बिहेको प्रस्ताव (लघुकथा)
“आज त पक्का भन्छु,” परबाट आउँदै गरेकी नीलिमालाई हेर्दै दृढ भयो विवेक ।
विवेक र नीलिमा दुवै बाल्यकालदेखिका साथी थिए । गाउँको निजी विद्यालयमा प्रवेशिका परीक्षादेखि सदरमुकामको उच्च माध्यमिक विद्यालयको विज्ञान सङ्कायमा कक्षा १२ सम्मको यात्रा सँगै तय गरे उनीहरूले । त्यसपछि नीलिमा इन्जिनियरिङ कलेज पढ्न राजधानी तिर लागी र विवेक रामपुर कृषि विज्ञान तर्फ लाग्यो ।
अध्ययनको सिलसिलामा एक अर्कासँग टाढा भए पनि विवेकले नीलिमालाई कहिल्यै टाढा मानेन । दशै तथा जाडोको छुट्टीमा उनीहरू फेरी नजिक हुन्थे । स्नातक तह पनि दुवैले पुरा गरिसकेका थिए र दुवै अब स्नातकोत्तरको तयारीमा थिए । निलिमाको अमेरिकाको फ्लोरिडा युनिभर्सिटीमा छात्रवृत्ती परेको कुरा सुनेको थियो विवेकले । विवेक उसको र निलिमा बीचको त्यो समीपतालाई अझ गाढा बनाउन लालायित थियो । हो ऊ निलिमालाइ मन पराउँथ्यो तर भन्ने हिम्मत गरेको थिएन ।
सँधै त्यहि बाटो भएर साइबर जाने गरेकी निलिमा आज उसकै घरतिर मोडीएकी देख्दा ऊ झन उत्साहित भयो । “आज साइत जुरेको छ,” मनमनै सोच्यो विवेकले । ऊ कुरा शुरू गर्ने बहाना खोज्दै थियो ।
