Skip to content


मूलसडकको ट्याँ–ट्याँ, स्कुले विद्यार्थीहरूको हतारोसँगै चल्बलाइरहेको सौराहाचोकमा रोकिएका पर्यटकीय बाहनहरू तयार थिए । यी विदेशी पाहुनाहरूसँगै झोला बोकेर तयार थिएँ म पनि राजधानीतर्फ नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । बस भित्र एक्का दुक्का सिट बाहेक अन्य पर्यटकहरूले भरिएका थिए । दायाँपट्टि तेश्रो लहरमा खाली सीटतिर इशारा गर्दै घिमिरे बाजेले टिकटमा मेरो नाम भरे । घिमिरे बाजे नामै काफि थियो सौराहाचोकेहरूलाई । विगत दुइ दशकदेखि सामान्य टेलिफोन सेवा प्रदायक, टिकट बिक्रेता हुँदै पर्यटकीय बस सञ्चालकसम्मको अनुभव थियो घिमिरे बाजेलाई । सिधै सीटमा गएर बसेँ हलुका यात्रा गर्ने बानी भएकोले झोला मिलाउने झञ्झट खासै परेन । माथितिरको खोपिलोतिर धकेलेँ ।

सिटमा बसेको मात्र के थिएँ उनी बस चढे । घिमिरे बाजेले नाम लेखे र टिकट हातमा थमाइदिए । पैसा दिँदै मतिर आएर छेउको सिटमा बस्ने अनुमति मागे । मलाई पनि कुनापट्टि जाँदा खासै फरक नपर्ने र झन नदी किनारको दृश्यावलोकन गर्न पाउनेमा फुरूङ्ग हुँदै कुनातिर सरेँ । उनको र मेरो सामान्य चिनाजानी थियो । उनलाई भेटनेहरू भन्थे उनी आफूलाई निकै नै जान्ने र सुन्ने सम्झन्छन् ।

“अधिकारीजी कता काठमाडौँ नै हो ।” उनले जिज्ञासा राखे ।

“तीन दिनको कन्फरन्स हो … ।” मैले सम्मेलनको बेली बिस्तार लगाएँ ।

“ए तपाईँ पनि यी विदेशीहरूको सङ्गतमा पर्न थाल्नु भएछ । अलि होस पुऱ्याउनुहोस है, यिनीहरू त सानो कुरामा पनि अलि बढी नै नीति–खोजी गर्छन । म त अति होशियार हुन्छु । यिनीहरूसँगको हेलमेलबाट अलि–अलि भएपनि मेसो पाएको छु ।” अलि बढी जानकार झैँ उनले जिब्रो चलाए ।

म बोलीचालीको सामान्य औपचारिकता पुरा गर्दै गएँ । नागबेलीको लहरा झैँ लहराउँदै अघि बढेको सडकसँगै नारायणी कहिले कालीगण्डकी र कहिले त्रिशुली हुँदै बगिरह्यो । धादिङको बैकुण्ठपुरीमा बस रोकियो र पर्यटकहरू ‘लञ्च’को लागि उत्रिए । म नजिकैको पसलबाट पानीको बोत्तल र बिस्कुट लिएर बसमै बसेँ र एन्ड्रोइड स्मार्टफोनबाट फेसबुक स्ट्याटसहरू स्क्रोल गर्दै गएँ । उनी पनि बसमै आए र केहीबेरमै पर्यटकहरू पनि एक – एक गर्दै आउन थाले । मेरो ध्यान स्मार्टफोनमै थियो त्यतिखेरै ढोकामा ढकको आवाजले मेरो आँखा त्यतैतिर तान्यो । एउटा पर्यटक भर्खरै बसको ढोकामा ठोक्किएको टाउकोमा हात राख्दै हामी भएतिर क्रोधित नजरले हेर्दै थियो ।

“ह्वाट्स सो फनी ! आर यु इन्जोइङ माई प्लाइट ?”

मैले उनको अनुहार तिर हेरेँ । अनुहार हेर्न लायकको थियो – केही नबोली शिर निहुराए ।

उनको अगाडि झुण्ड्याइएको झोलाको मुख केही खुला थियो लाग्थ्यो कि झोला उनकै नक्कल गर्दै उनको पीडामा मुस्कुराइरहेको थियो ।

२०६९ भाद्र ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *