शौक, उर्दू साहित्य र नेपालगन्ज

  • by


अर्थात्, मन्दिर मस्जिदले वैमनष्यता गराउँछ, मिलाप गराउँछ काव्यशाला । अब्दुल लतिफ शौक, उर्दू साहित्य र नेपालगन्जबारे लेख्न थाल्दा हरिवंश राय वच्चनको मधुशालाका पंक्तिलाई ‘काव्यशाला’ शब्दमा फेर्ने धृष्टता गरेको मात्र हो । जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमै नेपालगन्जको विशेषता अनेकतामा एकता हो । यस एकतामा सामाजिक सद्भाव नै मुख्य गहना हो । यस वातावरणलाई कतिपय जातीय र धार्मिक आवरणधारी अतिवादीहरूले विभिन्न समयमा खल्बल्याउन नखोजेका होइनन् । तर, नेपालगन्जको सद्भाव-संस्कृतिमा कुनै अन्तर आएन । यहाँ रामलीला, दसैँ, होली, इद, मोहरम्म सबै धर्मका लागि समान चाड रहे । यद्यपि, यस सहिष्णुतालाई बिथोल्न धार्मिक र जातिवादी रंग दिन खोज्नेहरू बेलाबेला सफलजस्तो देखिए । तर पनि यिनको खासै प्रभाव पर्न सकेन । हरेक धर्म र सम्प्रदायका धार्मिक आस्थागत मान्यता सदा अटल रहे र सहिष्णु पनि । त्यसैले के इद, के होली, जुनसुकै अवसरमा पनि रसि, राग, द्वैष र कलहबाट मुक्त रही जातीय सद्भाव वृद्धि भइरह्यो । त्यसैले होली र इद दुई सम्प्रदायलाई मिलाप गराउने विशेषता हुनपुगे । साहित्यिक गतिविधि र अझ मुसाहायरा (काव्यगोष्ठी) यसको एउटा प्रमुख कडी बनेको छ । हिन्दु र मुसलमान दुवैले सायरी भन्छन् । यहाँको मुसाहायरा सुख-दुःख, पीर-उल्लासलाई आपसमा बाँड्ने परम्परा बनेको छ । नेपाली सायरहरू उत्तर भारतका विभिन्न सहरमा हुने गोष्ठीहरूमा सहभागी हुन्छन् भने उताका कवि, सायरहरू पनि बडो उल्लासका साथ नेपालगन्ज आउँछन् । गौड साहब र आरिफ साहबको इन्तकाल (निधन)पछि यस परम्परालाई मरुहुम सायर युनुस, मरहुम सायर प्रकाश राजापुरी, अब्दुल लतिफ शौक, महमद ख्यालीहरूले निरन्तरता दिँदै आएका छन् । अहिले नेपालगन्जको उर्दू साहित्यको हस्ती बनेका शौकले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् भने आजको उर्दू गजलबाट प्रेरणा लिने दर्जनौँ नेपालीभाषी गजलकारहरू उनलाई आफ्नो उस्ताद (गुरु) मान्छन् ।

भारतमा सन् १८५७ मा भएको गदर विद्रोहपछि मात्र हालको नेपालगन्ज बजारको स्थापना र आवादी भएको हो । बाँकेमा केही पुराना बस्ती भने थिए । वागेश्वरी मन्दिर त अझ पुरानै भइहाल्यो । पहिला बजार पनि सिँधनियाँघाटमा थियो । सुगौली सन्धिपूर्वका तत्कालीन प्रशासक कप्तान थापाको रानीतलाउअगाडिको काठहवेलीको अवशेष अझै छ । सन् १८५८ पछाडि त्यस सन्धिपछि गुमेको भूभाग फिर्ता भएपछि सुब्बा पदमनाथको अग्रसरतामा लखनउजस्तै सहरकै परकिल्पनामा नेपालगन्जको स्थापना भएको हो । त्यस आवादीका लागि जनशक्ति पनि आमन्त्रण गरियो । आमन्त्रितहरूसँगै भाषा, संस्कृति र कला-साहित्य पनि आउने नै भए । त्यसैमा उर्दू साहित्य पनि नेपालगन्जमा भित्रियो ।

राणाकालमा पश्चिमी शासकीय किल्ला नेपालगन्ज भएकाले त्यस समयमा भारतबाट भाँड, मुजुरा र नचैनीहरू झिकाएर शासकहरूले मनोरञ्जन लिन्थे । भारतबाट आउने कब्बालहरू म्ानोरञ्जनका माध्यम हुन्थे । कतिपय सायरहरूले आफूलाई नाद (धार्मिक लयबद्ध सायरी)मा मात्रै सीमित पारे । यसलाई आधुनिक साहित्यका रूपमा भने मरुहुम (स्वर्गीय) गौड साहब र मरहुम आरिफ साहबले अगाडि बढाए । पारङ्गत सायरहरूको रेखदेखमा नयाँनयाँ प्रतिभाहरू देखा पर्दै गए । सायरीहरूमा प्रेम-प्रसंगहरू अति पाइन्थे भने शासकीय मनोविज्ञान अनुसार पनि राष्ट्रवादी सायरी गराउने शासकहरूको प्रशंसामा पनि उर्दू मजहव (धर्म) हुन्थ्यो । महेन्द्रले आफ्नो राज्याभिषेकमा नेपालगन्जका सायरहरूलाई राजधानी निम्त्याएर उर्दू साहित्यको लोकप्रियतालाई आफ्नो राजनीतिक साधनका रूपमा प्रयोग गर्न चाहेको पनि देखिन्छ । सत्ता र साहित्यको निकटता र दूरी कति हुन्छ भन्ने कुरा स्वाभिमानी सर्जकहरूलाई थाहा नहुने कुरै भएन । कालान्तरमा वदमे अदब र गुलजारे अदवलाई नेपाल उर्दू अदबमा फेर्ने काम अब्दुल लतिफ शौक, ख्याली साहब र मरहुम सायार युनुस साहबको अग्रसरतामा भयो । त्यो दुवै संस्थालाई एक बनाउन प्रयास समूहको पनि भूमिका रहेको र सायरहरूलाई घच्घच्याउनाले गर्दा सफल भएको थियो ।

हिन्दु र मुसलमानमा द्वन्द्व गराउन दाउ खोजिरहेका अतिवादी तत्त्व हरेक पर्वमा अतिवादीहरू हिंसाको फसल काट्न चाहन्थे । सामाजिक व्यक्तित्वहरू उनीहरूका क्रियाकलापलाई निस्तेज पार्ने प्रयत्न गरिरहन्थे । त्यसमा सबैभन्दा अगाडि साहित्यिक जमात हुन्थ्यो । अँध्यारोका विरुद्ध समग्र मान्छेलाई उभ्याउने र आफ्नो सक्रिय भूमिका खेल्न हौस्याउने साहित्य नै हो । सत्ताले वर्तमानको चौकीदारी गर्छ भने कविताहरूले सपना देखाएर यथास्थिति भत्काउँदै भविष्यलाई चुनौती दिन प्रोत्साहित गरिरहेका हुन्छन् । कुनै पनि जिउँदो साहित्य यथास्थितिमा रमाउँदैन ।

यसरी आधुनिक नेपालगन्जको उर्दू साहित्यिक विकासमा गौड् साहब र आरिफ साहबको निरन्तरतालाई विरासतका रूपमा अब्दुल लतिफ शौकले बढाउनु र सम्हाल्नु भएको पनि छ भन्दा अत्युक्ति नहोला । तर, समृद्ध उर्दू साहित्यमा गजलबाहेकका विधामा विकास हुन सकिरहेको छैन । कागजको चिरकटोमा लेखिएका उम्दा सिर्जनाहरू छरिएर रहेका छन् । प्रकाशन हुन सकेका छैनन् । समृद्ध उर्दू भाषाको सर्जक प्रतिनिधि मात्रै होइन, शौक साहबले नेपालगन्जको धार्मिक संवेदनशीलतालाई सहिष्णु वातावरणमा ल्याउन जुन भूमिका खेले, त्यस आधारमा भन्नुपर्ने हुन्छ ः

मन्दिर मस्जिद वैर कराती
मेल कराती काव्यशाला ।

नेपाल साप्ताहिक अंक ४७१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *