Skip to content

दिव्य गिरी

20110420_SamjhanakaTareliharu

“सम्झनाका तरेलीहरू”मा तरङ्गिदा

  • by

शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना गाना गान ने.रा.प्र.प्र. नेपाली बृहत् शब्दकोष २०४० पृ.३४० । यस परिभाषाले पनि गीतका दुई महत्वपूर्ण विशेषताहरू – लयात्मक र सुललितलाई औंल्याएको छ । सङ्गीतवद्ध गरेर गीतलाई गाउँदा जुन स्वर दिइन्छ त्यो लयात्मक हुनु पर्दछ र गीत सुन्दा सबैले बुझ्न सक्ने सरल अर्थात सुललित हुनुपर्दछ । त्यसरी गाइएको गीतले मानिसको मनमा आनन्द दिनुको साथसाथै उसको हृदयलाई समेत झङ्कृत पार्दछ । गीतले मानिसको मनमा गहिरो प्रभाव पर्ने हुनाले नै गीतलाई भावनाको सुन्दरतम् अभिव्यक्ति भनिएको हो । किनकि गीतले मानिसको भित्री भावना बोलेको हुन्छ । उसको मनको कोमल भाव गीत बनेर उसकै ओठबाट निस्किएको हुन्छ । गीतका शब्द-शब्दमा रहेको मार्मिक अर्थभावले गीतलाई बढी सार्थक तुल्याउँछ । गीतको शब्दलाई स्वर र सङ्गीतले प्राण संचार गरिदिएपछि मात्र गीत हृदयस्पर्षी बन्छ र गीत सुन्नेलाई आनन्द प्रदान गर्दछ । जुन गीत सुन्दा मानिसको मनमा आनन्द आउँदै र उसको दुःख-सुखमा साथ दिँदैन भने त्यस्तो गीतको कुनै अर्थ रहँदैन । सङ्गीत र लय अर्थात मीठो स्वरले गीतलाई जिवन्तता प्रदान गर्दछ । भनाइको अर्थ गीतको शब्द सङ्गीत र स्वर तिनवटै कुराको संयोजन विशिष्ट हुनु अनिवार्य छ । किनकि गीतको शब्दलाई गायकको स्वरले र सङ्गीतको मीठो धुनले गीत सुमधुर सुललित र सुस्वादको बनाउँछ । त्यसरी सिर्जित गीत जति सुने पनि मन तृप्त हुँदैन र सधैंसधेै सुनिरहुँ लाग्छ । त्यस्ता गीतहरू नै लोकप्रिय हुनुको साथसाथै कालजयी पनि हुन्छन् ।

रक्सी र मायालुको मात उस्तैउस्तै

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।