नरेन्द्रजंग पिटर
विरालीको शिकार यात्रा
आज पनि विरालीले त्यही गरी जो उस्का पूर्खाले युगौंदेखि गर्दै आएका थिए । वच्चाहरुलाई शान्त वस्न भन्दै आहारा खोज्न निस्केकी ऊ छिमेकीकै कुडे रित्याएर डम्डम्ती पेट हल्लाउदै आएर उनीहरु सामु ओकली दिई । छाद खाएर टन्न भए विराली सन्तानहरु । हुर्किसकेका सन्तानलाई आफ्नै सिप, सुझ वुझ जाँगर र शिकारमा भरपर्नुपर्छ, आमाको हैन् भन्ने अर्ती दिई उस्ले । त्यस्ता उपदेशहरु हरेक वाउआमाले आफ्ना सन्तानहरुलाई वर्षौदेखि दिदै आइराखेका छन् । आखिर उस्ले पनि दिने भनेको विराली वुद्धि नै त हो जो अरुलाई लागु हुदैन ।
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा
गत महिना झन्डै तीन हप्ता अस्पतालको ओछ्यानमा ढल्नु पर्यो । जीवनलाई नजिकैबाट सुमसुम्याउन पाइने यस्तो अवस्था सामान्यभन्दा फरक हुन्छ नै । बिमारी भेट्ने नाममा अनेकौँ आफन्त र आफन्त भै टोपल्नेहरू आउँछन् । भीडै लाग्छ । भावनासँग जोडिएका आफन्तहरू, साखुल्ले दरिनुपर्ने कुटिलहरू, गुलामी गर्नुपर्ने चाटुकदारहरू, कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने चतुरेहरू, तोडिएका सम्बन्ध जोड्नुपर्ने बिमित्रहरूलाई बहाना मिल्छ । टुटेका सम्बन्द जोडिन्छन् भने भैराखेकाहरू अझ खँदिला हुन्छन् । पराई र आफन्तबीचको सीमाङ्कन कोरिन्छ ।
