२ चितवनको माटोबाट नै प्रकाशन भएको छ । जसको कृतिकार गोर्खे साइँलो स्वयम् हुन् । हामी चितवन बासी गजलका बिद्यार्थीहरूको लागि यो धेरै नै खुसीकै कुरो भएको छ । त्यसपछिका दिनमा भने लगातार जस्तै र त्यसैको सँगसँगै तानसेन पाल्पाबाट सरोज काफुलेले शास्त्रीय बहरमा आधारित अधरामृत नामक गजलसङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । त्यसको केही दिनपछि नै काठमाडौबाट घनेन्द्र ओझाले शास्त्रीय बहरमा आधारित बल्झेर याद तिम्रो नामक गजलसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । यी कृतिहरूले गर्दा पनि गजलको परम्परागत बहरबद्ध गजलको विकासमा अझै योगदान पुगेको छ भन्ने मैले ठानेको छु । यसरी नै केही अगाडि मात्र अनाम मण्डली काठमाडौबाट सम्पादन भएको शास्त्रीय बहरमा आधारित बहर माला नामक एक ऐतिहासिक संयुक्त गजलसङ्ग्रह पनि प्रकाशनमा आएको छ । उक्त सङ्ग्रहमा देशभरका विभिन्न गजलकारहरूका साथै चितवनका वरिष्ठ गजलकार केशवराज आमोदी गोविन्दराज ँविनोदी नजाकत हुसैन खाँ गोर्खे साइँलो विमलप्रकाश देवकोटा रामहरि शर्मा शराह प्रेमविनोद नन्दन एकनारायण पौडेल शीतल कादम्बिनी आदि आदि चितवनका थुप्रै स्रष्टाहरूका गजलहरू त्यसमा समावेश भएका छन् । पुनः गोर्खे साइँलोकै अर्को शास्त्रीय बहरमा आधारित सूत्रसहितको सूत्रमाला गजलसङ्ग्रह- २०६३ बिमलप्रकाश देवकोटाको आंसिकरुपमा बहरबद्ध पलपलका परिमल गजलसङ्ग्रह- २०६३ त्यस्तै किसान प्रेमीको आंसिकरुपमा बहर तथा लोक लयमा आधारित गजव छ मान्छे गजलसङ्ग्रह- २०६३ जस्ता गजलसङ्ग्रहरू प्रकाशन भैसकेका छन् । यसै गरी पुष्प अधिकारी अाजलीले सम्पादन गरी प्रकाशनमा ल्याएका सामुहिक गजलसङ्ग्रहहरू- गजल विम्व गजल दीप र गजलयात्रामा पनि आंसिकरुपमा बहरका गजलहरू समवेश हुँदै आएको देखिन्छन् ।

१४२ औं मोती जयन्तीको उपलक्ष्य पारेर अनाम मण्डली काठमाडौले केही बहर र लय बद्ध गजलसङ्ग्रहहरू प्रकाशनमा ल्याएको थियो । उक्त सङ्ग्रहहरूमा मनु ब्राजाकीको के हेरेको जिन्दगी गजलसङ्ग्रह (२०६४), बूँद रानाको चल्दै छ जिन्दगी गजलसङ्ग्रह (२०६४), नारायण निरासीको “एउटै विषय वस्तु रदीफ” र एउटै बहरमा लेखिएको “तुसारोमा फुलेका फूलहरू गजल-काव्य” (२०६४), सुरेश सुवेदीको “अनुभूतिका डोबहरू गजलसङ्ग्रह” (२०६४), जीत कार्कीको “आस्थाका हिउँचूलीहरू गजलसङ्ग्रह” (२०६४), जय गौडेलको “आशाका बयेलीहरू गजलसङ्ग्रह” (२०६४), गोपाल अश्कका “बे कहल जिन्दगी गजलसङ्ग्रह” (२०६४),  “बहरबद्ध” र “पूर्ण भोजपुरीमा” जस्ता गजलसङ्ग्रहहरू प्रकाशन भैसकेका छन् । यसै मेसोमा बिना बहरका शान्तिराम पोखरेलको “आँखाभित्रको बस्ती गजलसङ्ग्रह” (२०६४), श्रीजन श्रीको “माटो हाँस्छ गजलसङ्ग्रह” (२०६४) र यौटा गजलहरूको समालोचना सहित एकमुष्ठ बिमोचन गरेको छ ।

शास्त्रीय बहर भन्दा बाहेक लोकलय झुउरे लय मुनामदन लय र विभिन्न गीति एवम् स्वनिर्मित लयहरूमा आधारित गजलसङ्ग्रहहरू प्रकाशन हेर्दा चितवनबाट मात्रै २०५२ देखी ०६४ श्रावणसम्ममा मात्रै करिव ३४ ओटा कृतिहरू प्रकाशनमा आइसकेका छन् ।  
वरिष्ठ गजलकारहरूका भनाईमा लय बिनाको शेर हुँदैन शेर बिनाको गजल हुँदैन भन्नेकुरा जता ततै पुष्टी भएको पाइन्छ र यो कुरा अत्यन्त साँचो पनि हो । किन भने हामी सबैलाई थाहा भएका कुराहरू हुन कि गजल एउटा गायन विधा हो । त्यसैले गजलमा लय र अक्षर सन्तुलनको अत्यन्त आवश्यक छ । गजलको अर्को अपरिहार्य र अनिवार्य बिषय-वस्तु भनेको ँरदीफ काफिया हम काफिया मत्ला मक्ता र तख्खलुस जस्ता गजलका संरचना भित्रका जीवन्त अङ्ग-प्रतिअङ्गहरू हुन । अर्को तिर भन्नु पर्दा गजल भनेको गुरु-शिष्य परम्परामा आधारित विषय हो । त्यसैले आजको गजलयुगलाई अग्रगतिमा पुर् याउनको लागि गजल प्रेमी सबैले आफूले जेजति जानिएको छ सोही अनुसारको गजलकारिता कम्तीमा पनि २ जना शिष्य साथीलाई अनिवार्यरुपमा सिकाउन सबै गजल प्रेमी प्रिय पाठक एवम् गजल अनुरागीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु । 

विशालमार्ग नारायणगढ चितवन ।

3 thoughts on “आजको सन्दर्भमा गजलकारहरूले गजलमा खेल्नु पर्ने भूमिका”

  1. gajalko bistrit byakhya padna
    gajalko bistrit byakhya padna paauda harshit chhu.gajal lekhan ko baadi ta aayeko chha ta ra yaslaai niyamma pachhyaayera laijaana ajhai kathin chha tyasaile gajal bidha lekhne rahar matra haina sikna aawashyak pani chha.tyasaile malai ajhai pani aafno gajal lekhai shishu nai laagchha.dhnayabaad.
    achaarya prabha
    boulder colorado
    usa

    1. prabhaji,
      yahako comment

      prabhaji,
      yahako comment ramro lagyo, nikat vabisyama nai GAZALma prayog hune 214 ta baharko sher namuna sahitko byakhyatmak lekha majerima nai prakashan hunechha. mlai aasha chha ! yahaharubat ysaigari maya ra mamata pairahane dridha biswas paleko chhu.

      – gorkhesailo, narayanghar, nepal.

  2. hello sir,
    namaskar ani

    hello sir,
    namaskar ani sadhubad kalam chalaune haru lai,

    maile tapai ko gajal sangraha “sutramala” padne mouka payeko thiye khusi lagyo aaja tapai ko lekha majheri dot com ma pani padhan pauda malai tapai ko mail id payema yekdamai khusi hune thiye hal ma qatar ma 6u sayad mero mail id shrestha.bhojraj@gmail.com ra ma pani gajal ko nutan bidharthi bhayeko nata le tapai saga sarsallaha payema aavari hune thiye thanks .

    best regards
    eklabbya raj
    doha

Leave a Reply

Your email address will not be published. Required fields are marked *